यदि तिमी सडकका मानिसको नेता बन्न चाहन्छौ भने तिमीले सडकछाप भाषा बोल्नुपर्नेछ : गोयबल्स कुनै राजनेताको भाषणको मूल्य कुनै प्राध्यापकमाथि पर्ने प्रभावमा नभई सडकमा हिँड्ने आममानिसमा पार्ने प्रभावले तय गर्छ : एडोल्फ हिट्लर भारतीय जनता पार्टी (भाजपा)का सांसद रमेश बिधुडीले मुसलमान सांसद कुँवर दानिस अलीलाई गालीगलोज गर्दै संसद्को विशेष सत्र समाप्त भएको छ ।
केही भलाद्मी भाजपाका गालीगलोज गर्ने सांसदको गालीगलोजयुक्त भिडियोले स्तब्ध भए होलान्, तर हामीले सन् २०१४ मा जुन यात्रा तय गरेका थियौँ, त्यसको गन्तव्य यो गालीगलोज पनि थियो । हाम्रो सरकार, हाम्रा नेताको मुसलमानविरोधी छवि हामीले बारम्बार देखिरहन आवश्यक छ । अली आफैँले आफूमाथि प्रयोग गरिएका गालीगलोज मिडियासामु दोहो¥याएका छन् । एक मुसलमान सांसद हामीलाई यस्तो भाषा भाजपाको हो भनेर याद दिलाइरहेका छन् ।
वास्तवमा यो हाम्रो मुलुकको असली छवि हो, सबैले हेरून् । प्रायः ट्विट गरिरहने प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना सांसदको यो मुसलमान गालीगलोजमा मौन रहनु अनौठो होइन । ससाना मुद्दामा विपक्षी सांसदलाई निलम्बन गर्ने लोकसभा अध्यक्षले गालीगलोज गर्ने सांसदलाई चेतावनी दिएर छोड्नु पनि आश्चर्य होइन । मोदीको नेतृत्वले बकाइदा मुसलमानविरोधी गालीगलोजको संस्कृति निर्माण गरिरहेको छ । यसैकारण मुसलमान समुदायबाट ठूलो लाभ लिएका सांसदद्वय डाक्टर हर्षवर्धन र वकिल रविशंकरप्रसाद आफ्ना मित्र सांसदको गालीगलोजमा मजा मानिरहेको दृश्य कसैबाट छिपेको छैन । बिधुडीले जे बोलेका छन्, यी सांसदद्वयको मनमा पहिल्यै थियो भन्ने देखिन्छ, नभए यी भाजपामा कसरी अटाउँथे ?
जब कुनै समुदायका प्रतिनिधिलाई खुलमखुल्ला गाली दिइन्छ, तब सिंगो समुदाय बिचरापनको अवस्थामा धकेलिन्छ
जब भाजपा त्यसमा पनि मोदीको नेतृत्वमा यो मुलुकका हिन्दूको एक ठूलो तप्काको इच्छा पूरा गर्न सरकार बनिरहेको थियो, तब संसद् गालीगलोजको मञ्च बन्छ भन्नु असम्भव थिएन । सन् २००२को मुसलमानविरोधी हिंसाका लागि जिम्मेवार नरेन्द्र मोदीलाई मुलुकका ठूला उद्योगपति र बुद्धिजीवीले मुलुकको आशाका रूपमा प्रस्तुत गर्दै काँधमा चढाएर संसद् र सरकारसम्म पु¥याए । मोदीले हिंसाप्रति आफ्नो लगाव र बोलीमा कहिल्यै अस्पष्टता व्यक्त गरेनन् ।
मुसलमान र इसाईप्रति आफ्नो घृणालाई कहिल्यै लुकाएनन् । उनले मुसलमानको हितको अर्थ हिन्दूको अहित हो भन्ने बारम्बार व्यक्त गरेका छन् । ‘हामी पाँच हाम्रा पच्चीस’ (चार श्रीमती पच्चीस सन्तान) भन्ने भनाइ वा गुजरातमा सन् २००२ को हिंसाबाट विस्थापित मुसलमान समुदायको राहत शिविरलाई आतंकवादी उत्पादन कारखानाको संज्ञा दिएर मोदीले म यस्तै हुँ भन्ने स्पष्ट पारिसकेका थिए । अर्थात् तिमीहरूले यसै रूपमा मलाई नेताका रूपमा चुन्ने हो । अन्ततः नरेन्द्र मोदीलाई भारतका भद्र हिन्दू समाजले आफ्ना नेताका रूपमा चयन गर्यो ।
