१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
जेरेमी ने
२o८१ बैशाख २३ आइतबार o९:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकामा आश्चर्यजनक ढंगले बढेको गरिबी 

Read Time : > 2 मिनेट
जेरेमी ने
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:४२:oo

अश्वेत र हिस्प्यानिक अमेरिकीका लागि आर्थिक कठिनाइ कम भए पनि समग्र गरिबी दर महामारीपूर्वको खराब अवस्थामा झरेको छ 

पछिल्लो अमेरिकी जनगणनाअनुसार सन् २०२२ मा अमेरिकी गरिबी दर १२.४ प्रतिशतले बढेको छ । सन् २०२१ मा यो आँकडा ७.४ प्रतिशत थियो । त्यसैगरी बाल गरिबी पनि अघिल्लो वर्षको ५.२ प्रतिशतबाट १२.४ प्रतिशत पुगेको छ । अमेरिकामा व्यक्तिको वार्षिक आय १३ हजार पाँच सय ९० र तीन सदस्य भएको परिवारको वार्षिक आय २३ हजार ३० डलरबराबर वा कम भएमा त्यस्ता व्यक्ति वा परिवार गरिबीको रेखामुनि रहेको मानिन्छ । पछिल्लो तथ्यांकले सन् २०२२ मा कुल तीन करोड ७९ लाख व्यक्ति गरिबीको रेखामुनि बाँचिरहेको देखाएको छ ।

विस्तारित बालकर ऋणजस्ता कार्यक्रमका कारण केही वर्ष अमेरिकाले गरिबीमा उल्लेखनीय कमी ल्याएको थियो । यद्यपि यी कार्यक्रमको अवधि सकिएपछि यी प्रभाव अल्पकालीन सावित भएका छन् । ‘आधिकारिक’ गरिबी दरलाई प्रतिस्थापित गरेको पूरक गरिबी मापन (एसपिएम) ले सरकारी गरीबीविरुद्धका कार्यक्रम र जीविका लागतका भिन्नताको जिम्मेवारी लिएको छ । मुद्रास्फीति र जीविका लागतमा समग्रतामा वृद्धि हुनाले पनि परिवारमा नयाँ वित्तीय चुनौती थपेको छ । एसपिएंमले खाद्यान्न र आवासजस्ता अत्यावश्यक वस्तुको लागत प्रयोग गर्छ, जुन गत वर्ष बढेको छ । सन् २०२१ मा चार जनाको परिवारमा यदि वार्षिक आय ३१ हजार चार सय ५३ बराबर वा कम छ भने त्यस्ता परिवारलाई गरिब मानिएको छ । सन् २०२२ मा यस मापदण्डलाई करिब १० प्रतिशतले बढाएर ३४ हजार पाँच सय १८ पुर्‍याइएपछि थप घरपरिवार गरिबीको रेखामुनि समेटिएका छन् । 

न्यून आय भएका मात्रै नभई औसत अमेरिकी परिवारले पनि प्रभाव महसुस गरेका छन् । सन् १९८१ यताकै उच्च मुद्रास्फीति दरका कारण बढेको रोजगारी एवं ज्याला उपलब्धिलाई मत्थर बनाइदिएको छ । क्यालिफोर्निया, फ्लोरिडा र मिसिसिपी अमेरिकाका सबैभन्दा बढी गरिब मानिस बसोवास गर्ने राज्य हुन् । यी राज्यका क्षेत्रमा एक रोचक मिश्रण देख्न सकिन्छ, जहाँ धेरै अर्थशास्त्रीको सामान्यतया ध्यान पुग्दैन । 

कृषि, खानी र निर्माण क्षेत्र भएका उत्तरी क्यालिफोर्नियाका काउन्टी (स्थानीय तह) मा अधिक गरिबी छ । उच्च जीविका लागतले सानफ्रान्सिस्को र लसएन्जलसजस्ता सहरमा गरिबी दर बढाएको छ, अर्थात् करिब ४५ लाख मानिस गरिबीको रेखामुनि छन् ।

फ्लोरिडाको सीमान्त क्षेत्रमा गरिबी व्याप्त छ । उदाहरणका लागि ग्याडस्डेन काउन्टीमा चारमा एकजना र पाँचमध्ये दुई बालबालिका गरिबीको रेखामुनि छन् । फ्लोरिडाको बाँकी क्षेत्रविपरीत ग्याडस्डेन काउन्टीको औसतभन्दा कम दरमा विद्यार्थी उच्च–माध्यमिक विद्यालयमा उत्तीर्ण हुने गरेको तथ्यले यस क्षेत्रमा बेरोजगारी र गरिबी बढाउन सघाएको छ ।

