१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज २७ शनिबार ०८:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्ड र बिमा प्राधिकरणका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज २७ शनिबार ०८:४८:००

प्रिमियम मूल्यमा साधारण सेयर (आइपिओ) निष्कासन गर्न दिएर नीतिगत भ्रष्टाचार गरेको आरोपमा धितोपत्र बोर्ड र बिमा प्राधिकरणका अध्यक्षसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । १३ जना लगानीकर्ताको हस्ताक्षरसहित अख्तियारमा उजुरी परेको हो । 

बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलविरुद्ध भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । बिमा ऐन, २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्थाविपरीत अख्तियारको दुरुपयोग गरी सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र रिलायबल लाइफसहित चारवटा बिमा कम्पनीहरूलाई अंकित मूल्यभन्दा बढी रकम सर्वसाधारणबाट माग गर्न दिने गरी आह्वानपत्रमा स्वीकृत गरी कानुनविपरीतको कार्य गरेको उजुरीमा आरोप लगाइएको छ ।

बिमा ऐन, २०७९ को दफा ४५ को उपदफा ५ मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि बिमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयरको अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ । प्रिमियममा सेयर निष्कासन गरेका बिमा कम्पनीहरूलाई सञ्चालन स्वीकृति (लाइसेन्स) दिँदाको प्रावधान र आइपिओ स्वीकृति दिँदा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक, प्रत्याभूतकर्ता, रेटिड, एजेन्सी, बिमा प्राधिकरण र धितोपत्र बोर्डबाट भएका सम्पूर्ण निर्णय, कागजपत्र, पत्राचारहरूको छानबिन गर्न माग गरिएको छ । प्रिमियममा जारी हुन लागेका अन्य कम्पनीको सेयर निष्कासनसम्बन्धी सम्पूर्ण पक्रिया तत्काललाई रोकी धितोपत्र बोर्डले ०७७ सालमा जारी गरेको बुक बिल्डिङ कार्यविधिअनुरूप मात्र जारी गराउने गरी तत्काल रोक्नुपर्ने लगानीकर्ताको माग छ ।