१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका लुम्बिनी
२o८१ बैशाख १९ बुधबार १४:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनीमा १०८ वर्ष पुरानाे प्रारूपमा ‘रुसी बौद्ध गुम्बा’ निर्माण हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:३४:oo

बुद्धको जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध गुम्बा’ निर्माण गर्न थालिएको छ। एक सय आठ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको गुम्बा निर्माण थालिएको हो।

नेपालस्थित रसियन दूतावास, रुस नेपाल मैत्री संघ, रुसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसका बौद्धमार्गीको संयुक्त पहलमा मन्दिर निर्माण गर्न थालिएको छ। उक्त गुम्बा रु. ३० करोडको लगानीमा निर्माण गरिने रुसी गुम्बा नेपालका संयोजक ई. प्रवीण गौचनले जानकारी दिए। 

लुम्बिनी क्षेत्र विकास कोषभित्र रहेको एक बिघा जमिनमा निर्माण थालिएको सो  गुम्बा सन् २०२५ मा सम्पन्न गरिने लक्ष्य रहेको उनले बताए। 

रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुंगासहित आएका भिक्षुहरूबाट गरिएको  बौद्ध पाठ परायणसहित रसियन राजदूत असेक्सेई नोभिकोभले गुम्बा शिलान्यास गरेका थिए। पाठ पारायण गर्ने भिक्षुहरूमा बुदा बदमाएफ, जम्बालभ छिरिगंछाप, नान्जतोफ रिचेलाभ, चिल्गासेफ रमन थिए। 

रुसी दूतावासमार्फत लुम्बिनी विकास कोषसँग सन् २०१९ मा सम्झौता सम्पन्न भई हाल निर्माण सुरु गरिएको साढे दुईतले उक्त गुम्बा रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचनाअनुरूपको हुनेछ।

शिलान्यास कार्यक्रममा रसियन राजदूत नोभिकोभले  नेपाल र रसियाबीच मैत्री सम्बन्ध एवं संस्कृति आदान–प्रदान गर्ने उद्देश्यले बुद्धको जन्मभूमिमा रसियन गुम्बाको निर्माण सुरु गरिएको बताए। 

उनले शान्तिको सन्देश दिने बुद्धभूमि लुम्बिनीले नेपाल र रसियाबीचको  सम्बन्ध थप प्रगाढ बनाउने पनि जानकारी गराए। रुस नेपाल मैत्री समाजका उपाध्यक्ष दीनानाथ राजभण्डारीले दुई देशबीच द्विपक्षीय सम्बन्ध थप सुदृढ गराउने यो प्रयासले संस्कृति संरक्षणका साथै  बुद्धभूमि नेपालको पहिचान थप उजागर गर्ने उल्लेख गरे। 

रुसी बौद्व समाजका अध्यक्ष अलेक भयासिलोले मन्दिर निर्माणले नेपाल संसारभर शान्तिको स्रोत राष्ट्र बन्न सक्ने बताए। लुम्बिनी विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल ब्रजाचार्यले लुम्बिनीबाट प्रवाह हुने शान्तिको सन्देशलाई संसारभरका मानव जातिले महत्वका हेर्ने बताए। 

नेपालका तर्फबाट रुसका लागि पूर्वराजदूत ऋषिराम घिमिरेले नेपाल र रसियाबीचको सम्बन्ध, आपसी सहयोग, सदभाव र मैत्रीको प्रतीकका रूपमा रहेको बुद्ध भूमिको महत्व बढाउन यस कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे। 

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले यस कार्यमा प्रवासी नेपालीहरूले समेत सहजीकरण गरेको जानकारी गराए। बुद्धको जन्मस्थान लुम्बिनीमा २७ देशहरूले आफ्नो देशको प्रतिनिधित्व हुने गरी मन्दिर तथा गुम्बाहरू निर्माण गरिसकेका उनको भनाइ थियो। लुम्बिनी विकास कोषका अनुसार ४० देश तथा संघसंस्थाले यहाँ संरचना निमार्णका लागि सम्झौता गरेका छन्। 

ad
ad