१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षण गर्दै नेपाली क्रिकेट टोली
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालले पहिलो खेल युएईसँग खेल्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१o:oo

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । सिरिजमा घरेलु टोली नेपाल, युएई र हङकङले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिनका सबै खेल मूलपानी मैदानमा हुनेछन् । नेपालले १ कात्तिकमा कठिन प्रतिद्वन्द्वी युएईसँग मूलपानी क्रिकेट मैदानमा खेल्नेछ ।

नेपालले २ कात्तिकमा हङकङसँग खेल्नेछ । नेपालले हङकङसँग ४ कात्तिकमा पुनः खेल्नेछ । ६ कात्तिकमा नेपालले युएईको सामना गर्नेछ । सिरिजका दुई शीर्ष टोलीले फाइनल स्थान बनाउनेछन् । फाइनल १० कात्तिकमा टियू क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ । क्यानले आइसिसी विश्वकप टी–२० अन्तर्गत एसिया क्षेत्र छनोटअघि युएई र हङकङ सम्मिलित सिरिज आयोजना गरेको हो । 

एसियाडको अनुभव
चीनको हाङझाउमा गत आइतबार १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) सम्पन्न भएको थियो । एसियाडअन्तर्गत क्रिकेटमा नेपाली टोलीले क्वार्टरफाइनलमा भारतको ‘बी’ टोलीसँग प्रतिस्पर्धा गरेको थियो । एसियाडको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भयो । लामो समयपछि टी–२० फम्र्याटमा स्पर्धा गरेका नेपाली क्रिकेटरले आइपिएलका निकै अनुभवी भारतीय खेलाडीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । 

हाङझाउ एसियाडमा नेपालले मंगोलियाविरुद्ध समूह चरणको खेलमा १० विश्व रेकर्ड राखेको थियो । कुशल मल्लले कम बलमा शतक तथा दीपेन्द्रसिंह ऐरीले कम बलमा अर्धशतकीय इनिङ्स मंगोलियाविरुद्ध राखेका थिए । अभिनाश बोहोराले माल्दिभ्सविरुद्ध नेपालका लागि पहिलोपटक टी–२० खेलमा ६ विकेट लिए । 

एसियाडमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली स्वदेश फर्केलगत्तै टी–२० विश्वकप छनोटको तयारीमा लागेको छ । नेपाली क्रिकेट टोली तयारीका लागि राजस्थान रोयल्सको एकेडेमीमा छ । इन्डियन प्रिमियर लिग (आइपिएल)को पूर्वविजेतासमेत रहेको राजस्थानको एकेडेमीमा नेपाली क्रिकेटरले १० दिनको प्रशिक्षण लिनेछन् ।  

शीर्ष दुई टोली विश्वकपमा 
आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट १३ देखि २० कात्तिकसम्म मूलपानी र टियू क्रिकेट मैदानमा हुँदै छ । समूह ‘ए’मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् । पछिल्लो समयमा नेपालले लगातार अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धामा राम्रो प्रदर्शन र नतिजा निकालेका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा नेपाललाई उपाधिको प्रमुख टोलीका रूपमा हेरिएको छ । 

ad
ad