नश्लीय हिंसा वा घृणा र असभ्यताबीचको सम्बन्ध स्पष्ट छ । अश्लीलतालाई नश्लीय हिंसाबाट अलग्याउन सकिँदैन । गालीगलोज घृणा र हिंसाको शाब्दिक अभिव्यक्ति हो । यसलाई भारतका दलितले राम्रोसँग बुझेका छन् । जसलाई गालीगलोज गरिँदै छ, उसले जवाफ दिन सक्दैन भन्ने गालीगलोज गर्नेलाई राम्रोसँग थाहा छ । गालीगलोज गरिने व्यक्तिलाई नीच देखाउन बारम्बार तिम्रो केही औकात छैन भनेर गालीगलोज गरिन्छ । मुसलमानलाई यस्ता गालीगलोज सडक, विद्यालयलगायत स्थानमा दिइन्छ । आधुनिक प्रविधिमा जानकार सामाजिक सञ्जालका माध्यमबाट मुसलमानलाई गालीगलोज गर्छन् । मुसलमान जावाफी गालीगलोज दिन सक्दैनन्, यो सर्वविदित छ । त्यसैगरी दलितलाई गालीगलोज गर्ने सवर्णलाई पनि तिनले गालीगलोज फर्काउन सक्दैनन् भन्ने थाहा छ ।
भाजपा सांसदले मुसलमान सांसदलाई दिएको गालीगलोजबाट हिन्दू समाज अछुतो छैन । यी गालीगलोज पवित्र आनन्द दिने उद्देश्यले हिन्दूलाई तिनका चाडपर्वमा गीत र नाराका रूपमा घन्काइन्छन् । अहिलेसम्म यस्ता गालीगलोज बजाउने लाउडस्पिकरलाई कुनै हिन्दूले बन्द गरेको देखिँदैन । अहिले अधिकतम हिन्दूले मुसलमानविरोधी गालीगलोज ओकल्ने र हिंसा भड्काउने ‘बाबा’ र ‘साध्वी’लाई पछ्याउँछन् ।
गाली सुनेर मौन रहनुपर्ने बाध्यताको अपमानलाई बुझ्न गाह्रो छैन । जब यो बाध्यता सिंगो समुदायको हुन्छ भने सो समुदायको आत्मछविको अवस्था के होला, के हामी यसबारे अनभिज्ञ छौँ ? जब कुनै समुदायका प्रतिनिधिलाई खुलमखुल्ला गाली दिइन्छ, तब सिंगो समुदाय बिचरापनको अवस्थामा धकेलिन्छ । ‘यी गालीगलोज नौला होइनन्, मुसलमान त हरेक दिन आमहिन्दूबाट यी गालीगलोज सुन्छन्, यसमा यतिविधि स्तब्ध हुनुपर्ने के छ ?’ भन्दै हामी भाजपा सांसदको धृष्टता र कुकृत्यको गम्भीरतालाई मत्थर बनाइरहेका छौँ । जे सडकमा हुने गर्छ, त्यो संसद्मा पनि हुन्छ । मुसलमानविरोधी गालीगलोजको विशेषाधिकार सांसदसँग छ । संसद्लाई मुसलमानको अपमान गर्ने ठाउँ बनाउन सकिन्छ । संसद्मा हिन्दू शक्तिको प्रतीक सेंगोल (राजदण्ड) स्थापनाको पूर्ण अर्थ भाजपा सांसदको मुसलमानविरोधी गालीगलोजबाटै पुष्टि हुन्थ्यो ।
गालीगलोज गर्नेको असलियत, सभ्यता, सुसंस्कृत हुँ भन्ने दाबीको पोल पनि यो प्रकरणसँगै खुलेको छ । राष्ट्रिय स्वयंसेवक संघ, जसको राजनीतिक शाखा भाजपा हो, त्यहाँ गालीको यो संस्कृति निर्माण हुन्छ । यो संस्कृतिमा मुसलमानविरोधी मलजलबाट हृष्टपुष्ट बनाइन्छ । यसलाई बारम्बार भाजपाका नेता आफ्नो बयान र कृत्यबाट प्रमाणित गरिरहन्छन् । सांसद बिधुडी त केवल हालसालैका उदाहरण हुन् । दुर्वचन र अपमान भाजपाको संस्कृति हो र यसलाई अन्य दलबाट भाजपा प्रवेश गरेका नेताको गालीगलोजको प्रतिस्पर्धाले पनि पुष्टि गर्छ ।
यो सब हुँदै आइरहेको छ भनेर चुप रहन मिल्दैन । यदी हिन्दू यो सभ्य विश्वको नागरिकका रूपमा स्थान खोज्छन् भने तिनले गालीगलोजयुक्त सांस्कृतिक राष्ट्रवादलाई मत दिन सक्दैनन् ।
(अपूर्वानन्द दिल्ली विश्वविद्यालयका हिन्दीका शिक्षक हुन्) द वायरबाट