मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २५ बिहीबार
  • Wednesday, 18 December, 2024
६ वर्षअघि क्यानडा गएका विपिन तिवारी र अजय बर्मा दसैँ मनाउनका लागि मंगलबार राति त्रिभुवन विमानस्थलमा ओर्लंदै । तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका
नवीन अर्याल काठमाडाैं
मुना कुँवर काठमाडाैं
२o८o असोज २५ बिहीबार १o:२३:oo
Read Time : > 5 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँ लिएर आए परदेशी 

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडाैं
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २५ बिहीबार १o:२३:oo

नेपालीहरूको महान् चाड दसैँ–तिहार नजिकिँदै छ । दसैँ–तिहारलाई उमंगका साथ मनाउन मानिसहरू तयारीमा जुटेका छन् । विभिन्न देशमा रहेर अध्ययन, रोजगारी तथा पेसा–व्यवसाय गरिरहेका नेपालीहरूसमेत स्वदेश फर्कने क्रम बढेको छ । कोभिड संक्रमणका कारण पनि यसअघिका दुई–तीन वर्ष विदेशमा रहेका नेपाली घर फर्कन पाएका थिएनन् । त्यसैले यसपटक चाडपर्व मनाउन नेपाल फर्कने परदेशीको घुइँचो लागेको छ । 

उदयपुरका ३८ वर्षीय प्रेम खड्का वैदेशिक रोजगारीका लागि कतार गएको १० वर्षपछि मंगलबार राति नेपाल आएका छन्, त्यो पनि दसैँको अवसर पारेर । उनी कतारमा उत्पादन कम्पनीमा काम गर्छन् । राम्रो पारिश्रमिक पाएपछि उनले कतारमा नै रोजगारी गरिरहेका छन् । खड्का कतार गएदेखि दसैँको अवसरमा भने घर आउन पाएका थिएनन् । अरू कर्मचारीको छुट्टी मिलाउँदा उनलाई दसैँमा नेपाल आएर परिवारसँग चाडपर्व मनाउने मौका मिलेको थिएन । तर, एक दशकको पर्खाइपछि उनी यसपटक भने आफ्नो परिवारसँगै दसैँ मनाउँदै छन् । यो सम्झेर पनि उनी निकै पुलकित छन् । 

दसैँमा नेपाल आउन पाउँदा धेरै खुसी लागेको खड्काले बताए । परिवारलाई भेट्न आतुर खड्काले आफ्नो परिवारसँग चाडपर्व मनाउन पाउँदाको खुसी नै फरक भएको बताए । ‘आफ्नो परिवारभन्दा ठूलो के नै हुन्छ र, त्यो पनि चाडपर्वमा,’ उनले भने । यसपटक परिवारसँग बसेर दसैँ–तिहार मनाएर मात्रै फर्कने उनको योजना छ । 

नवलपरासीका विपिन तिवारी क्यानडा गएको ६ वर्षपछि मंगलबार राति स्वदेश फर्केका छन् । उनी उच्च शिक्षा अध्ययनका लागि क्यानडा गएका हुन् । परदेसिएपछि तिवारी पनि पहिलोपटक दसैँ मनाउनका लागि नेपाल फर्किएका हुन् । दसैँमा घर आउन पाउँदा निकै उत्साहित भएको उनले बताए । त्रिभुवन विमानस्थलमा ओर्लिएर आफन्तलाई कुरिरहेका विपिनले बितेका वर्षमा दसैँको दिनमा पनि क्यानडामा काम नै गरेर बिताएको खल्लो अनुभव हामीसँग साटे । ‘क्यानडामा रहँदा दसैँका दिनमा पनि ड्युटीमा नै जानुपथ्र्यो । यसो समय मिल्यो भने सकेसम्म साथीभाइ भेटघाट गर्ने गरिन्थ्यो,’ उनले भने । 

तर, यो वर्ष भने उनी परिवारसँग रमाइलो गरेर दसैँ मनाउने भनेर निकै उत्साहित छन् । क्यानडा बस्दा भने उनले दसैँमा खसीको मासु सम्झिने गरेको बताउँछन् । ‘दसैँ भन्नेबित्तिकै खसीको मासुको याद आउँछ । म क्यानडामा त्यही कुरा बढी सम्झन्थेँ, अनि परिवारसँगै बसेर टीका लगाएको एकदम याद आउँथ्यो,’ उनले भने । ६ वर्षपछाडि उनी दसैँमा खसीको मासुको स्वाद लिँदै टीका–जमराका साथ अग्रजको आशीर्वाद लिएर दसैँ मनाउन पाउँदा निकै खुसी छन् । 

