१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
बलका लागि संघर्ष गर्दै धनगढी (पहेँलो) र इलामका खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:५४:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टुंगियो काठमाडौंको अपराजित यात्रा

साबिक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिगको चौथो खेलमा आएर व्यहोर्‍यो हार, समग्रमा १३ खेल खेल्दा तेस्रो पराजय 

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५४:oo

गत सिजन धनगढीलाई फाइनलमा १–० ले हराउँदै उपाधि जितेको काठमाडौंले यसपटक उपाधि रक्षा गर्ने रणनीति बनाए पनि सोअनुसार प्रदर्शन गर्न सकेको छैन ।

साबिक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको चौथो खेलमा आएर अपराजित यात्रा टुंग्याएको छ । दशरथ रंगशालामा शनिबार राति भएको खेलमा काठमाडौं बुटवल लुम्बिनीसँग २–१ ले पराजित भयो । बुटवललाई जित दिलाउन विदेशी खेलाडी स्टेफन समीर बिनोङ र कप्तान तथा मार्की एरिक विष्टले समान एक गोल गरे । काठमाडौंका राजीव लोप्चनले एक गोल फर्काए । बुटवलले दुवै हाफमा समान एक गोल गरेको थियो । राजीवले सात मिनेट थपिएको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए । दोस्रो जितसँगै पाँच खेलमा सात अंक जोडेको बुटवल तेस्रो स्थानमा उक्लिएको छ । पहिलो पराजय व्यहोरेको काठमाडौं सात अंकका साथ छैटौँ स्थानमा झरेको छ । गत सिजन धनगढीलाई फाइनलमा १–० ले हराउँदै उपाधि जितेको काठमाडौंले यसपटक उपाधि रक्षा गर्ने रणनीति बनाए पनि सोअनुसार प्रदर्शन गर्न सकेको छैन । चारमध्ये एक खेल मात्रै जितेको छ । दुई खेलमा अंक बाँड्न बाध्य भएको छ । समग्रमा काठमाडौंले एनएसएलमा १३ खेल खेल्दा तेस्रो हार व्यहोरेको हो । समग्रमा चार बराबरी खेल्यो । 

सिजनको पहिलो हारपछि प्रशिक्षक बालगोपाल महर्जनले भाग्यले साथ नदिएको बताएका छन् । ‘हामीलाई भाग्यले साथ दिएन । दोस्रो हाफ पूरा नियन्त्रणमा राखेका थियौँ । फुटबलमा यस्तो हुन्छ । हामी यसलाई स्वीकार गर्छाैँ,’ महर्जनले भनेका छन् । काठमाडौंले उद्घाटन खेलमा स्पोर्टिङ इलाम एफसीलाई १–० ले हराएको थियो । दोस्रो खेलमा एफसी चितवनसँग १–१ गोलको बराबरी खेल्दा तेस्रो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । ‘हामीले खेलमा २० भन्दा बढी आक्रमण गरेका थियौँ । हामी विश्वास गर्छाैँ, बाँकी खेलमा सानदार प्रदर्शनसँगै प्ले–अफमा पुग्छौँ,’ महर्जनले खेलको बारेमा भने । उनले वीरगन्जले राम्रो खेलेको र पाएको अवसरमा गोल गर्न सफल रहेको बताएका छन् । 

बुटवलका प्रशिक्षक विजय महर्जनले रणनीतिअनुसार तीन अंक लिन सफल भएकोमा खुसी व्यक्त गरे । उनले शीर्ष तीनमा लक्ष्य राखेको बताएका छन् । ‘हामीले रणनीतिअनुसार नै खेल्न सफल भयौँ र तीन अंक जोडेका छौँ,’ महर्जनले भने, ‘खेलाडीले धेरै राम्रो खेले । गर्व छ । धेरै खुसी छु ।’ खेलको म्यान अफ दी म्याच दुवै गोलका लागि अवसर सिर्जना गरेका स्ट्राइकर जिलेस्पीजंग कार्की घोषित बने । उनले आफ्नो पोजिसनअनुसार खेल्दा सफल भएको बताएका छन् । 