विशेषतः अश्वेत जनसंख्या अधिक भएका मिसिसिपी नदीवरपरका क्षेत्रमा गरिबी व्यापक छ । राज्यमा उल्लेख्य नश्लीय असमानता छ र श्वेतका तुलनामा अश्वेतहरू गरिबीमा बाँच्ने सम्भावना तीन गुणाले बढी छ । मिसिसिपी नदी टेनेसीमा मिल्ने ठाउँ ट्युनिका काउन्टीमा नागरिक अधिकारका लागि अमेरिकी आयोगका अनुसार ६८ प्रतिशत अश्वेत गरिबीको रेखामुनि छन् र बेरोजगारी दर २३.८ रहेको छ भने श्वेत परिवारका लागि यो आँकडा क्रमशः १२ र दुई प्रतिशत रहेको छ ।

अमेरिकाको दक्षिणी क्षेत्रको गरिबीमा उल्लेख्य वृद्धि भएको छ र यो वृद्धि त्यहाँ भएको छ, जहाँ एक अनुसन्धानले बालकर ऋणले न्यून आय भएका परिवारलाई सहयोग गर्न महत्वपूर्ण भूमिका खेलेको देखाएको छ । ह्वाइट हाउसले जनगणनाको तथ्यांक सार्वजनिक भएपछि बाल गरिबीमा भएको वृद्धिका लागि कंग्रेसका रिपब्लिकनलाई तुरुन्तै दोषी ठहर्‍यायो । रिपब्लिकनको आलोचना गर्दै राष्ट्रपति बाइडेनले बाल गरिबीमा भएको वृद्धि कुनै संयोग नभई रिपब्लिकनले बालकर ऋण लागू गर्न अस्वीकार गरेका कारण हो भन्ने आरोप लगाएका छन् । विभिन्न अर्थशास्त्रीले विस्तारित बालकर ऋण लागू गर्दा सन् २०२२ मा गरिबी करिब ५० प्रतिशतले घट्न सक्ने जनाएका छन् । 

अमेरिकी ‘इनइक्वेलिटी’ सम्बद्ध अनुसन्धानकर्ताले आम्दानी आयकर ऋण (इआइटिसी) ले गरिबीलाई उल्लेखनीय रूपमा घटाएको जनाएका छन् । बाल गरिबीमा २५ प्रतिशतको वृद्धिलाई रोकेको छ र एक करोड ७० लाख मानिसको गरिबी पनि घटाएको छ । राष्ट्रपति बाइडेनको सन् २०२४ को बजेटले रिपब्लिकन विरोधको सामना गर्दै इआइटिसी विस्तार गर्ने लक्ष्य राखेको छ ।

महामारीपूर्वको अवस्थामा हालको गरिबी दर निकै कम छ, अर्थात् सन् २०१९ को जस्तै छ । अश्वेत र हिस्प्यानिक अमेरिकीका लागि आर्थिक कठिनाइ कम भए पनि समग्र गरिबी दर महामारीपूर्वको खराब अवस्थामा झरेको छ । वास्तवमा महामारीमा गरिब तप्काले पाएको सहायताका कारण अमेरिकाको गरिबीमा सुधार आएको थियो ।

६५ वर्षमाथिका अमेरिकीका लागि गरिबी घटाउन आवश्यक समर्थनको कमी छ । यो तप्काको गरिबी दर १४.१ प्रतिशतले बढेको छ, जुन सन् २०१६ यताको सबैभन्दा बढी हो । यस क्रममा वृद्ध नागरिकका लागि सामाजिक सुरक्षा भुक्तानी ८.७ प्रतिशत वृद्धि भएको छ । तथापि, महामारीले गर्दा रोजगारीमा पुनः प्रवेश गर्न नसकिने अवस्थाका कारण गरिबी यथावत् छ । 

अमेरिकामा गरिबीले निरन्तर असमानतालाई प्रतिबिम्बित गरिरहेको छ । क्षेत्रगत आधारमा गरिबी बढ्ने प्रवृत्तिलाई हेर्दा थप अन्य समुदाय पनि गरिबीको चपेटामा पर्न सक्छन् । विगतको संघीय समर्थनले गरिबी घटाएको थियो तर हालको तथ्यांकले स्रोत घट्दा के हुन्छ भन्ने देखाएको छ ।

(अमेरिकन इनइक्वेलिटीका लेखक ने यसअघि संघीय रिजर्भमा बृहत् आर्थिक नीतिका रणनीतिकार थिए) 
टाइम म्यागजिनबाट

ad
ad