मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २९ शुक्रबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २९ शुक्रबार ११:५१:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

एक्लोपनसँग जुधिरहेछन् विश्वका एकचौथाइ मानिस

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २९ शुक्रबार ११:५१:oo

एक्लोपन विश्वव्यापी मानवीय अनुभव हो । यसले कुनै पनि समूहका मानिसलाई जुनसुकै वेला प्रभावित पार्न सक्छ । अमेरिकी सर्जन जनरल विवेक मुर्थीले यसै वर्ष आफ्नो रिपोर्टमा यस समस्यालाई अमेरिकाको ‘राष्ट्रिय महामारी’ भनेका छन् । गत मेमा प्रकाशित रिपोर्टमा मुर्थीले अमेरिकाको आधा जनसंख्या एक्लोपनसँग जुधिरहेको र यसले देशलाई आर्थिक रूपमा वार्षिक अर्बौँको नोक्सानी भइरहेको उल्लेख गरेका छन् । 

एक्लोपनबाट ग्रसित हुनेमा अमेरिकी मात्रै छैनन् । गालअप र मेटाको सहकार्यमा गत अक्टोबरमा एक सय ४२ देशमा गरिएको सर्वेक्षणले विश्वको झन्डै एकचौथाइ जनसंख्या एक्लोपनबाट ग्रसित रहेको औँल्याएको थियो । यस सर्वेक्षणका क्रममा मानिसलाई ‘तपाईं कति एक्लो महसुस गर्नुहुन्छ ?’ भनेर सोधिएको थियो । जवाफमा २४ प्रतिशतले एक्लोपन महसुस गरेको प्रतिक्रिया दिएका थिए । 

साइकोथेरापिस्ट डा. विजय ज्ञवाली भन्छन्–
सोसल आइसोलेसन भएर बारम्बार निराशावादी सोच देखिने, मलाई सहयोग गर्ने मानिस कोही छैन भन्ने सोच बारम्बार आउने । डिप्रेसन, एन्जाइटी हुने, जीवनमा म केही गर्न सक्दिनँ भन्ने सोच आउने, निराशाको चरम बिन्दुमा पुगेर आत्महत्याको सोच आउने भएमा तत्कालै चिकित्सक वा मनोपरामर्शदातासँग सम्पर्क राख्नुपर्छ । यस्ता समस्या देखिएका व्यक्तिलाई परिवार र साथीभाइले पनि चिकित्सकको परामर्शमा लैजानुपर्छ । 

१५ देखि १८ वर्ष उमेर समूहका किशोर–किशोरीमध्ये २४ प्रतिशतले एक्लोपन महसुस गरेको प्रतिक्रिया दिएका थिए । त्यस्तै, १९ देखि २९ वर्ष उमेर समूहका २७ प्रतिशत, ३० देखि ४४ वर्ष उमेर समूहका २५ प्रतिशत र ४४ देखि ६५ वर्ष उमेर समूहका २२ प्रतिशतले एक्लोपन महसुस गरेका थिए । ६५ वर्षमाथिका वृद्धवृद्धाका हकमा एक्लोपन महसुस गर्नेको प्रतिशत कम देखियो । यस उमेर समूहमा १७ प्रतिशतले मात्रै एक्लोपन महसुस गरेका थिए । ‘एक्लोपन वृद्धावस्थामा देखिने समस्या मात्र होइन भन्ने यसले स्मरण गराएको छ । यसले कुनै पनि उमेरका मानिसलाई जुनसुकै समयमा सताउन सक्छ,’ गालअपका अनुसन्धान परामर्शदाता इल्यान मेसेले सिएनएनसँग भनेका छन् । 

कोभिड– १९ महामारी र त्यसपछिको लकडाउनका कारण धेरै मानिस लामो समय घरभित्रै थुनिन बाध्य थिए । धेरै मानिस त्यसपछि फेरि काम वा स्कुलमा फर्किसकेका छन् । तर, आइसोलेसनको असर अझै विद्यमान छ । जसकारण, सन् २०२३ मा एक्लोपनविरुद्ध सचेतना फैलाउने विषय प्राथमिकतामा परेको छ । यसलाई विश्वव्यापी समस्याका रूपमा स्विकार्दै विश्व स्वास्थ्य संगठनले गत नोभेम्बरमा ‘सामाजिक सम्बन्धका लागि आयोग’ गठन गरेको थियो । यस आयोगमा अफ्रिकी युनियनका युवा प्रतिनिधि चिदो म्पेम्बा र अमेरिकी सर्जन जनरल मुर्थी सहअध्यक्ष छन् । आगामी तीन वर्षमा एक्लोपनसँग सम्बन्धित ठूला समस्यासँग लड्नका लागि विश्वका सबै मुलुकका मानिसलाई एक–अर्कासँग जोड्न पहल गर्ने आयोगको योजना छ । 

