Skip This
दैलेखमा पेट्रोल अन्वेषणका लागि ४.५ किलोमिटर ड्रिलिङ सुरु हुँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ५ आइतबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक ५ आइतबार ११:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दैलेखमा पेट्रोल अन्वेषणका लागि ४.५ किलोमिटर ड्रिलिङ सुरु हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक ५ आइतबार ११:२४:oo

देशकै आर्थिक अवस्था सुधार हुने आशा गरिएको पेट्रोलियम उत्खननकाे अन्तिम अन्वेषणको कार्य सुरु हुने भएको छ । अन्तिम ड्रिलिङका लागि आवश्यक पर्ने ४५ रोपनी जग्गाको विवाद मिलेपछि अन्वेषणको काम सुरु हुने भएको हो । दैलेखको भैरवी गाउँपालिका– १ खोली बजारका स्थानीय जग्गा दिन तयार भएसँगै अन्वेषणको काम सुरु गर्ने तयारी थालिएको हो । 

४५ रोपनी जग्गा अतिक्रमण गर्नुपर्ने विषयमा केही समय विवाद भएको थियो । कात्तिक ३ गते जिल्ला प्रशासन कार्यालय दैलेखमा जग्गाधनी, स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएपछि अन्य प्राविधिक कामहरू तत्कालै सुरु गरिने भएको छ । 

विवाद समाधानका लागि जिल्लाका निर्वाचित जनप्रतिनिधिहरू, राजनीतिक दल, नागरिक समाज, स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयबीच भएका विभिन्न छलफलपश्चात् स्थानीयहरूले जग्गा दिन तयार भएको र लगत्तै अन्वेषणको काम सुरु हुने जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए । 

सरकारले ऐनमा उल्लेख गरेअनुसारको घर र जग्गाको मुआब्जा दिने भएको छ । योसँगै स्थानीयलाई रोजगारीको पहिलो प्राथमिकता, वासस्थानको व्यवस्थापन, नष्ट हुने बालीनालीको क्षतिपूर्तिलगायतका मागहरू पूरा गरिदिनुपर्ने स्थानीयको माग रहेको छ ।

सोहीअनुसार सम्झौता गरेपश्चात् स्थानीय बासिन्दाहरू जग्गा दिन तयार भएको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले जानकारी दिए ।

जग्गादाता धिर्जा थापाले भनिन्, ‘सरकारलाई हामीले जग्गा दियौँ । सरकारले हाम्रा छोराछोरीलाई रोजगारी देओस् । काम गर्न विदेश जान नपरोस् । हामीलाई राम्रो स्थानमा स्थान्तरण गरियोस् ।’

पेट्रोलियम पदार्थ भेटिएमा दैलेखको मात्र नभई देशको अवस्था सुधार हुन्छ भनेपछि सरकारले भनेअनुसार जग्गा सरकारको नाममा हस्तान्तरण गर्न तयार भएको र स्थानीयले राखेका मागहरू पूरा गरिदिनुपर्ने स्थानीय कृष्णबहादुर थापाको भनाइ छ ।

कर्णाली प्रदेशको भविष्य बदल्ने र देशको आर्थिक अवस्था सुधार हुने अन्वेषणको काम जसरी पनि सम्पन्न गर्न भैरवी गाउँपालिकाका जनप्रतिनिधिहरूले जनतासँग सहकार्य गरेको भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले बताइन् । केही माग गाउँपालिकाले नै सम्बोधन गर्छ । केही माग प्रदेश र केन्द्र सरकारले सहजीकरण गरिदिनुपर्ने भण्डारीको भनाइ छ ।

४.५ किलोमिटर जमिनमुनि ड्रिलिङ गरिने 

दैलेखको भैरवीमा ४.५ किलोमिटर जमिनमुनि ड्रिलिङ गरिने भएको छ । कात्तिक तेस्रो साताबाट ड्रिलिङको काम सुरु गर्ने गरी तयारी थालिएको पेट्रोलियम अन्वेषण परियोजनाका दिनेशकुमार नापितले बताए। 

चीनको टोलीले गरेका अन्य अन्वेषणहरूबाट दैलेखकै भूभागमा पेट्रोल र ग्यासको भण्डारण हुन सक्ने निकै धेरै सम्भावना देखिएकोले अन्तिम अन्वेषणको नजिता सकारात्मक आउनेमा आशावादी रहेको नापितको भनाइ छ । 

दैलेखकै भूभागमा पेट्रोल र ग्यासको भण्डारण भएको भन्दै ०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न भएका छन् । अब गरिने सर्भेले कति परिमाणमा पेट्रोलियम पदार्थ छ भनेर पत्ता लाग्नेछ ।