Skip This
आजबाट एमालेको मध्यपहाडी संकल्प यात्रा : यात्रा उद्घाटन गर्न अध्यक्ष ओली पुगे बैतडी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Friday, 26 July, 2024
२o८o मङ्सिर १४ बिहीबार o७:o१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आजबाट एमालेको मध्यपहाडी संकल्प यात्रा : यात्रा उद्घाटन गर्न अध्यक्ष ओली पुगे बैतडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार o७:o१:oo

झुलाघाटबाट सुरु हुने संकल्प यात्रा एक हजार ७ सय ७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्ग पार गर्दै १ पुसमा चिवाभञ्ज्याङ पुग्नेछ

प्रमुख प्रतिपक्षी दल एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘मध्यपहाडी लोकमार्ग संकल्प यात्रा’ सुरु गर्दै छ । पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले बिहीबार यात्राको उद्घाटन गर्दै छन् । यसका लागि ओली बुधबार बैतडी आइपुगेका छन् । 

काठमाडौंबाट धनगढी विमानस्थलसम्म जहाजबाट तथा त्यहाँबाट सडकमार्ग हुँदै बैतडी आइपुगेका ओलीले राजमार्गमा पर्ने खोड्पे, पाटन, देहमाडौँलगायत बजारमा स्थानीयसँग अन्तक्र्रिया तथा भेटघाट गरे । त्यस क्रममा उनले पार्टीका लागि स्थानीय स्तरमा योगदान पुर्‍याउने शुभचिन्तक तथा समर्थकलाई दोसल्ला ओडाएर सम्मान गरेका छन् । राति अबेरसम्म ओलीले बैतडीको प्रसिद्ध निंग्लासैनी भगवती मन्दिरको दर्शन पनि गरे । 

ओलीले बिहीबार बिहान ८ बजे बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा गाडेर यात्राको सुरुवात गर्ने कार्यक्रम छ । मध्यपहाडी लोकमार्गको पश्चिमी बिन्दु झुलाघाटमा झन्डा गाडेर १७ किलोमिटर पूर्वतर्फ बैतडी सदरमुकाम गोठालापानीमा जनसभा गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय सदस्य लीलाधर भट्टले जनसभामा बैतडी र छिमेकी जिल्लाबाट २० हजारभन्दा बढी सहभागी गराउने तयारी भएको जानकारी दिए ।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ उक्त यात्रा सुरु हुने एमाले पोलिटब्युरोे सदस्य तथा सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बताए । बिहीबार नै ओलीले डडेल्धुरामा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् भने १५ गते एमालेको यात्रा अछाम हुँदै कर्णाली प्रदेशतर्फ मोडिनेछ । 

संकल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा रहेका बस्ती तथा सहरमा बसोवास गर्ने स्थानीय बासिन्दासँग अन्तक्र्रिया गर्ने, मध्यपहाडी क्षेत्रका समस्याबारे छलफल चलाउने, पहाडका बासिन्दा पलायन हुनबाट रोक्ने र पहाडी क्षेत्रमै अवसरको सिर्जना गर्न आवश्यक योजना बनाउने संकल्प यात्राको उद्देश्य रहेको एमाले नेताहरूले बताएका छन् । भारतसँगको पश्चिमी सिमाना झुलाघाटबाट सुरु हुने संकल्प यात्रा एक हजार सात सय ७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्ग पार गर्दै १ पुसमा चिवाभञ्ज्याङ पुग्नेछ ।