१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा उच्च सुरक्षा सतर्कता 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:oo:oo

प्रदर्शनकारीको आवरणमा हतियारधारी समूह घुसपैठ हुने सूचना पाएपछि नाकामा चेकजाँच कडा

एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईंले ७ मंसिरमा आयोजना गर्ने प्रदर्शनलाई लक्षित गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा तुल्याएको छ । प्रदर्शनमा अराजक गतिविधि हुन सक्ने सूचनापछि प्रहरीले सुरक्षा व्यवस्था कडा तुल्याएको हो । प्रहरीले उपत्यका भित्रिने सबै नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ । नाकामा खटिएका सुरक्षाकर्मीले मंगलबारबाटै चेकजाँच कार्यलाई तीव्रता दिएका छन् । प्रदर्शनकारीको आवरणमा हतियारधारी समूह घुसपैठ हुने सूचना पाएपछि प्रहरीले नाकाको चेकजाँचलाई तीव्र तुल्याएको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता रवीन्द्रप्रसाद आचार्यले उपत्यका भित्रिने नाकामा हुने प्रहरीको चेकजाँच नियमित कार्य रहेको बताए । ‘उपत्यका भित्रिने सबै नाकामा चेकजाँच गर्न भनिएको छ । यो प्रहरीले गर्ने नियमित कार्य नै हो । चेकजाँचका क्रममा प्रहरीले आफ्नो प्रोसेडुअर त अपनाउँछ नै । चेकजाँचका क्रममा अवैध तवरले भित्रिने हातहतियार, लागुऔषधजस्ता विषय हेरिने नै भयो,’ उनले भने ।

रवीन्द्रप्रसाद आचार्य, प्रवक्ता, जिल्ला प्रशासन कार्यालय काठमाडौं
उपत्यका भित्रिने सबै नाकामा चेकजाँच गर्न भनिएको छ । यो प्रहरीले गर्ने नियमित कार्य नै हो । चेकजाँचका क्रममा प्रहरीले आफ्नो प्रोसेडुअर त अपनाउँछ नै । चेकजाँचका क्रममा अवैध तवरले भित्रिने हातहतियार, लागुऔषधजस्ता विषय हेरिने नै भयो ।

प्रहरीका अनुसार नागढुंगा, साँगा र दक्षिणकाली नाकामा सुरक्षाकर्मीको तैनाथीलाई बढाइएको छ । यसक्रममा उपत्यका भित्रिने सार्वजनिक यातायातका सवारीसाधन प्रहरीको उच्च निगरानीमा छन् । साधनमा यात्रा गर्ने यात्रुको गतिविधि र संख्या पनि प्रहरीले संकलन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले उपत्यका भित्रिने सवारीसाधन निगरानीमा राखिनु प्रहरीको नियमित कार्य रहेको बताए । ‘सवारीसाधन चेकजाँच गर्नु, निगरानी गर्नु, यात्रुको गतिवधि अध्ययन गर्नु प्रहरीको नियमित काम हो । विगतमा जस्तै प्रहरीले अहिले पनि त्यही काम गर्दै आएको छ । यी नौलो विषय होइनन्,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको निषेधाज्ञा जारीपछि युवा संघले तीनकुने र प्रसाईं समूहले बल्खुमा प्रदर्शन गर्ने तय भएको छ । यसअघि उनीहरूले नयाँ बानेश्वर र माइतीघर मण्डलामा कार्यक्रम गर्ने तय गरेका थिए । दुवै प्रदर्शन एकै ठाउँमा हुँदा झडप हुन सक्ने देखिएपछि प्रशासनले माइतीघर मण्डला र नयाँ बानेश्वरआसपासका क्षेत्रमा ३० दिनका लागि भेला तथा नाराजुलुस गर्न नपाउने भन्दै निषेधाज्ञा जारी गरेको थियो । 

प्रदर्शनमा हुन सक्ने झडप तथा अवाञ्छित गतिविधि रोक्न गृह मन्त्रालयले राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई मंगलबारबाटै परिचालन गरेको छ । सूचना संकलन गर्न नेपाल प्रहरीले पनि आफ्ना गुप्तचर परिचालन गरेको छ । 

प्रदर्शनका सन्दर्भमा सशस्त्र प्रहरीले पनि मातहतको संयन्त्रमार्फत सूचना संकलन गरिरहेको छ । ‘प्रदर्शनलाई लिएर सोमबार जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले सुरक्षा व्यवस्था विश्लेषण गरेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गर्ने निर्णय गरेको छ । यसका साथै सूचना संकलन गर्न अन्य सुरक्षा संयन्त्र पनि परिचालन गरिने भनिएको छ,’ जिप्रका काठमाडौंका प्रवक्ता आचार्यले भने ।

शीतलनिवास, उपराष्ट्रपतिनिवास, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि एकमहिने निषेधाज्ञा
प्रशासनले राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्रीनिवास बालुवाटार क्षेत्रमा पनि एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंगलबार सूचना जारी गर्दै राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, हरितगृह उपराष्ट्रपति भवन, बानेश्वरस्थित संसद् भवन, सिंहदरबार क्षेत्र ३० दिनका लागि निषेधित क्षेत्र तोकेका हुन् । 

काठमाडौं प्रशासनले सोमबार मात्र माइतीघर, नयाँ बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि मंगलबार सूचना जारी गरी पुल्चोक, मन्त्रीनिवास क्षेत्रलाई ६ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । ७ मंसिरमा युवा संघ र व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन आह्वान गरेका वेला गृह प्रशासन एकपछि अर्काे स्थानलाई निषेधित घोषणा गर्न लागेको हो ।

एमालेका युवा–विद्यार्थीको मसाल जुलुस 
एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले ७ मंसिरको प्रदर्शनको प्रचारका लागि मंगलबार सांकेतिक रूपमा मसाल जुलुस निकालेका छन् । कोटेश्वर तिनकुनेबाट निस्किएको जुलुस मीनभवन पुगेर समापन भएको थियो । 

भ्रष्टाचार, महँगी, सामाजिक अराजकताविरुद्ध सरकारको विरोध गर्दै एमालेका युवा र विद्यार्थी संगठनले बिहीबार तिनकुने क्षेत्रमा प्रदर्शनको तयारी गरिरहेका छन् । प्रदर्शनमा सहभागिताको आह्वान गर्दै प्रचारकै सिलसिलामा बुधबार काठमाडौंका ५० स्थानमा प्रचार कोणसभा र मसाल जुलुस निकालिने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए । सरकारले माइतीघर मण्डलादेखि बानेश्वरसम्म ३० दिनका लागि निषेधाज्ञा जारी गरेपछि संघले तिनकुने र राजतन्त्र ब्युँताउने मुद्दा अगाडि सारेर दुर्गा प्रसाईं नेतृत्वको नागरिक उन्मुक्ति अभियानले बल्खु क्षेत्रमा प्रदर्शनको तयारी गरिरहेका छन् । 

७ गतेको प्रदर्शनको सुरक्षाका लागि युवा संघ र अनेरास्ववियुले तीन हजार अग्रपंक्तिका स्वयंसेवक तयार पारेको दाबी गरेको छ । संघका पूर्वअध्यक्ष तथा प्रदर्शनको नेतृत्व गरिरहेका एमाले नेता महेश बस्नेतले एकजना स्वयंसेवकले कम्तीमा २० जना नागरिकको सुरक्षा गर्ने बताए । भेलालाई एमाले उपमहासचिव विष्णु रिमाल र स्थायी समिति सदस्य भानुभक्त ढकालले पनि सम्बोधन गरेका थिए ।

ad
ad