‘एक्लोपन धेरै मानिसका लागि परिचित भावना हो । यो भोक वा तिर्खाजस्तै हो,’ एसोसिएट प्रेससँगको अन्तर्वार्तामा मुर्थीले भनेका छन्, ‘यो एउटा त्यस्तो भावना हो, जसलाई शरीरले हामीसमक्ष त्यतिवेला पु¥याउँछ, जब हामीलाई बाँच्नका लागि आवश्यक केही कुरा छुटिरहेको हुन्छ ।’

उनी थप्छन्, ‘दसौँ लाख मानिस भित्रभित्रै संघर्ष गरिरहेका छन् र यो राम्रो होइन ।’ एक्लोपनले मुटु रोग, डिमेन्सिया, स्ट्रोक, डिप्रेसन, एन्जाइटी र अल्पायुमै मर्ने समस्याजस्ता जटिल रोग बढाइरहेकाले यसविरुद्ध जनचेतना जगाउन आवश्यक रहेको बिजनेस इन्साइडरको ठहर छ ।

अमेरिकी रोग नियन्त्रण केन्द्र (सिडिसी)ले सामाजिक रूपमा मानिस एक्लो हुनुका केही सम्भावित पक्ष औँल्याएको छ । न्यून आम्दानी, डिप्रेसनलगायत मानसिक समस्या, सीमान्तकृत वा अन्यायमा परेको महसुस हुनु, भाषिक कठिनाइ तथा साधन–स्रोतमाथि पहुँच हासिल गर्न अप्ठ्यारो हुनुु, सीमित स्रोतका कारण तनाव महसुस गर्नु, हिंसाको सिकार हुनु, जागिर गुम्नु वा प्रियजनसँग सम्बन्ध बिग्रनु, डिभोर्सलगायत समस्यालाई सम्भावित कारणका रूपमा सिडिसीले औँल्याएको छ ।

अमोहा क्लिनिकका साइकोथेरापिस्ट डा. विजय ज्ञवाली भन्छन्, ‘नेपालमा एक्लोपनबारे पर्याप्त अनुसन्धान भएको छैन । झन्डै १० प्रतिशत मानिस कुनै न कुनै मानसिक समस्याबाट ग्रसित छन् भन्ने डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ । बाल्यकालको आहात, चोट, मानसिक पीडा, सामाजिक विखण्डन, घरेलु हिंसा, बसाइँसराइलगायत विभिन्न कारणले मानिसमा एक्लोपन निम्त्याएको हुन सक्छ ।’ उनी थप्छन्, ‘कोभिड– १९ पछि मानिस सोसल आइसोलेसनमा बस्न थाले । भौतिक रूपमा भेट्नेभन्दा पनि भर्चुअल्ली कुराकानी गर्नेको जमात बढ्यो । बढ्दो स्क्रिन टाइमले पनि एक्लोपन बढाउन भूमिका खेलिरहेको छ । यसबाहेक राजनीतिक अस्थिरता, आर्थिक मन्दी, बेरोजगारीलगायतले पनि यसमा भूमिका खेलेको छ ।’

रोकथाम यसरी

गोपाल ढकाल मनोविद्, मार्क नेपाल मनोसेवा केन्द्र
मुख्य कुरा मानिससँग अन्तक्र्रिया र संवादको वातावरण बनाउनुपर्छ । मोबाइल, कम्प्युटर र टिभीमा झुम्मिएर बस्नुहुँदैन । टिभी हेर्नैपरे समूहमा बसेर हेर्ने बानी बसाल्नुपर्छ । कुनै समस्या देखिए परिवारका सदस्य र साथीभाइसँग सेयर गर्नुपर्छ । 

सामाजिक कार्यक्रममा सहभागी हुने, साथीभाइसँग पिकनिक जाने, नियमित व्यायाम गर्ने, समाजसँग घुलमिल हुनका लागि सांस्कृतिक कार्यक्रम, विभिन्न समारोह वा क्लबमा आबद्ध हुन सकिन्छ । यस्तो हुँदा सामाजिक सम्पर्क बढ्छ र एक्लोपन महसुस हुँदैन ।