
घुस बार्गेनिङकाे अडियाे बाहिरिएपछि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशाेर चाैधरीले राजीनामा दिएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा बुझाएका हुन्।
दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि पास गर्न उनले काठ व्यवसायीसँग घुस मागेकाे अडियोमा सुनिन्छ। मन्त्री चाैधरीले कार्यविधि पारित गर्न २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको अडियाेमा सुनिन्छ। तर, याे लाख वा कराेड कति भनेर खुलाइएकाे छैन।
शनिबार पदबाट राजीनामा दिँदै चाैधरीले उक्त अडियो गत भदौ महिनातिरको भएको र केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेको खुलाएका छन्। भर्खरै मन्त्री बनेका वेला सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको, तर नियत गलत नभएको उनले दाबी गरे।
उनले मुख्यमन्त्रीलाई मिलाउने नभई साेध्नुपर्ने कुरा गरेकाे दाबी गरे।
एक व्यक्ति २५-३० ठुलो रकम हाे भनेकाे अडियोमा सुनिन्छ। तर, मन्त्री चाैधरी भन्छन्, `के ठुलो हुनु मुख्यमन्त्री, पार्टीका सबैलाई मिलाउनुपर्छ, राजनीति गर्न कहाँ सजिलो छ र? काठमाडौं गएर रेशम ( नागरिक उन्मुक्तिका संरक्षक) नभए रञ्जिता(अध्यक्ष)लाई भेटेर कुरा मिलाउँछु।
सुन्नुहोस् अडियो: