युक्रेनको ‘बहादुर’ र ‘न्यायिक’ लडाइँसँग ऐक्यबद्धताको सामूहिक प्रदर्शन महिनौँअघिदेखि क्रमशः गायब हुँदै गयो
भोलोदिमिर जेलेन्स्की युद्ध लड्ने बिर्सिएका व्यक्ति हुन् । युक्रेनी राष्ट्रपतिको आगोको झिल्कोले उचाइ र चमक दुवै गुमाएको छ, किनकि रुसको दमनकारी आक्रमण दुई वर्षनजिक पुग्दै छ । पुरानो युद्ध एक ठूलो गतिरोधमा परिणत भएको छ । अतिरञ्जन गरिएको युक्रेनी हमला अहिले सुस्त बनेको छ । र, प्रतिज्ञा गरिएको ब्रेकथ्रु अस्पष्ट छ । घातक ढंगले जस्तालाई तस्तै शैलीको आक्रमण–प्रत्याक्रमण दुर्भाग्यपूर्ण दैनिकी बनेको छ । सहनशिलताले आक्रोशलाई विस्थापित गरेको छ । विजय रणनीति वा अनुमान गर्न सकिने पहुँचभन्दा टाढा छ ।
यस्तो देखिन्छ कि संसार युक्रेनबाट थाकेको छ, भनौँ भने यो युद्ध दिक्कलाग्दो छ । तसर्थ, एकपटक जेलेन्स्कीको साहस र भावुक प्रवचनमा युक्रेनी प्रतिरोधको प्रशंसा गर्ने स्तम्भकारहरूले धेरै हदसम्म दुवैलाई त्यागेका छन् । अमेरिकी कंग्रेस र संसद्लाई सम्बोधन गर्ने निमन्त्रणा पनि समाप्त भयो, जहाँ आफ्नो ट्रेडमार्क हरियो जर्सीमा सजिएका जेलेन्स्कीलाई एक धुर्त, आधुनिक योद्धा र मुक्तिदाताको रूपमा सम्मानित गरिएको थियो । युक्रेनको ‘बहादुर’ र ‘न्यायिक’ लडाइँसँग ऐक्यबद्धताको सामूहिक प्रदर्शन धेरै महिनाअघि गायब भयो । युक्रेन अब महत्वपूर्ण, सहानुभूतिपूर्ण ‘समाचार’ रहेन ।
भर्खरै जेलेन्स्की र युक्रेनका लागि खराब समाचार आएको छ, आंशिक रूपमा थकित ह्वाइट हाउसबाट युक्रेनबारे अमेरिकी रणनीतिको अस्पष्ट चुहावट । पोलिटिकोको लोकप्रिय अनलाइनमा एक सनसनीपूर्ण शीर्षकमा लेखिएको छ, ‘युक्रेनबारे चुहावट भएको अमेरिकी रणनीतिले भ्रष्टाचारलाई वास्तविक खतराको रूपमा हेर्छ ।
समाचारको मुख्य वाक्य पनि उत्तिकै तिरस्कारपूर्ण थियो र अमेरिकाको र सायद अझ विशेष गरी साहसी युक्रेनप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनको अटल स्नेह घट्न थालेको स्पष्ट संकेत थियो । ‘युक्रेनको भ्रष्टाचारबारे बाइडेन प्रशासनका अधिकारी तिनीहरूले सार्वजनिक रूपमा स्विकारेभन्दा धेरै चिन्तित छन्,’ अगाडि लेखिएको छ ‘...त्यो भ्रष्टाचारले पश्चिमा सहयोगीहरूलाई रुसको आक्रमणविरुद्ध युक्रेनको लडाइँ त्याग्न सक्छ र किभले भ्रष्टाचारविरोधी प्रयासलाई रोक्न सक्दैन ।’ जेलेन्स्कीका लागि यो ठूलो समस्या हो ।
