Skip This
पूर्वपर्यटनमन्त्री किराँतीसहित पाँच पहिचानवादी धरौटीमा रिहा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २ सोमबार
  • Friday, 26 July, 2024
२o८o पौष २ सोमबार o७:२९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वपर्यटनमन्त्री किराँतीसहित पाँच पहिचानवादी धरौटीमा रिहा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २ सोमबार o७:२९:oo

मध्यपहाडी लोकमार्गअन्तर्गतका सडक अवरुद्ध गर्ने क्रममा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीसहित पाँच पहिचावादी युवा धरौटीमा रिहा भएका छन् । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै मध्यपहाडी सडक अवरुद्ध गराउने क्रममा गत मंसिर २६ गते पक्राउ परेका पूर्वपर्यटनमन्त्री किराँती, जनता समाजवादी पार्टी खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, नेपाल आदिवासी जनजाति महासंघ, खोटाङका सचिव उदिम चाम्लिङ, वाइसिएलका हलेसी तुवाचुङ नगर समितिका इन्चार्ज विजय राईलगायत पाँच पहिचानवादी आइतबार साँझ रिहा भएका हुन् । 

पूर्वमन्त्री किराँतीसहित पाँच पहिचानवादी युवा जनही रु. एक–एक हजार धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्काले जानकारी दिए । प्रहरीले पाँचजनाविरुद्ध मंसिर २७ गते अभद्र व्यवहारसम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरेर हिरासतमा राखेको थियो । 

पहिचान पक्षधर पार्टी तथा जातीय संगठन पुनः नामांकन संयुक्त संघर्ष समितिमा संगठित भएर विगत १० महिनादेखि कोशी प्रदेशलाई पुनः नामांकन गर्न माग गर्दै आन्दोलनरत छन् । एमालेको समृद्धिका लागि संकल्प यात्रा कोशी प्रदेश प्रवेश गर्न लाग्दा अवरोधस्वरूप प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंसिर २६ गतेदेखि अनिश्चितकालका लागि घुर्मी (उदयपुर) देखि लेगुवा (धनकुटा) सडकखण्ड बन्द आह्वान गरेको थियो । 

बन्द सफल बनाउन हिँडिरहेको वेला पूर्वमन्त्री किराँतीसहित पाँच पहिचानवादी युवालाई प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । पूर्वमन्त्री किराँतीसहित पाँच पहिचानवादी युवा धरौटीमा रिहा भएपछि समर्थकहरूले आइतबार साँझ नाराबाजी गर्दै दिक्तेल बजार परिक्रमा गरेका छन् । 

यस्तै, प्रहरी नियन्त्रणमा रहेका पूर्वमन्त्री किराँतीलगायतका पहिचानवादी नेताको रिहाइको माग गर्दै सडक बन्द गर्ने क्रममा आइतबार पक्राउ परेका प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किराँत, युवा परिचालन समिति खोटाङका संयोजक निर्मल राई, जनता समाजवादी पार्टीका सचिव सुनिल चाम्लिङ, संघर्ष समितिका सदस्य संगीता किराँती, उपार्जुन चाम्लिङ, लक्ष्मी राई, सोनामहाङ राई र मेलिना राई पनि छुटेका छन् । दिक्तेलको किराँतचोकस्थित मध्यपहाडी राजमार्गमा सवारी आवागमनमा अवरोध गरेको भन्दै आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू भने विनासर्त रिहा भएका छन् । 

प्रदेशको पुनः नामांकनको मागमा संघर्षरत संयुक्त संघर्ष समितिले कोशी नामकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचानविरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेता योगेश भट्टराई र महेश बस्नेतलक्षित विरोधका कार्यक्रम गरिरहेको छ । उनीहरूले आफूहरूको आन्दोलन जारी रहेको जनाएका छन् । 

पहिचानवादीले आह्वान गरेको बन्दका कारण शनिबार र आइतबार जिल्लाको जनजीवन प्रभावित भएको थियो । पूर्वमन्त्री किराँतीसहितका नेताहरू रिहा भएपछि उनीहरूले मध्यपहाडी लोकमार्गमा आह्वान गरेको यातायात बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएका छन् ।