१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर ।
२०८० मङ्सिर ३० शनिबार ००:१३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डा. केसीले थाले तीनदिने अनशन

Read Time : > 1 मिनेट
२०८० मङ्सिर ३० शनिबार ००:१३:००

द्वन्द्वकालीन मुद्दा टुंगोमा पुर्याउनुपर्ने मुख्य माग राखी प्रा.डा. गोविन्द केसीले अनशन सुरु गरेका छन् । डा. केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा शुक्रबारबाट तीनदिने अनशन सुरु गरेका हुन् । 

डा. केसीले देशमा दण्डहीनता मौलाएको भन्दै सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंग्याउन माग राखेका छन् । यसबाहेक, यसअघि आफूसँग भएका सम्झौता कार्यान्वयन गर्नसमेत उनले माग गरेका छन् । 

स्वास्थ्य क्षेत्र सुधारका लागि पटक–पटक अनशन बस्दै आएका डा. केसीले उठाएका गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार इलाम, उदयपुर, डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्नेलगायत मागमा सरकारले गरेका सम्झौता अझै कार्यान्वयनमा आएको छैन । 

यसबाहेक सय शड्ढयाभन्दा बढी क्षमता भएका सरकारी अस्पतालमा नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रम सुरु गर्ने विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयमा नियुक्ति गर्ने, एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने, सबै सरकारी नियुक्तिमा स्वार्थको द्वन्द्व अन्त्य गर्नका लागि कानुनी व्यवस्था गनुपर्ने माग केसीले उठाएका छन् । 

अनशनस्थलमा विवाद
अनशनका लागि डा. केसीले पहिले गेटा परिसर चयन गरेका थिए । त्यसका लागि उनी पुग्दा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिसँग विवाद भएपछि धनगढी फर्केर लक्ष्मीनारायण मन्दिरमा अनशन थालेका हुन् । 

विवादका क्रममा केसीले आफू गेटामा एमबिबिएसको पढाइ हुनुपर्ने र अस्पताल सञ्चालन हुनुपर्ने भनेर आएको भन्दै रिसाएर फर्किएका थिए । 

केसीले सार्वजनिक गरेको मागमा गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने माग राखिएको थियो । तर, संघर्ष समितिले मेडिकल विश्वविद्यालय बन्न लागेका वेला प्रतिष्ठानको माग अव्यावहारिक भएको भनेपछि विवाद भएको थियो ।

सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेर राष्ट्रिय सभामा विधेयक पेस गरिसकेको छ । यस्तो वेला केसीले प्रतिष्ठान बनाउन अनशन गर्न लागेको जानकारीपछि सामान्य छलफल गर्न खोज्दा डा. केसी रिसाएर फर्किएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए । गेटामा प्रतिष्ठान बनाउने माग मान्य नहुने समितिले जनाएको छ ।

केसीका सहयोगी डा. अमृत जैसीले संघर्ष समितिले गेटाको गेटभित्र जान नदिएपछि केसी धनगढी आएर अनशन बस्नुपरेको बताए । मेडिकल विश्वविद्यालय बन्न लागेको ठाउँमा प्रतिष्ठानको माग लिएर विश्वविद्यालय भाँड्न खोजेको भनेर समितिले भित्र पस्न नदिएको उनले दाबी गरे ।