१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

५२ दिनमै निजी लगानीमा ‘एक्स्ट्राटेक’ अन्तर्राष्ट्रिय क्रिकेट मैदान, १ फागुनदेखि प्रतियाेगिता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:१४:oo

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान निर्माणाधीन छ।   

तिलोत्तमा नगरपालिकाको– १७ पूर्वदरखसवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदान भने ५२ दिनको अवधिमै पहिलो चरणका कामहरू सम्पन्न भएको छ।

रुपन्देहीको तिलोत्तमामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिलो चरणको काम करिब ६ महिनाअघि सुरु भएको थियो। 

वर्षातको समय, दसैँ–तिहार र छठलगायतको पर्व छाडेर ५२ दिन काम गर्दा खेलमैदानको अधिकांश काम सम्पन्न भएको एक्स्ट्रा ओभल प्रालिका निर्देशक विनोद कुँवरले बताए।

मैदान निर्माणको अवस्थाबारे जानकारी दिन बिहीबार क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्देशक कुँवरले ५२ दिनको अवधिमा मैदानभित्रका अधिकांश काम सम्पन्न भएको बताए।

उनका अनुसार १ फागुनदेखि प्रतियोगिता सञ्चालनका लागि मैदान तयार हुँदै छ। उनले भने, ‘निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्ने गरी मैदान तयार हुन्छ। दोस्रो चरणमा मैदानबाहिरका संरचनाहरू बनाउने काम भइरहेको छ।’ 

असोजको तेस्रो हप्ताबाट खेलमैदानको शिलान्यास गरी पहिलो चरणको कार्य सुरु भएको थियो। तीन हजार ट्रिपर माटो राखेर मैदान सम्याइएको थियो। मैदानमा दुबो लगाउने काम सम्पन्न गरिएको छ। 

मैदान वरपर ड्रेन निर्माण गर्नुका साथै फेन्सिङ गरिएको छ। मैदानमा सातवटा पिच तयार भएका छन्। साइड स्क्रिनको काम यो हप्तामै सम्पन्न हुने तयारीमा छ।  

माघबाट दोस्रो चरणको काम सुरु हुने र यसमा पेभेलियन, चेन्जिङ रुम, क्यान्टिन, टेक्निकलका लागि रुमहरूको निर्माण तथा पाँच हजार क्षमताको प्याराफिटसमेत निर्माण सुरु हुने कुँवरले बताए। 

चैतबाट साइडको सानो मैदानमा प्रतियोगिता अवधिमा प्रशिक्षणका लागि मैदान निर्माणको काम सुरु गरिने उनले बताए। यसैगरी मिडिया सेन्टर र थप प्याराफिट निर्माणको कार्य सुरु हुनेछ। 

 

प्रत्येक वर्ष पाँच हजार दर्शक क्षमता थप्दै चार वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट मैदानलाई रंगशालाको स्वरूपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

खेलमैदानको निरीक्षणपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले खेल विकासको आधार नीति नियम, पूर्वाधार विकास र खेलकुद गतिविधि मुख्य तीन खम्बाका रूपमा रहेको बताए। 

कुनै एउटा पक्षविना विकास अघि बढ्न नसक्ने भन्दै उनले निजी क्षेत्रको लगानीमा निर्माण गरेर सरकारलाई सहयोग भएको बताए। पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा ब्रान्ड एम्बेसडर शक्ति गौचनले रंगशालामा होस्टेलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर सञ्चालन हुने जानकारी गराए। 

रंगशाला कम्पाउन्डमा चार तलाको भवन बनाई एक सयजनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने बताए। 
नेपालले टेस्ट मान्यता पाउन प्रत्येक प्रदेशमा एक मैदान आवश्यक पर्ने बताउँदै उनले काठमाडौंबाहिर दुईवटा अन्तर्राष्ट्रिय मैदान रहेको रुपन्देही भएकोले यो जिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन सक्ने भएकोसमेत बताए। एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सातवटा पिच तयार भएको छ। 
 

ad
ad