लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाबाट आफ्नो बचत फिर्ता गराइदिन माग गर्दै २६५ बचतकर्ताले जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएका छन् । सहकारीको बचत अपचलन भएको विषयमा सञ्चालक समितिका पदाधिकारीसहित नौजनालाई पक्राउ गरेर कारबाही सुरु गरेको प्रहरीले उजुरी दिन आह्वान गरेपछि २६५ बचतकर्ताले चार करोड ४१ लाख दुई हजार ७७० रुपैयाँ बचत फिर्ता गराइदिन माग गर्दै उजुरी दिएका हुन् ।
८ मंसिरसम्म २६५ बचतकर्ताले मागदाबी पेस गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । बचत फिर्ताका लागि निवेदन दिन छुटेका बचतकर्ताले पछि पनि उजुरी दिन सक्ने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बचतकर्ताले आठ सयदेखि ५५ लाखसम्म आफ्नो बचत फिर्ताका लागि माग दाबी पेस गरेका छन् । बचतकर्ताले दिएको मागदाबीसहितको मिसिल (कागजात)लाई प्रहरीले केही दिनभित्रै सरकारी वकिलको कार्यालयमा पेस गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ । बचतकर्ताको मागदाबीसहितको मिसिल सरकारी वकिलको कार्यालय पुगेपछि सरकारी वकिलकै कार्यालयमार्फत जिल्ला अदालतमा अभियोगपत्र पेस हुनेछ ।
१० मंसिर ०७२ देखि दिक्तेल बजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष अनिल जोशीको निधनपछि मात्र खुलेको हो । तत्कालीन अध्यक्ष जोशीको कोभिड संक्रमणका कारण १५ वैशाख ०७८ मा पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ताहरू निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारीले सहकारीको कारोबार हेर्नेक्रममा मौज्दात रकम नै नदेखिएपछि बचत अपचलन भएको विषय बाहिरिएको हो ।
जिल्लाका चार हजार ५०० बचतकर्ताको लगानी डुबेको विषयमा छानबिन गर्न भन्दै प्रहरीले सहकारी सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई १२ कात्तिकमा पक्राउ गरेको थियो । यस्तै, सहकारीका अध्यक्ष जोशीका भाइ सुनील जोशी र उनकी श्रीमती रविना जोशीलाई गत १३ असोजमा काठमाडौंबाट पक्राउ गरेको थियो ।