‘ग्लोबल साउथ’ विश्वको भूगोललाई जनाउने सटीक शब्दावली नभई एक राजनीतिक नारा मात्र हो
‘ग्लोबल साउथ’ अर्थात् दक्षिणी गोलार्द्ध भन्ने शब्दावली हालका दिनमा अत्यधिक प्रयोग भइरहेको छ । उदाहरणका लागि केही टिप्पणीकारले गाजामा इजरायलको आक्रमणले ‘ग्लोबल साउथलाई अलग्याउने’ चेतावनी दिएका छन् । त्यसैगरी हामीले ‘ग्लोबल साउथ’ले युक्रेनमा युद्धविराम चाहेको छ भन्ने पनि सुनिरहेका हुन्छौँ । यो शब्दावलीको प्रयोगको अभिप्रायः के होला ?
भौगोलिक रूपमा भन्ने हो भने ‘ग्लोबल साउथ’ले भूमध्यरेखामाथिका ५४ मुलुकबाहेकका भूमध्यरेखामुनिका ३२ मुलुकलाई चिनाउँछ । तथापि, यसलाई भ्रामक ढंगले वैश्विक बहुसंख्यकलाई जनाउन प्रयोग गरिन्छ, जबकि बहुसंख्यक मानिस भूमध्यरेखामाथि बसोवास गर्छन् र रेखामाथि विश्वमै सबैभन्दा बढी भूमि पनि छ । उदाहरणका लागि हामीले बारम्बार विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक भारत र दोस्रो स्थानमा रहेको मुलुक चीन आफूलाई ‘ग्लोबल साउथ’को नेतृत्वका रूपमा अघि सार्न चाहन्छन् ।
यही उद्देश्यका लागि दुवै मुलुकले हालै कूटनीतिक सम्मेलन पनि आयोजना गरेका छन् । तर, यी दुवै मुलुक उत्तरी गोलार्द्धमा पर्छन् । यस अर्थमा ‘ग्लोबल साउथ’ विश्वको भूगोललाई जनाउने सटिक शब्दावली नभई एक राजनीतिक नारा मात्र हो । वास्तवमा यो शब्दावली हेयको अर्थ दिने अन्य शब्दावलीको विकल्पका रूपमा सतहमा आएको हो । शीतयुद्धका समयमा अमेरिका र सोभियत संघको शिविरमा आबद्ध नभएका मुलुकलाई ‘तेस्रो विश्व’को संज्ञा दिइएको थियो । सन् १९५५ मा इन्डोनेसियाको बाङडुङमा असंग्लन राष्ट्रले आफ्नै सम्मेलन गरेका थिए र अहिले पनि कमजोर रहेको असंलग्न आन्दोलनमा एक सय २० मुलुक आबद्ध छन् । सन् १९९१ मा सोभियत संघको पतनपछि असंलग्न तेस्रो विश्व शब्दावलीको कुनै अर्थ रहेन । केही समय यी मुलुकलाई ‘कम–विकसित मुलुक’को संज्ञा दिइएको थियो । यो शब्दावली हेयपूर्ण भएकाले ‘विकासशील मुलुक’भन्ने शब्दावलीको प्रयोग हुन थाल्यो ।
यो शब्दावलीमा पनि समस्या नभएको होइन, अर्थात् सबै न्यून आय भएका मुलुक विकासशील छैनन्, तथापि राष्ट्रसंघको कूटनीतिमा यो शब्दावली उपयोगी भएको छ । ७७ को समूह अर्थात् (जी ७७) मा अहिले एक सय ३५ मुलुक छन् र यिनले सामूहिक आर्थिक स्वार्थलाई प्रतिनिधित्व गर्छन् । त्यसैगरी, भारत, मेक्सिको, रुस, पाकिस्तान, साउदी अरब, चीन, ब्राजिल र अन्य मुलुकलाई ‘उदीयमान बजार’को चल्तीको नाम दिइयो । सन् २००१ मा गोल्डम्यान स्याक्सका तत्कालीन प्रबन्ध निर्देशक जिम ओ निलले एक पत्रमा अत्यधिक सम्भावना भएका उदीयमान बजार ब्राजिल, रुस, भारत र चीनलाई ब्रिकको संज्ञा दिएका थिए । उसो त ओ निलले पत्रमा लगानी विश्लेषण गरेका थिए, तर ब्रिकलाई रुसी राष्ट्रपति भ्लादमिर पुटिनलगायत केही राजनीतिक नेताले अमेरिकी वैश्विक प्रभावको प्रतिरोधको कूटनीतिक मञ्च बनाइदिएका थिए ।
