१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २८ बिहीबार o९:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दुई महिनापछि तार व्यवस्थापन अभियान फेरि सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार o९:३८:oo

काठमाडौं महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापन अभियानलाई फेरि नियमित गर्ने भएको छ । दुई महिनादेखि रोकिएको यो अभियान बिहीबारदेखि सुरु हुन लागेको हो ।महानगर प्रहरी बलका प्रहरी नायब उपरीक्षक तथा तार व्यवस्थापन संयोजक केदारबहादुर कार्कीका अनुसार बुधबार बैठक बसेर बिहीबारदेखि नै तार व्यवस्थापन अभियानलाई निरन्तरता दिने निर्णय भएको हो ।

‘रोकिएको तार व्यवस्थापन कार्य भोलिदेखि फेरि सुरु गर्ने निर्णय भएको छ,’ संयोजक कार्कीले भने, ‘बीचमा केही व्यक्तिले हामीसँग समन्वयविना नै गौशाला क्षेत्रको तार काटेका थिए । उनीहरूलाई कारबाही गर्‍यौँ । अब हाम्रै निगरानीमा तार काटेर व्यवस्थापन हुन्छ ।’

तार व्यवस्थापनका संयोजक केदारबहादुर कार्की भन्छन्–
महानगरले हालसम्मको तार व्यवस्थापन अभियानबाट एक सय ट्रक तार काटिसकेको छ, तर ती तार व्यवस्थापन गर्न सकिएको छैन । टेकुस्थित वातावरण विभाग परिसरमा ती तार थुपारिएको छ । पुनः प्रयोग गर्न नमिल्ने भएका कारण व्यवस्थापन हुन सकेको छैन । ती तार लिन कोही आए निःशुल्क उपलब्ध गराउँछौँ ।

महानगरले २० असारमा बर्खा सुरु भएको भन्दै १० दिनका लागि तार व्यवस्थापन स्थगित गरेको थियो । २२ वैशाखमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महानगरका मेयर बालेन्द्र साहले अव्यवस्थित तारका कारण आगलागीको जोखिम बढेको र सहर कुरूप बनेको भन्दै गत वर्षको आगलागीको तथ्यांकसहित व्यवस्थापन गर्ने बताएका थिए । उनले फेसबुकमा यस्तो लेखिसकेपछि महानगरले २४ वैशाखमा छलफल गरेर २५ वैशाखबाटै तार व्यवस्थापन सुरु भएको थियो । माइतीघरबाट तार काट्न थालेको महानगरले थापाथली, टेकु, त्रिपुरेश्वर–लैनचौर, न्युरोड गेट–वसन्तपुर गरी चार क्षेत्र बनाएर तार काट्न थालेको थियो । माइतीघरबाट तार काटेर व्यवस्थापन थालेको महानगर कालीमाटी, गौशाला, न्युरोड, झोछेँतर्फ पुगेको छ ।

काटिएका तार अझै व्यवस्थापन भएन
महानगरले हालसम्मको तार व्यवस्थापन अभियानबाट एक सय ट्रक तार काटिसकेको छ । तर, ती तार अझै व्यवस्थापन हुनसकेको छैन । महानगरको वातावरण विभाग परिसर टेकुमा राखिएका ती तार पुनः प्रयोग गर्न नमिल्ने भएका कारण व्यवस्थापन हुन नसकेको संयोजक कार्कीले बताए । ‘थुप्रिएका तार पुनः प्रयोग नहुने रहेछ । तरकारी खेती गर्ने एकजना किसानले लहरे तरकारी खेती गर्नका लागि भनेर एक ट्रक लैजानुभयो । त्यसबाहेक सबै तार टेकुमा थुप्रिएको छ,’ संयोजक कार्कीले भने, ‘करिब एक सय ट्रक तार जम्मा भएका छन् । ती तार कोही लिन आए निःशुल्क उपलब्ध गराउँछौँ ।’

महानगरभित्रका ती तार सम्बन्धित नगर प्रहरीको निगरानीमा हटाउने काम भइरहेको छ । महानगरले तार काटेर व्यवस्थापन गर्ने अभियान थालेपछि गन्जागोल देखिने बिजुलीका पोल भने सफा देखिन थालेका छन् । 

ललितपुरले १० दिनमै व्यवस्थापन गरेको थियो अव्यवस्थित तार
गत १८ फागुनदेखि ललितपुर महानगरपालिकाले पनि अव्यवस्थित तार व्यवस्थान सुरु गरेको थियो । अव्यवस्थित तारका कारण सहर कुरूप देखिएको, दुर्घटना बढेको भन्दै महानगरले अभियान सुरु गरेको थियो । १७ फागुनमा इन्टरनेट सेवा प्रदायक कम्पनी, नेपाल टेलिकम, विद्युत् प्राधिकरणलगायत निकायका प्रतिनिधिलाई बोलाएर अव्यवस्थित तार व्यवस्थापनका लागि छलफल गरेको थियो । १७ फागुनको छलफलमा महानगरका मेयर चिरिबाबु महर्जनले १० दिनभित्र सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन निर्देशनसमेत दिएका थिए । सो निर्देशनअनुसार महानगरले तार व्यवस्थापन गरेको थियो । महानगरले दिएको समयभन्दा तीन दिनअगावै सम्बन्धित निकायले तार व्यवस्थापन गरेको थियो । 

ad
ad
ad
ad