स्टेफनले दिलाए बुटवललाई अग्रता 
खेलमा अग्रता बुटवलले बनाएको थियो । २९औँ मिनेटमा विदेशी खेलाडी स्टेफन भाग्यमानी रहे । काठमाडौंका रक्षक कुलदीप कार्कीले क्लियर गरेको बल स्टेफनको खुट्टामा लाग्दै गोल भएको थियो । बुटवलका सरोज तामाङको फ्रिकिक काठमाडौंका गोलकिपर अभिषेक बराल बन्च गर्छन् । रिबाउन्ड बललाई जितेस्पीजंग कार्कीले नियन्त्रणमा लिँदै बिनोङलाई पास उपलब्ध गराउँछन् । स्टेफनको प्रहार कुलदीपले क्लियर गरे पनि उनैको खुट्टामा लाग्दै गोल लाइन पार गरेको थियो । पहिलो हाफमा एक गोल गरेको बुटवलले ६१औँ मिनेटमा दोस्रो गोल गर्‍यो । कप्तान तथा मार्की एरिकले अग्रता दोब्बर बनाए । जिलेस्पीजंगको पासलाई एरिकले बक्सभित्रबाट उत्कृष्ट गोल गरेका हुन् । चालू एनएसएलमा एरिकको दोस्रो गोल हो । यसअघि प्रतियोगिताको १२औँ खेलमा इलामविरुद्ध विश्वस्तरीय फ्रिकिक गोल गरेका थिए । इन्जुरी समयमा राजीवले गोल गर्दै काठमाडौंलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल रहेन । यसअघि खेलको २६औँ मिनेटमा काठमाडौंका सोखरुखले गोल गरे पनि रेफ्रीले अफसाइटको इसारा दिएका थिए । पहिलो हाफको अन्तिम समयमा एरिकको फ्रिकिक बारमा लागेर फर्किएको थियो । 

इलाम र धनगढीको रोमाञ्चक बराबरी
सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा स्पोर्टिङ इलाम एफसीले साबिक उपविजेता धनगढी एफसीविरुद्ध २–२ को बराबरी खेल्दै अंक बाँडेको छ । शनिबारको पहिलो खेलमा इलामले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । इलामका लागि फोडे कमारा र ओमान थिआमले गोल गरे । दोस्रो हाफमा धनगढीले उत्कृष्ट पुनरागमन गरे पनि दुवै टोली अंक बाँड्न बाध्य भएका हुन् । धनगढीका लागि रिचार्ड आग्यमाङ र आफिज ओलावाले गोल गरेका हुन् । 

बराबरीपछि धनगढी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । दुई जित र दुई बराबरी खेलेको धनगढीले चार खेलबाट ८ अंक जोडेको छ । समान खेलबाट ४ अंक जोडेको इलाम सातौँ स्थानमा छ । घाइते भएका मार्की तथा कप्तान विकेश कुथू खेलमा उपलब्ध भएनन् । विकेश घाइते हुँदा गोलकपिर समित श्रेष्ठले एनएसएलमा पहिलोपटक पूरा समय अवसर पाएका थिए । 

खेलपछि धनगढीका प्रशिक्षक युगलकिशोर राई भने आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेनन् । ‘पहिलो हाफमा धेरैपछि परे पनि दोस्रो हाफमा कमब्याक गर्न सफल भएका छौँ,’ राईले भने, ‘खेलमा हाम्रो खेलाडी बच्चाजस्तो देखिए । उनीहरूले केही पनि रणनीति पछ्याएनन् । जसले गर्दा गाह्रो भयो । 

इलामका प्रशिक्षक खेल राम्रो भए पनि अंक बाँड्दा खुसी भएनन् । उनी रेफ्रीको निर्णयमा भने खुसी रहेनन् । ‘खेल राम्रो थियो । तर, बराबरी हुनु नराम्रो रह्यो,’ केसीले भने, ‘रेफ्रीको निर्णय चित्त बुझ्दो रहेन । हामीले पनि अग्रता जोगाउन सकेनौँ ।’

इलामको पहिलो हाफमै दुई गोल 
इलामले पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा अग्रता बनायो । विदेशी खेलाडी फोडे कमाराले उत्कृष्ट गोल गरे । अमाथ एनडको क्रसमा फोडेले गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी समयमा इलामका गोलकिपर मोहम्मद टाहाले गल्ती गरे । उनले फुत्काएको बललाई ओमान थियामले जाली चुमाए । नवीन लामाको कर्नर ताहाले नियन्त्रणमा लिन खोज्दा बल फुत्किएको थियो । 

६८औँ मिनेटमा धनगढीले अग्रता २–१ मा झार्‍यो । पेनाल्टीमा रिचार्ड आग्यमाङले गोल गरे । इलामका इब्राहिम जितेले बक्सभित्र फोडे फोफानालाई लडाएपछि धनगढीले पेनाल्टी प्राप्त गरेको थियो । खेल सकिन सात मिनेटअघि वैकल्पिक खेलाडी आफिज ओलावालले गोल गरेका थिए । फोफानाको पासमा ओलावालेले हेड गोल गरेका हुन् । बाँकी समय दुवै टोलीले गोलको अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । धनगढीका मार्की खेलाडी आशिष चौधरी, आफिज, अहमद हिजाजी र फोडे फोफाना गोल गर्नबाट चुकेका थिए । अन्तिम मिनेटमा वैकल्पिक खेलाडी रामचन्द्र वाजीको प्रहार पोलमा लागेर फर्किएपछि धनगढी जितबाट टाढा रहयो । 

 

 

ad
ad