दुई बालक निकै घनिष्ठ थिए । एउटाको उमेर १० वर्ष थियो भने अर्काे बालक ६ वर्षको थियो । एकदिन खेल्दा–खेल्दै ठूलोचाहिँ केटो इनारमा खस्न पुग्यो । सानो बालकले उसलाई निकाल्न मद्दतका लागि कोही छन् कि भनेर सबैतिर नियाल्यो, तर कोही देखेन । त्यसपछि उसले इनारको छेवैमा रहेको पानीको बाल्टी तान्ने डोरीलाई बाल्टीसहित इनारमा खसालिदियो । ठूलो केटोले डोरीलाई समायो । सानो केटोले आफ्नो भएभरको बल लगाएर डोरी तान्न थाल्यो । धेरै कोसिस गरेपछि उसले कसैगरी ठूलो केटोलाई बाहिर निकाल्न सक्यो ।
गाउँमा गएर यी दुई बालकले घटनाको बेलिविस्तार लगाए । घटनाबारे सुनेपछि सबैले गाली गर्ने हुन् कि भनेर उनीहरू डराएका पनि थिए तर भयो उल्टो । सबैले उनीहरूको कुरालाई ठट्टाको रूपमा उडाए र भन्न थाले, ‘कहीँ ६ वर्षको केटोले यत्रो १० वर्षको केटोलाई इनारबाट तानेर निकाल्न सक्छ ?’ तर, गाउँका एउटा समझदार बूढालाई भने यी बालकको कुरामा विश्वास भयो । सबैले मानेका यी बूढाले बालकको कुरा पत्याएको देखेर सबैलाई आश्चर्य लाग्यो । उनीहरूले सो वृद्धलाई सोधे, ‘तपाईंलाई यति सानो केटोले यत्रो काम गर्यो भन्ने कसरी लाग्यो ?’ बूढाले जवाफ दिए, ‘यो सानो केटोले यत्रो काम किन गर्न सक्यो भने त्यस बखत त्यहाँ उसलाई तैँले यो काम गर्न सक्दैनस् भन्ने कोही पनि थिएन । साथै, ऊ आफँैले पनि मैले यो काम गर्न सक्दिनँ भन्ने ठानेन ।’
शब्दमा निकै शक्ति हुन्छ । शब्दले मान्छेलाई यति धेरै प्रेरित गरिदिन सक्छ कि व्यक्तिले असम्भवलाई पनि सम्भव बनाइदिन सक्छ । हतोत्साहित गरिदिँदा सम्भवलाई पनि असम्भव ठान्न सक्छ ।