यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लालसागरमा एक इजरायली व्यवसायीको स्वामित्वमा रहेको पानीजहाज कब्जा गरी यमनको तटमा पुर्याएको बताएका छन्।
उक्त पानीजहाजको सञ्चालन एक जापानी फर्मले गरेकाले टोक्योले हस्तक्षेप गरी विद्रोहीहरूसँग सीधा सम्पर्क गर्ने प्रयास गरेकाे छ।
गाजापट्टीमा हमाससँग इजरायलको युद्धलाई लिएर विद्रोही समूहले जलमार्गमा इजरायली जहाजहरूलाई निशाना बनाउने धम्की दिएको केही दिनपछि उक्त जहाज कब्जा गरेको हो।
हुथीका सैन्य प्रवक्ता याह्या सारीले सामाजिक सञ्जाल एक्समा विद्रोहीहरूले एक इजरायली जहाजलाई कब्जामा लिएर यमनी तटमा पुर्याएको जानकारी दिएका छन्।
जापानका विदेशमन्त्री योको कामिकावाले भने, ‘टोक्योले इजरायलसँग कुराकानी गरिरहेको छ। हुथीसँग सीधा सम्पर्क गर्नुका साथै जहाज र चालकदलका सदस्यहरूलाई शीघ्र रिहाइका लागि हुथीहरूसँग दृढतापूर्वक आग्रह गर्न हामीले साउदी अरब, ओमान, इरान र अन्य सम्बन्धित मुलुकहरूलाई पनि आग्रह गरिरहेका छौँ।’
इजरायल, जापान र अमेरिकाले जहाज कब्जाको निन्दा गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले जहाजको स्वामित्व एक ब्रिटिस कम्पनीसँग रहेको र जापानी फर्मले सञ्चालन गरेको जानकारी दिएको छ।
जापानको एनवाइके लाइन नामले पनि चिनिने निप्पोन युसेनले आफूले बहमास–ध्वजांकित ग्यालेक्सी लिडर सञ्चालन गरेको पुष्टि गरेको छ।
हुथीहरूले एउटा व्यापारिक जहाज कब्जामा लिएको र त्यसलाई विद्रोहीहरूको नियन्त्रणमा रहेको तटीय सहर होदेइदास्थित सलिफ बन्दरगाहमा लगेको एक यमनी समुद्री स्रोतले जानकारी दियो।
इजरायली सेनाले एक्समा भनेको छ, ‘हुथीले एउटा मालवाहक जहाज अपहरण गरेको छ, विश्वव्यापी परिणामको यो एउटा गम्भीर घटना हो।’
उसले उक्त जहाज टर्कीबाट भारतका लागि प्रस्थान गरेको र जहाजमा विभिन्न मुलुकका नागरिक सवार भए पनि इजरायली नागरिक नरहेको बताएको छ। उसले उक्त जहाज इजरायली नभएकोमा पनि जोड दिएको छ।