
समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश सभा स्थगन गर्ने निर्णय गरेको छ।
मोर्चाका सदस्यसचिव प्रमेश हमालले दिवंगत नेता नेम्वाङ कम्युनिस्ट आन्दोलनको साझा नेता भएकाले उनको निधनमा शोक मनाउन आजको कार्यक्रम स्थगन गरिएको जानकारी दिए।
नेम्वाङको हृदयाघातबाट गएराति उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो। आज सन्देश सभा सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने कार्यक्रम तय भएको थियो। उक्त प्रदेशमा यसअघि यही भदौ १३ गते हुने भनिएको कार्यक्रम पनि स्थगन गरिएको थियो।
गत असार ४ गते घोषणा गरिएको मोर्चाले अहिलेसम्म गण्डकी, मधेस, लुम्बिनी, बागमती, कोशी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ। मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन्।