
- १८ जिल्ला न्यायाधीश, ६ कानुन व्यवसायी र तीन न्याय सेवाका कर्मचारी सिफारिस
- उच्चमा अझै मुख्य न्यायाधीशसमेत गरी २९ न्यायाधीश खाली, सर्वोच्चमा ६ न्यायाधीशको पद रिक्त
न्यायपरिषद्ले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीश र कानुन व्यवसायीसहित उच्चका लागि न्यायाधीश सिफारिस गरेको हो । उच्चमा अझै २९ न्यायाधीशको पद रिक्त छ ।
परिषद् बैठकले गरेको निर्णयमा जिल्ला न्यायाधीशकै बाहुल्य छ भने न्याय सेवामा कार्यरत सरकारी अधिकारीहरू पनि सिफारिस भएका छन् । जिल्ला न्यायाधीशबाट १८ र ६ जना कानुन व्यवसायीबाट सिफारिस भएका छन् । यसबाहेक नायब महान्यायाधिवक्ता एवं बेपत्ता छानबिन समितिका सचिव श्यामकुमार भट्टराई, सरकारी वकिल, न्याय प्रशासन र कानुन समूहबाट पनि एक–एकजना सिफारिस भएका छन् ।
परिषद् प्रवक्ता मानबहादुर कार्कीले गत आर्थिक वर्षमा सूचीमा परेका नामबाट उच्चको न्यायाधीशमा सिफारिस भएको बताए । ५६ रिक्तमध्ये २७ को पदपूर्ति भए पनि अझै मुख्य न्यायाधीशसमेत गरी २९ पद खाली रहेको परिषद्ले जनाएको छ । उच्चको बाँकी पदका लागि न्यायाधीश नियुक्तिको मापदण्डअनुसार प्रक्रिया अघि बढ्ने प्रवक्ता कार्कीको भनाइ छ । एक सय ६० जनाको दरबन्दी रहेको उच्च अदालतमा पछिल्लो समय एकतिहाइ न्यायाधीशको पद रिक्त थियो ।
हाल बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा रहेका नायब महान्यायाधिवक्ता श्यामकुमार भट्टराईका साथै सर्वोच्चका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीलाई उच्चमा सिफारिस गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुशील कोइरालाको नाम पनि परिषद्ले सिफारिस गरेको छ ।
जिल्ला न्यायाधीशहरूमा राधाकृष्ण उप्रेती, हरिशचन्द्र ढुंगाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली र योगेन्द्रप्रसाद साह छन् । काठमाडौं जिल्ला अदालतका एक नम्बर न्यायाधीश राजुकुमार खतिवडालाई पनि परिषद् बैठकले सिफारिस गरेको छ । यसैगरी, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला र स्वीकृति पराजुलीका साथै काजीबहादुर राईको नाम सिफारिस भएको छ । अन्य जिल्ला न्यायाधीशहरू रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी, विनोदकुमार पोखरेल पनि उच्चका लागि सिफारिस भएका छन् ।
महोत्तरीका अच्युतमकुमार आचार्य, डोटीका गोविन्द जोशी र झापाका पूर्णप्रसाद राजवंशीको नाम परिषद्ले सिफारिस गरेको छ । तनहुँका यज्ञबहादुर रानामगरको नाम पनि सूचीमा छ । ललितपुरकी पुण्यशिला दवाडी घिमिरे र अर्जुन महर्जनलाई पनि उच्चको न्यायाधीशमा सिफारिस गरिएको परिषद्ले जनाएको छ ।
देशभरका जिल्ला अदालतमा शुक्रबारसम्म ३९ न्यायाधीशको पद रिक्त छ । जिल्ला न्यायाधीशका लागि भएको परीक्षाको नतिजा छिट्टै सार्वजनिक हुने र एक महिनाभित्रमा नियुक्ति टुंगिने परिषद्का प्रवक्ता कार्कीले बताए । परिषद् बैठकले उच्चका ३४ र २६ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ ।
परिषद्मा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अध्यक्ष छन् । सदस्यहरूमा वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, कानुनमन्त्री धनराज गुरुङ छन् । परिषद् सदस्यका रूपमा दुई वरिष्ठ अधिवक्ताहरू रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी छन् ।
सर्वोच्चको न्यायाधीशमा शर्माको नाम अनुमोदन
उच्च अदालतका न्यायाधीश विनोद शर्माको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको छ । सर्वोच्च अदालतको न्यायाधीशका लागि उनको नाम शुक्रबार समितिबाट अनुमोदन भएको हो । पछिल्लोपटक १० भदौमा बसेको न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा उनलाई सिफारिस गर्दै संसदीय सुनुवाइका निम्ति नाम पठाएको थियो । त्यसअघि २१ भदौ ०७९ मा पनि उनको समेत गरी तीनजनाको नाम पठाइए पनि संसद्को कार्यकाल सकिएका कारण नियुक्ति हुन सकेको थिएन ।
न्यायाधीश शर्मालाई पुनः सिफारिस गरिएकोमा नियुक्ति प्रक्रिया अघि बढाउन संसदीय समितिले अनुमति दिएको हो । उनीविरुद्ध एउटा पनि उजुरी परेको थिएन । शर्मा उच्च अदालत जनकपुरमा कायममुकायम मुख्य न्यायाधीश थिए । सर्वोच्चमा प्रधानन्यायाधीशसँगै बढीमा २१ जना न्यायाधीश रहने संवैधानिक प्रावधान छ । अब सर्वोच्चमा ६ न्यायाधीशको पद रिक्त छ ।