शृंखलाबद्ध बैठकपछि सन् २००९ मा रुसको येकातेरिनवर्गमा पहिलो ब्रिक सम्मेलन आयोजना गरियो । लगत्तैको वर्षमा ब्रिकमा दक्षिण अफ्रिका पनि थपियो र समूहको नाम ब्रिक्स बन्न पुग्यो । र, यही अगस्टमा भएको १५औँ ब्रिक्स सम्मेलनमा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ६ उदीयमान बजार अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेटले ब्रिक्स समूहमा १ जनवरी २०२४ देखि स्थान पाउने जनाएका छन् । सम्मेलन गर्न सक्ने एक निकाय भएकाले ब्रिक्स ‘ग्लोबल साउथ’लाई प्रतिनिधित्व गर्ने एक शक्ति बन्न पुगेको छ । तर, ब्रिक्समा ब्राजिल, दक्षिण अफ्रिका र अहिले थपिएको अर्जेन्टिना मात्रै दक्षिणी गोलार्धमा रहेका मुलुक हुन् । तेस्रो विश्वको विकल्पका रूपमा पनि ब्रिक्स अवधारणागत एवं संगठनात्मक रूपमा अपूरो छ । ब्रिक्सका केही सदस्य मात्रै लोकतान्त्रिक मुलुक हुन् भने अधिकांश अधिनायकवादी मुलुक हुन् र त्यसमाथि सदस्य मुलुकबीच अहिले पनि द्वन्द्व चलिरहेको छ ।
उदाहरणका लागि भारत र चीनले हिमालय क्षेत्रको विवादमा युद्ध लडेका छन् । त्यसैगरी, इथियोपिया र इजिप्टबीच नाइल नदीलाई लिएर विवाद चलिरहेको छ । र, यता साउदी अरब र इरान पर्सियाको खाडीमा सामरिक प्रभावका लागि प्रतिस्पर्धामा छन् । त्यसमाथि रुसको सहभागिता भएको अवस्थामा ब्रिक्सलाई ‘ग्लोबल साउथ’को प्रतिनिधित्व गर्ने निकायका रूपमा दाबी गर्नु हास्यास्पद हुन्छ । उसो त उत्तरी गोलार्द्धमा अवस्थित मध्यम आय भएको चीनले अमेरिकासँग वैश्विक प्रभावका लागि प्रतिस्पर्धा गरिरहेको छ, तैपनि चीन आफूलाई ‘ग्लोबल साउथ’भित्र विकासशील मुलुकको नेताका रूपमा दाबी गर्न मन पराउँछ ।
तथापि, मेरो हालैको बेइजिङ भ्रमणका वेला चिनियाँ प्राज्ञसँगको संवादमा केही भिन्नता भने पाएको छु । केहीले ‘ग्लोबल साउथ’लाई उपयोगी राजनीतिक औजारका रूपमा पाएका छन् भने केहीले उच्च, मध्यम र न्यून आय मुलुकका रूपमा विश्वलाई विभाजन गर्नु सटिक हुने सुझाव दिएका छन् । यसो गर्दा पनि सबै न्यून आय भएका मुलुकका स्वार्थ र प्राथमिकता एकै छैनन् । उदाहरणका लागि सोमालिया र होन्डुरसका आ–आफ्नै समस्या छन् । उच्च, मध्यम र न्यून आय जोडिएका शब्दावली न नेताको जिब्रोमा सजिलो गरी बस्छ न पत्रकारले समाचार शीर्षकमा सहजै उल्लेख गर्न सक्छन् । सहज वैकल्पिक शब्दावलीका लागि नेता र पत्रकारले ‘ग्लोबल साउथ’ शब्दावलीकै प्रयोग गर्नेछन् । तर, विश्वलाई सटिक शब्दावलीबाट प्रतिनिधित्व गर्न चाहने जोकोहीले ‘ग्लोबल साउथ’ नामक भ्रमपूर्ण शब्दावली प्रयोग गर्नबाट जोगिनुपर्छ ।
(अमेरिकी राजनीतिशास्त्री नाई पूर्व–अमेरिकी सहायक रक्षामन्त्री हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट