१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २४ सोमबार o९:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मधेशको भव्य भरत ताल

Read Time : > 2 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:३९:oo

नगरपालिकाका मेयर भरतकुमार थापाको परिकल्पनामा यो माछातालको रूपमा निर्माण भइरहेको थियो । तर, घुम्न आउने पर्यटकले माछाताल भनेनन्, मेयर भरतले बनाएकाले ‘भरत ताल’ नामकरण गरिदिए । त्यसपछि ओइरिन थाले नेपालदेखि भारतसम्मका पर्यटक ।

सर्लाहीको बागमतीमा रहेको भरत ताल पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । १२१ बिघामा फैलिएको यस तालले मधेश प्रदेशमा मात्र नभई भारतसम्म पनि पर्यटकीय स्थलको छाप छोड्न सफल भएको छ । तालले बागमती नगरपालिकाको ४ र १२ नम्बर वडाका केही भूभाग ओगटेको छ । 

विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा घुम्नलायक गन्तव्य बनेको छ मानवनिर्मित यो ताल । पछिल्लो समय नगरले तालपरिसरलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न योजना पनि ल्याएको छ । पूर्व–पश्चिम राजमार्गबाट तीन किलोमिटरको दूरीमा रहेको यो ताल चुरे पहाडको काखमै छ । तालपरिसरमा रहेका अनेक मनोरञ्जनका साधनले यहाँ आउने पर्यटकलाई थप रोमाञ्चित बनाउने गरेको छ । तालमा तीव्र गतिमा कुद्ने मोटरबोटदेखि मिनी क्रुजसम्मले तालभन्दा पनि समुद्रमा घुमेको आभास दिलाउने गरेको यहाँ घुम्न आउने पर्यटकको भनाइ छ । 

तालको एक छेउमा एडभेन्चर स्काई साइक्लिङ, घोडचढी, उँटचढी, बालबालिकाका लागि खेल्ने सामग्रीसहितको पार्क छ । तालकै छेउमा तयार हुँदै गरेको एक सय बिघा क्षेत्रफलको नगर बगैँचा पर्यटकका लागि अर्को आकर्षणको केन्द्र बनिरहेको छ । पछिल्लो समय ताल घुम्न आउने पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । विभिन्न चाडपर्व तथा नेपाली र अंग्रेजी नयाँ वर्षमा समेत आन्तरिक तथा बाह्य पर्यटकको घुइँचोले तालपरिसर भरिभराउ हुने गरेको छ । संघ र प्रदेश सरकारको सहयोग तथा समन्वयमा बागमती नगरपालिकाले बागमती नदीकिनारमा क्रित्रिम ताल निर्माण गरेको हो । ताल निर्माण कार्य अहिले पनि जारी छ । भौतिक संरचना सँगसँगै ताललाई अझै सुन्दर बनाउने कार्य जारी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल पोखरेलले जानकारी दिए । 

माछा पोखरी बनिनसक्दै उक्त संरचना पर्यटकीय आकर्षणको केन्द्र बन्यो । तालको अहिले देशभर मात्र होइन, भारतमा पनि चर्चा छ । ताल अवलोकन गर्न आउनेको भिड थेगिनसक्नु छ  । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा बागमती माछा ताल होइन, भरत तालको नामले चिनिन्छ ।

नगरपालिकाका मेयर भरतकुमार थापाको परिकल्पनामा यो माछा तालको रूपमा निर्माण भइरहेको थियो । तर, घुम्न आउने पर्यटकले माछा ताल भनेनन्, मेयर भरतले बनाएकाले ‘भरत ताल’ नामकरण गरिदिएको स्थानीयको भनाइ छ । तालको नामकरणको विषयमा हालसम्म नगरले कुनै निर्णय गरेको छैन । निर्माणस्थलमा अझै बागमती माछा पोखरी परियोजना नामसहितको परियोजना बोर्ड देख्न सकिन्छ । तर, तालवरपर सञ्चालन भइरहेका होटेलहरूमा भरत ताल देख्न सकिन्छ । यति मात्रै होइन, सवारीसाधनमा समेत भरत ताल नै लेखिएको छ । 

निर्माणाधीन तालमा बागमती नदीकै पानी ल्याएर हालिएको छ । तालमा सुरुदेखि नै मोटरबोट सञ्चालन गरियो । बागमती इन्टरटेन्मेन्ट प्रालिका सञ्चालक गौतम खड्काका अनुसार पछिल्ला दिनमा तालको अवलोकन गर्न आउनेको संख्या ह्वात्तै बढेको छ । ‘टिकटक र अन्य सामाजिक सञ्जालमा यो ताल भाइरल भएपछि विभिन्न अवसर पारेर तालमा पारिवारिक जमघट गर्न आउने बढेका छन्,’ खड्काले भने, ‘सार्वजनिक बिदाको दिन त मोटरबोटमा मानिस चढाएर घुमाउनै भ्याइँदैन ।’

निर्माणाधीन तालपरिसरमा होटेललगायत अन्य व्यापार व्यवसाय निकै फस्टाउँदा आन्तरिक रोजगारी सिर्जना भएको स्थानीयको भनाइ छ । बागमती नगरपालिका–१२, कर्मैयाका स्थानीय लीला ढकालले आफ्नो ठाउँमा निर्माण भइरहेको ताल पर्यटकीय गन्तव्य बन्दै गएपछि खुसी लागेको बताए । ‘तालपरिसरमा अप्रत्यासित रूपमा पर्यटक ओइरिएका छन्, यसबाट हामी पनि आश्चर्यचकित भइरहेका छौँ,’ ढकालले भने, ‘व्यवस्थित ढंगले ताल निर्माण गरे भविष्यमा मुलुककै एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।’

मधेश प्रदेश सरकारको ८० प्रतिशत, स्थानीय सरकारको १५ प्रतिशत र संघीय सरकारको पाँच प्रतिशत लागतमा ताल निर्माण भइरहेको छ । निर्माणाधीन अवस्थामै तालबाट आर्थिक उपार्जन भइरहेको छ । तालमा सञ्चालन हुने मोटरबोट तथा व्यापार व्यवसाय गर्ने व्यापारीहरूले नगरपालिकालाई कर तिरिरहेका छन् । ताललाई माछापालनको हिसाबले सञ्चालन गर्दा नगरले थप आयआर्जन गर्ने नगरपालिकाले जनाएको छ ।

तालको उत्तरपट्टिको भागमा सुमेरु पर्वतको आकृतिमा शिव–पार्वतीको विशाल मूर्ति स्थापना गरिने नगरकी उपमेयर लीलाकुमारी मोक्तानले बताइन् । शिवको जटाबाट पानी झरेको स्वरूप निर्माण गरिने उनको भनाइ छ । तालको बीच भागमा होटेल निर्माण हुनेछ । तालआसपासमा ३० वटा वनभोज स्थल, ५० चौतारा र प्रतीक्षालय निर्माण गरिनेछ । 

यस्तै तालको दक्षिणतर्फको भागमा चलचित्र छायांकनको क्षेत्र बनाउने योजनासमेत रहेको नगरका योजना शाखाका सुजन बडालले बताए । नगरले चलचित्र विकास बोर्डबाट आएको प्रस्तावमा अध्ययन गरिरहेको छ । मेयर थापाले नगरपालिकालाई पर्यटकीय हिसाबले विकास गर्दै स्थानीयस्तरमा आयस्रोतको खोजी गरिएको बताए । ताल निर्माणले यस क्षेत्रको सिँचाइ र वातावरण संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको मेयर थापाको भनाइ छ ।

‘तालमा माछापालन गर्नेदेखि पर्यटक आकर्षित गर्ने, नगरको आम्दानी बढाउने हाम्रो प्रमुख उद्देश्य हो,’ मेयर थापाले भने, ‘बनी नसक्दै तालमा देखिएको आकर्षणले हामीलाई धेरै हौस्याएको छ । ताललाई देशको एउटा आकर्षक पर्यटकीय स्थल बनाउँछौँ ।’ तालमा प्राकृतिक विपत्सम्बन्धी तालिम केन्द्र पनि बन्ने सम्भावना देखिएको मेयर थापाको भनाइ छ । यस तालमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा प्राकृतिक प्रकोप न्यूनीकरणसम्बन्धी प्रदेशस्तरीय पूर्वतयारी अभ्याससमेत गरेका थिए ।

ad
ad