जापान गएकी बुटवल (मुर्गिया)की कविता विष्ट मंगलबार बेलुका त्रिभुवन विमानस्थलमा ओर्लिइन् । उनलाई लिन उनकी दिदी विमानस्थल आइपुगेकी थिइन् । विष्ट एयरपोर्टबाहिर आउनेबित्तिकै दिदी–बहिनीले अंकमाल गरिहाले । आँसु र हाँसोसँगै एक–अर्कालाई अभिवादन गरे । जापान गएदेखि विष्टले परिवारसँग बसेर दसैँ मनाउन पाएकी छैनन् । कम्पनीको नियमअनुसार नै छुट्टी पाउने हुँदा उनलाई दसैँमा नेपाल आउने मौका मिलेको थिएन । तर, यसपटक भने उनले कम्पनीबाट दसैँमा नेपाल आउन छुट्टी पाएकी छिन् । 

उसो त विष्टले जापानमा पनि दसैँ मनाएकी थिइन् । तर, परिवारविनाको दसैँ ‘पानीविनाको माछाको छटपटी’जस्तो भएको उनको अनुभव छ । दसैँमा आफन्तसँग भेटघाट गर्दा पाइने आफ्नोपनको आनन्द जापानको रौनकले पूर्ति गर्न नसक्ने उनको भनाइ छ । ‘दसैँ भनेकै परिवार रहेछ । जस्तो ठाउँमा पुगे पनि जस्तो मिठो खान र लाउन पाए पनि परिवार छैन भने दसैँ दसैँजस्तो नहुने रहेछ,’ उनले भनिन् । जापान बस्दा दसैँमा नेपालमा पिङ खेलेको, साथीहरूसँग मिलेर टीका लगाउन हिँडेको खुब याद आउने उनले बताइन् । 

सात वर्षअघि अमेरिका गएका धादिङका ३५ वर्षीय विकास लामिछाने पनि यसपटक परिवारसँगै बसेर दसैँ मनाउन नेपाल आएका छन् । उनलाई डिभी परेपछि परिवारसहित अमेरिका गएका थिए । अति विकसित सुविधासम्पन्न मुुलुकले उनको जीवनशैली बदलिदिए पनि मन भने बदल्न सकेन । अमेरिका गएदेखि उनी प्रत्येक वर्ष आउने दसैँ–तिहारमा धादिङमा रहेका आफ्ना परिवार अनि साथीभाइलाई सम्झिरहन्थे । 

यसपटक भने लामिछाने दसैँ–तिहार मनाउने गरी नेपाल आएका छन् । आमाबुबाको हातबाट टीका लगाउन उनी एक्लै नेपाल आएका छन् । छोराछोरीको पढाइका कारण परिवार आउन नपाएको उनले बताए । त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदै गर्दा उनले जन्मभूमिमा टेक्दाको अनुभव सबैभन्दा सुखद रहेको बताए । अमेरिकामा पनि उनीहरू दसैँ–तिहार त मनाउँछन्, तर नेपालको जस्तो उत्साह नहुने उनले सुनाए । ‘अमेरिकामा दसैँ–तिहारको दिनमा पनि काममा जानुपर्छ । समय मिल्यो भने साथीभाइ मिलेर रमाइलो गर्छौं,’ उनले भने । तर, यसपटक भने परिवारसँगै सबै कुरा भुलेर दसैँमा रमाउने उनको योजना छ । 

वैदेशिक रोजगारीका लागि सप्तरीका शत्रुघन खङ्ग कतार गएको दुई वर्ष भयो । उनले दुई वर्षको भिसा पाएर रोजगारीमा गएका थिए । मिहिनेती उनलाई कम्पनीले राम्रो काम गरेको पाएपछि भिसा अवधि थप गरिदिएको छ । तर, उनी यसपटक बिदा लिएर दसैँ–तिहार मनाउन नेपाल आइपुगेका छन् । मंगलबार बेलुका त्रिभुवन विमानस्थलमा भेटिएका खङ्गले दुई वर्षपछि दसैँ–तिहार मनाउन नेपाल आउँदा खुसीको सीमा नै नरहेको बताए । ‘कम्पनीले भिसा अवधि थपिदिएको छ । तर, म अहिले छुट्टी लिएर नेपाल आएको हो,’ उनले भने । 

चाडपर्वमा घरको धेरै याद आउने उनले बताए । ‘घरमा छोराछोरी, श्रीमती छन् । आफू नहुँदा उनीहरूलाई नि दसैँ–तिहार खल्लो हुने गरेको सुनाउँछन् । उता मलाई पनि न्यास्रो लाग्ने गरे पनि दुःख लुकाएर बस्ने गरेको छु,’ उनले भने । तर, यसपटक कम्पनीमा कुरा गरेर छुट्टी मिलाएर आएको उनले बताए । 

