अटो व्यवसायमा सक्रिय वैद्यज अर्गनाइजेसनले पहिलोपटक दुईपांग्रेको व्यापारमा हात हालेको छ । कम्पनीले भारतीय एथर ब्रान्डको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा बिक्री सुरु गरेको हो ।
कम्पनीले पहिलो सोरुम काठमाडौंको गैरीधारामा खोलेको छ । सोरुम उद्घाटन गर्दै वैद्य इनर्जीका सिइओ सुयान्स वैद्यले निकट भविष्यमै अर्को सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याउने बताए । ‘हामीले एथरको बिक्रीपछिको सेवालाई पनि चुस्त बनाउँदै लैजानेछौँ,’ उनले भने, ‘चार्जिङ नेटवर्क र सर्भिस नेटवर्क बलियो बनाएर उपभोक्ताको विश्वास जित्नेछौँ ।’ एथर भारतमा सबैभन्दा ठूलो चार्जिङ नेटवर्क भएको कम्पनी रहेको र नेपालमा पनि चार्जिङ नेटवर्क विस्तारमा जोड दिइने एथर इनर्जीका चिफ बिजनेस अफिसर रनभित पोखेलाले बताए । नेपाली भूगोल सुहाउँदो भएकाले एथर नेपाली दुईपांग्रे इभी बजारमा छिट्टै स्थापित हुने उनले विश्वास व्यक्त गरे ।
पछिल्लो समय इलेक्ट्रिक सवारीसाधनमा बढ्दो आकर्षणसँगै कम्पनीले विद्युतीय स्कुटर बिक्री सुरु गरेको हो । नेपाली उपभोक्तामाझ ‘हाई पर्फमेन्स’ इलेक्ट्रिक स्कुटर भिœयाएको कम्पनीका अध्यक्ष सुरज वैद्यले बताए ।
पहिलो चरणमा एथरको फ्ल्यागसिप मोडल ४५० एक्स भित्रिएको छ । यो हाई रेन्ज र लो रेन्जमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । लो रेन्जमा २.९ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले नेपाली सडकमा फुल चार्जमा ९० किलोमिटरसम्म माइलेज दिने जनाइएको छ । यसको मूल्य तीन लाख ८५ हजार तोकिएको छ । यस्तै, हाई रेन्जमा ३.७ किलोवाट आवरको ब्याट्री राखिएको छ । यसले फुल चार्जमा एक सय १० किलोमिटर माइलेज दिने बताइएको छ । यो भेरियन्टको मूल्य चार लाख २० हजार रुपैयाँ तोकिएको छ ।
दुवै भेरियन्ट ३.३ सेकेन्डमा शून्यदेखि ४० किलोमिटरसम्म कुद्न सक्ने बताइएको छ । यसको टप स्पिड प्रतिघन्टा ९० किलोमिटरसम्म रहेको कम्पनीले जनाएको छ । यसमा पार्किङ एसिस्ट, रिभर्स गियर, अटो होल्ड, गुगल म्यापसहितको सात इन्चको टिएफटी डिस्प्लेलगायतका फिचरहरू रहेको जनाइएको छ ।