
प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता २०८० मा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना तथा एकेडेमी कास्की शाखाको व्यवस्थापनमा बिहीबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एकेडेमीको रातो टिमलाई १०९ रनले पराजित गर्दै बागमतीले सुखद सुरुवात गरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले पूरा २० ओभर खेल्दै सात विकेटको क्षतिमा १८४ रनको योगफल तयार गरेको थियो। १८५ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको आयोजक रातो १४.२ ओभरमा अलआउट हुँदै ७५ रनमा सीमित भयो।
बागमतीका लागि खेलका म्यान अफ दी म्याचसमेत रहेका रित गौतमले ५३ बलमा आठ चौका र तीन छक्कासहित टोलीका लागि सर्वाधिक ७४ रन जोडे। शुभ कंसाकारले २२ बलमा चार चौका र एक छक्कासहित २७ रन जोड्दा कप्तान सन्दीप लामिछानेले चार बलमा तीन छक्का प्रहार गर्दै १८, गौरव खड्काले १७ र प्रतीक श्रेष्ठले १४ रन जोडे।
आयोजक रातोको लागि कप्तान अमर मिश्रले आठ बलमा एक चौका र एक छक्कासहित १३, विजय प्रजापतिले १८ बलमा दुई चौकासहित १३, सन्तोष यादवले १३ बलमा १२, निर्मल थापाले १२ बलमा दुई चौकासहित १० रन जोड्दा अन्य खेलाडीले दाहोरो अंक जोड्न सकेनन्।
बागमतीका सन्दीप लामिछानेले चार, सुवास खत्रीले तीन, प्रतिस जिसीले दुई र रिजन ढकालले एक विकेट लिए। आयोजक रातोका विप्रसन केसीले तीन विकट लिएका थिए।
१५ मंसिरसम्म चल्ने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी तीन विभागीय, सात प्रदेश र एकेडेमीका दुई गरी १२ टोली सहभागी छन्। प्रतियोगितामा सहभागी टोलीलाई चार समूहका विभाजन गरिएको छ।
प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुने एकेडेमीका महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार शुक्रबार पहिलो खेल कर्णाली र बागमती तथा दोस्रो खेल एपिएफ र गण्डकीबीच हुनेछ।
प्रतियोगिताको उपाधि विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार नगद प्राप्त गर्ने आयोजक एकेडेमीका उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज राजेशकुमार गुरुङले जानकारी दिए।
यसैगरी, म्यान अफ दी सिरिजलाई ३० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २०-२० हजार तथा म्यान अफ दी म्याचले पाँच हजार नगद पाउनेछन्। प्रतियोगिता सम्पन्न गर्न ७७ लाख खर्च हुने अनुमान आयोजकको रहेको उपाध्यक्ष गुरुङले जानकारी दिए।