नवलपरासीका अजय बर्मा ६ वर्ष भयो, क्यानडा गएको । उनी उच्च शिक्षा अध्ययनका लागि क्यानडा गएका हुन् । अध्ययन सकिएपछि अहिले उनी उतै रोजगारी गर्छन् । क्यानडा गएपछि उनी एकपटक नेपाल आएका छन् । तर, दसैँमा भने ६ वर्षयता पहिलोपटक नेपाल आएको उनले बताए । परिवारसँगै दसैँ मनाउन पाउँदा बर्मा भने दंग छन् । त्रिभुवन विमानस्थलमा ओर्लिएर पार्किङ क्षेत्रमा आफ्नो परिवार कुरिरहेका बर्माले विमानबाट झरेर आफ्नो भूमिमा टेक्दा आरामको श्वास फेर्न पाइएको बताए । ‘आफ्नो देश भनेको आफ्नै रहेछ । मैले जहाजबाट ओर्लेपछि आफ्नो जन्मभूमिमा टेकेर श्वास फेर्न पाउँदा स्वर्गको अनुभूति गरेँ,’ उनले भने । त्यसमा पनि दसैँ–तिहार मनाउन पाउनुको खुसीलाई व्यक्त गर्न नसक्ने उनले बताए । 

क्यानडामा हुँदा दसैँको दिनमा घरको चहलपहल, पारिवारिक भेटघाट, देउसी–भैलो खेल्ने यादले दुःखी बनाउने गरेको उनले सुनाए । ‘यसपटक त्यो सबै रहर पूरा गर्नेछु,’ उनले भने । 

गल्कोटकी कमला खत्री वैदेशिक रोजगारीका लागि जापान गएको ६ वर्ष भयो । कमला जापानमा श्रीमान् र दुई छोराछोरीका साथमा नै बस्छिन् । उनी यसपटक दसैँ–तिहार मनाउन परिवारसहित नेपाल आएकी छिन् । त्रिभुवन विमानस्थलमा उनलाई फुपू र बहिनी लिन आएका थिए । लामो समयपछिको भेटघाटले उनी खुसी देखिन्थिन् । 

कमलालाई जापानमा हुँदा दसैँको समयमा घर र परिवारको याद धेरै आउने गरेको बताइन् । ‘मलाई त दसैँमा मामाघरमा टीका लगाउन गएको, साथीहरूसँग पिङ खेल्न हिँडेको खुब याद आउँथ्यो,’ उनले भनिन् । हुन त जापानमा सबै कुरा छन् । पैसा भए सबै कुरा पाइन्छ । तर, चाडपर्व परिवारसँग मनाउँदाको खुसी, मामाघर जाँदाको खुसी साथीहरूसँग डुल्दाको खुसी भने नपाइने उनले सुनाइन् । ‘चाडपर्व त परिवारको साथ नै रमाइलो हुने रहेछ । परदेशमा जति धेरै मान्छे भए पनि आफ्नोपन भने नहुने रहेछ,’ उनले सुनाइन् । 

काठमाडौं वनस्थलीका रमेशराज जैसी जापानमा नै व्यवसाय गर्छन् । विगत १० वर्षदेखि जापानमा बस्दै आएका जैसी प्रत्येक वर्ष नेपाल आउँछन् । तर, दसैँ–तिहार मनाउनका लागि नेपाल आउने मौका भने विरलै पाउँछन् । यसपटक उनी पनि दसैँ–तिहारको छेको पारेर नेपाल आएका छन् । उनलाई लिन त्रिभुवन विमानस्थलमा उनकी श्रीमती, छोरा, छोरी आएका थिए । विमानस्थलबाट बाहिर निस्कनेबित्तिकै उनलाई परिवारले घेरिहाले । उनको परिवारमा अहिलेसम्मकै ठूलो खुसीको माहोल देखिन्थ्यो । 

दसैँ–तिहारजस्तो चाडपर्वमा परिवारसँग हुँदा आफूभन्दा पनि परिवार बढी खुसी हुने उनले बताए । ‘अब त जे गरे पनि छोराछोरीका लागि रहेछ । यिनैको खुसीका लागि पनि चाडपर्वमा आउन मन लाग्छ,’ उनले भने । तर, सधैँ यस्तो मौका मिल्दैन । सबै कुरा मिलाएर यसपटक परिवारसँगै चाडपर्व मनाउन आएको उनले बताए । 

