१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १o:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तुलसीपुरमा सिल्की चामलमा शंका लागेपछि ‘ल्याब टेस्ट’ गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:oo:oo

दाङको तुलसीपुरमा सिल्की चामलमा शंका देखिएपछि ल्याब परीक्षण गर्न थालिएको छ । टीकापुर फुड प्रोडक्सनले उत्पादन गरेको उक्त चामलमा शंका उत्पन्न भएपछि ल्याब परीक्षण गर्न पठाइएको खाद्य प्रविधि तथा गुुण नियन्त्रण कार्यालय तुलसीपुरका प्राविधिक राजेशकुमार चौधरीले बताए ।

तुलसीपुर बजारमा बिक्री गरिएको उक्त चामलमा उपभोक्ताले गुनासो गरेपछि परीक्षण थालिएको चौधरीले बताए । ‘योभन्दा पनि पहिले सिल्की चामलमा प्लास्टिक भेटिएको थियो,’ उनले भने, ‘यो चामलमा पनि प्लास्टिक हुन सक्ने आशंका भएपछि परीक्षण थालिएको हो ।’

टीकापुर प्रोडक्सनबाट तुलसीपुरस्थित सरस्वती राइस मिलमा ५० किलो तौल भएका ६ सय ८० बोरा आएका थिए । त्यसमध्ये १७ टनजति सल्यान गइसकेको र ५० बोरा तुलसीपुर बजारमा खपत भइसकेको सरस्वती राइस मिलका सञ्चालक वशिष्ठ मनीले बताए ।

उनका अनुसार एक महिनाअघि उक्त चामल तुलसीपुर ल्याइएको हो । इन्द्रेनी ब्रान्डको चामल बाल्दा प्लास्टिक जलेजस्तो हुने तथा नङले भाँच्दा पनि नभाँचिने, चपाउँदा पनि नचपाइने उपभोक्ता प्रकाश बस्यालले बताए । ‘अरू चामल नङले भाँच्दा भाँचिन्थ्यो,’ उनले भने, ‘तर, त्यो चामल नङले भाँच्दा पनि भाँचिएन, जलाउँदा पनि प्लास्टिकजस्तो हुन्थ्यो, चपाउन खोज्दा पनि नचपाइने हुन्थ्यो ।’  

पानीमा भिजाउँदा पनि पानीको माथि उत्रिने तथा खाँदा भने भातबाहेक अरू अनुभूति नहुने गरेको बस्यालले बताए । यस विषयमा बुझ्न खोज्दा टीकापुर फुड प्रोडक्सनका सञ्चालक सम्पर्कमा आउन सकेनन् । चामलकै बोरामा रहेको ९८५१०९४६०६ नम्बरका व्यक्तिले आफू टीकापुर फुड प्रोडक्सनसँग सम्बन्धित नभएको प्रतिक्रिया दिए ।  
 

ad
ad