नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै थापाले यस्तो बताएका हुन्।
विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले ती विषय सच्याइने आश्वासन दिएका छन्। ‘विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन कमजोरी छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनीभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बाेधन गर्ने कुरामा प्रतिबद्ध छाैँ,’ विज्ञप्तिमा उल्लेख छ।
संसद्को विवेकमाथि विश्वास गरेर रचनात्मक समाधानको खोजीका लागि मद्दत गर्न महामन्त्री थापाले शिक्षकहरूलाई आग्रह गरेका छन्। उनले भनेका छन्, ‘अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु।’