बागलुङका रामप्रसाद पाध्ये लामो समयपछि दसैँ–तिहार मनाउन नेपाल आएका छन् । वैदेशिक रोजगारीका लागि मलेसिया, थाइल्यान्ड, कम्बोडियालगायतका विभिन्न मुलुकमा बसेका पाध्ये अहिले साउथ अफ्रिकालाई कर्मभूमि बनाएर बसेका छन् । विगत १७ वर्षदेखि उनले अफ्रिकामा व्यवसाय गर्दै आएका छन् । पाध्ये समय–समयमा नेपाल त आउँछन्, तर चाडपर्व मनाउनका लागि नेपाल आउने मौका भने कमै पाउने गरेको उनले बताए । बिदेसिएपछि पाध्येले तीन–चारवटा दसैँ परिवारसँगै मनाएका छन् । दसैँ–तिहारमा परिवारसँगै हुन पाउँदा खुसी लाग्ने गरेको उनले बताए । ‘अरूको देशमा हाम्रो चाडपर्वको मतलब हुँदैन । त्यसैले चाडपर्वमा पनि हामी काम गरिरहेका हुन्छौँ । दसैँ आउँदा परिवारलाई सम्झने मात्रै हो,’ उनले भने । यसपटक पनि उनी मेसो मिलाएर दसैँ–तिहार मनाउन घर आइपुगेका छन् । 

झापाका पंकज तिमिल्सिना श्रीमती निर्जा तिमिल्सिनासहित नेपाल आइपुगेका छन् । उनीहरू वैदेशिक रोजगारीका लागि विगत आठ वर्षदेखि युनाइटेड अरब इमिरेट्सको आबुधाबीमा बस्छन् । आबुधाबी आएदेखि उनीहरू दसैँ–तिहार मनाउन नेपाल भने आएका थिएनन् । कोभिड संक्रमणको कारण उनीहरू चाहेर पनि नेपाल आउन सकेनन् । तर, यो वर्ष श्रीमान्–श्रीमती नै दसैँ–तिहार मनाउन नेपाल आएका छन् । 

विदेशमा बस्दा दसैँ–तिहारको झनै महत्व हुने गरेको पंकजको अनुभव छ । ‘नेपालमा हुँदा दसैँ–तिहार सामान्य लाग्थ्यो । तर, विदेशमा बसेपछि चाडपर्वको एकदमै महत्व हुने रहेछ,’ उनले भने, ‘चाडपर्व आएपछि परिवारको फोन आउँछ । परिवारले पनि नेपाल आइदिए हुन्थ्यो भन्नुहुन्छ । तर, आफूखुसी नेपाल आउन नपाउने उनले गुनासो गरे । ‘विदेशमा कम्पनीको आफ्नै नियम हुन्छ । नियमअनुसार दसैँ–तिहार छुट्टी पाइँदैन,’ उनले भने । तर, यसपटक भने दुवैजनाले बिदा मिलाएर दसैँ मनाउन नेपाल आएको बताए । 

दसैँ–तिहार नेपालीहरूको सबैभन्दा ठूलो चाडपर्व भएकाले परिवारका अधिकांश सदस्य जमघट भई रमाइलो गर्ने र मिठो खाने विगतदेखिकै परम्परा छ । यही मौकामा विभिन्न कारणले बिदेसिएका नेपाली घर आउँदा धेरैजसो आफन्तसँग भेटघाट गर्ने र आशीर्वाद लिने गर्छन् । चाडपर्वमा घर फर्कने नेपालीको संख्या बढेकै कारण अहिले बाहिरिनेभन्दा देशभित्र आउनेको संख्या धेरै भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव तिवारीले जानकारी दिए । अहिले दैनिक औसतमा १४ हजार यात्रुले त्रिभुवन विमानस्थलमा उडान र अवतरण गरिरहेको तथा एक सयवटासम्म अन्तर्राष्ट्रिय उडान हुने गरेको महाप्रबन्धक तिवारीले जानकारी दिए ।

पर्यटकीय सिजन पनि सुरु भएकाले नेपाल भित्रिनेको संख्या बढेको हो । ९ अक्टोबरमा त्रिभुवन विमानस्थल भएर एकै दिन १५ हजार ७३० यात्रु आवातजावत गरेको विमानस्थलको तथ्यांक छ । सो दिन एक सय १० वटा फ्लाइट मुभमेन्ट (उडान–अवतरण) भएका थिए । यो संख्या कोभिडपछिकै सबैभन्दा धेरै हो । 

अहिले दैनिक सरदर १४ हजार अन्तर्राष्ट्रिय प्यासेन्जर र करिब सय फ्लाइट मुभमेन्ट भइरहेको छ । यो कोभिड अवस्थाकै तथ्यांक हो । अहिले विभिन्न देशबाट दसैँ मनाउन फर्किनेहरू बढेका छन् । अहिले करिब ७० प्रतिशत नेपाल भित्रिने र ३० प्रतिशत नेपालबाट बाहिरिने यात्रु छन् ।