
तीन वर्ष बाढीले क्षतिग्रस्त बनेको सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ अहिले भएको भन्दा केहीमाथि सार्नुपर्ने भएको छ । निर्माणाधीन अवस्थामै रहेको ‘हेडवर्क्स’ मा तीन वर्षपहिले आएको बाढीले क्षति पुर्याएको थियो ।
क्षतिपछि दातृ निकाय एसियाली विकास बैंक (एडिबी)ले गरेको अध्ययन प्रतिवेदनका आधारमा त्यसलाई स्थानान्तरण गर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ । बैंकले अध्ययन गरिसके पनि अध्ययनपश्चात् आधिकारिक सिफारिस आउन बाँकी रहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अध्ययन प्रतिवेदनले हेडवक्र्स स्थानान्तरण गर्नुपर्ने भनेपछि सोही आधारमा स्थानान्तरण गरिने उनले बताए ।
नयाँ हेडवर्क्स निर्माण गर्दा पहिलाको सँगै थप संरचना पनि आवश्यक पर्ने पन्तको भनाइ थियो । नयाँ हेडवक्र्सबाट मुख्य सुरुङसम्म आउने गरी एउटा सुरुङ बनाउनुपर्ने देखिएको बताउँदै उनले अध्ययनको सुझावका आधारमा निर्णय हुन बाँकी रहेको जानकारी दिए ।
आयोजनास्थलमा कुनै पनि संरचना पुनर्निर्माणका लागि सबैभन्दा पहिले पहुँचमार्ग (सडक) आवश्यक रहेको भन्दै सूचना अधिकारी पन्तले तीन वर्षपहिले आएको बाढीले मेलम्चीबाट आयोजना स्थलसम्मको सडक बगाएको बताए । स्थानीय पालिका र आयोजनाको समन्वयमा अस्थायी रूपमा आवतजावतका लागि सडक खुलाइए पनि यस वर्षको बाढीले उक्त सडक पनि बगाएको उनले जानकारी दिए । आयोजनामा सबैभन्दा पहिले प्रवेशमार्ग बनाउनुपर्ने र यससम्बन्धी निर्णय आएपछि मात्रै काम हुने पन्तको भनाइ छ । उनका अनुसार यसअघि निर्माण भएको हेडवक्र्सभन्दा झन्डै एक किलोमिटरभित्र बनाउनुपर्नेछ ।
मेलम्ची नदीको पानी काठमाडौं उपत्यकामा ल्याउने गरी सुरु गरिएको आयोजना दुई दशक नाघे पनि सम्पन्न भइसकेको छैन । आयोजनाले अम्बाथानबाट सुन्दरीजलसम्मको मुख्य सुरुङ, पानी डाइभर्ट गर्नका लागि हेडवक्र्स र सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो । ती संरचनामध्ये हालसम्म सुरुङ र प्रशोधन केन्द्र पूर्ण रूपमा सम्पन्न भएर तीन वर्ष पहिलेदेखि पानी वितरणका लागि सञ्चालनमा छन् । हेडवक्र्स भने सम्पन्न नहुँदै बाढीका कारण क्षतिग्रस्त भएको आयोजना कार्यालयले जनाएको छ । हेडवक्र्स प्रयोग गर्न नमिलेपछि यसअघि आयोजनाले अस्थायी बाँधमार्फत पानी ल्याउने गरेको थियो ।