मलाई शंका छ कि समय र परिस्थिति उनको ( जेलेन्स्कीका) सहयोगी होइनन् भन्ने उनलाई थाहा छ । चाँडै युरोप र वासिङटनमा सधैँजसो वर्तमानमा चिन्तित उनका साथीहरू चाँडै घट्दै गएको अतीतमा रुचि गुमाउनेछन् । तिनीहरूको ‘कठोर इच्छा’ बिस्तारै तर निश्चित रूपमा राजीनामाद्वारा विस्थापित हुँदै छ । बिरामी पुटिन र उनको साम्राज्यवादी योजनालाई टाढा राख्न जेलेन्स्कीलाई धेरै रकम आवश्यक छ । युक्रेन युद्धमा यसअघि नै अर्बौँ खर्च भइसकेको छ ।
अब अमेरिकी संसद र युरोपेली संघले युक्रेनको सुविधासम्पन्न बैंकको रूपमा काम गरिरहने सम्भावना धमिलो हुँदै छ । सम्पूर्ण महाद्वीपका कोष चाँडै बन्द हुँदै छन् । ‘म स्पष्ट हुन चाहन्छु– कंग्रेसको पहलविना वर्षको अन्त्यसम्म हामीसँग युक्रेनका लागि थप हतियार र उपकरण किन्न र अमेरिकी सैन्य स्टकबाट उपकरण उपलब्ध गराउन स्रोत समाप्त हुनेछ,’ ह्वाइटहाउसका प्रबन्ध तथा बजेट कार्यालयका प्रबन्धकले भने । ‘यस क्षणलाई सम्बोधन गर्न कोषको कुनै जादुई भाँडो उपलब्ध छैन । हामीसँग पैसा छैन र लगभग समय सकियो,’ उनले थपे ।
अझै, युक्रेनको बयानबाजी संकल्प अक्षुण्ण छ । युक्रेनी विदेशमन्त्रीले हालै ब्रसेल्समा भेला भएका अन्य कूटनीतिज्ञहरूलाई युक्रेन ‘पछाडि नहट्ने’ आश्वासन दिए । ‘हामीले जारी राख्नुपर्छ, हामीले संघर्ष गरिरहनुपर्छ । युक्रेन पछि हट्नेछैन’, विदेशमन्त्री दिमित्रो कुलेबाले भने, ‘यहाँ मुद्दा युक्रेनको सुरक्षा मात्र होइन, यो सम्पूर्ण युरो–एटलान्टिक स्पेसको सुरक्षा सवाल हो ।’ उनको रोदनले आफ्नो शक्ति गुमाएको छ । साझा उद्देश्य र लक्ष्यका लागि गरिएको आह्वान कीर्तिमानी स्किपिङजस्तै थकित देखिन्थ्यो । परराष्ट्रमन्त्रीको बकबासले प्रमाण छिपाउन सक्दैन, थकान सुरु भइसकेको छ ।
क्षितिजमा एक आक्रोशित व्यक्तित्व र एक खतरा प्रस्ट रूपमा देखिएका छन् । डोनाल्ड ट्रम्पले जेलेन्स्कीको दिमागलाई भयभीत पार्नुपर्छ । यसबीचमा, अर्को ‘युद्ध’ले जेलेन्स्की र उनको कमजोर आधारका लागि भइरहेका सहयोगमा चुनौती दिइरहेको छ । मलाई लाग्छ जेलेन्स्कीले यो बुझ्छन् ।
उनले यो पनि बुझ्छन् कि युक्रेनलाई रोक्न र थप असान्र्दभिकतातर्फ जानबाट फर्काउनका लागि कुनै ठोस काम गर्न पनि उनी शक्तिहीन छन् । यसैले गत साता नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले आफ्ना सहकर्मीहरूलाई ‘मार्गमा रहन’ निराशपूर्ण अनुरोध गरेका थिए । त्यो एउटा त्यस्तो सहमतिको मार्ग हो जसले कतै लैजाँदैन ।
(मित्रोभिका अलजजिरका स्तम्भकार हुन्)