१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
सी लिङ ल्यु
२०८० भदौ २४ आइतबार १०:१७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीनमा लैंगिक विभेदले निम्त्याएको लैंगिक असन्तुलन 

Read Time : > 2 मिनेट
सी लिङ ल्यु
२०८० भदौ २४ आइतबार १०:१७:००

चीनमा परम्परादेखि पुरुष उत्तराधिकारी पारिवारिक वंश र थरको निरन्तरताका लागि महत्वपूर्ण मानिँदै आएका छन् 

चीनमा अहिले लैंगिक संकट देखिएको छ । मुलुकमा पुरुषको संख्या महिलाको तुलनामा अधिक छ । सन् ०२२ मा महिलाको जनसंख्या ६९ करोड थियो भने पुरुषको संख्या ७२ करोड २० लाख थियो । यो असमानताका पछाडि सन् २०१५ सम्म चलेको एक सन्तान नीति जिम्मेवार थियो, जसको सम्बन्ध लिंग छनोटका आधारमा हुने गर्भपतनसँग थियो । 

उसो त एक सन्तान नीति निकै कडाइसाथ लागू भएको थियो भन्ने बुझाइ व्यापक छ । तथापि कैयौँ चिनियािँ जोडीले जरिवाना तिरेर वा दोस्रो सन्तानमाथि हुने लाभको वञ्चितीकरण स्विकारेर वा आफूलाई अल्पसंख्यक समुदायको दाबी गरेर दोस्रो सन्तान जन्माएका थिए । यसरी दोस्रो सन्तान जन्माउने अधिकांश जोडीको पहिलो सन्तान बालिका हुने गर्थे । एक सन्तान नीति लिएको ३५ वर्षपछि मात्रै सन् २०१६ मा दुई सन्तान नीति लागू गरियो । सन् २०२१ मा तीन सन्तान नीति लागू गरियो । अहिले पनि बालिकाभन्दा बालकलाई नै प्रश्रय दिने गरिन्छ । परम्परादेखि पुरुष उत्तराधिकारी पारिवारिक वंश र थरको निरन्तरताका लागि महत्वपूर्ण मानिँदै आएका छन् । महिलाले पुरुषसँग विवाह गरेर परिवारको हेरचाह गरून् र छोरा जन्माऊन् भन्ने अपेक्षा गरिन्छ । यसबाहेक कतिपय अवस्थामा छोराले झैँ छोरीले पनि आफ्नो जन्म परिवारलाई आर्थिक रूपमा सहयोग गरून् भन्ने पनि अपेक्षा गरिन्छ । यो सांस्कृतिक मान्यताले आम चिनियाँ युवतीको अमनचैन खोसेको छ । अधिकांश युवतीले परिवारको छोराको अपेक्षाका कारण आर्थिक, श्रम र भावनात्मक उत्पीडन व्यहोर्ने गर्छन् ।

ओड टू जोय (२०१६), अल इज वेल (२०१९) र आई विल फाइन्ड यू ए बेटर होम (२०२०) जस्ता लोकप्रिय चिनियाँ टिभी शृंखलाले समकालीन चिनियाँ समाजमा महिला तथा बालबालिकामाथि भइरहेको पारिवारिक भेदभाव र दुव्र्यवहारमाथि प्रकाश पारेको छ । विभेद र दुव्र्यवहार व्यहोरिरहेका कैयौँ महिला सामाजिक सञ्जालमा बहस गरिरहेका छन् वा पीडा पोखिरहेका छन् । मेरो हालैको अनुसन्धानमा मैले झिहू र बिलिबिलीजस्ता चिनियाँ सामाजिक सञ्जालमा छोरालाई प्राथमिकता दिने थुप्रै पोस्ट र भिडियोको विश्लेषण गरेकी थिएँ । मेरो अनुसन्धानले महिलाहरू जतिसुकै परिपक्व भए पनि शोषणयुक्त सम्बन्धबाट मुक्त हुन निरन्तर चुनौती व्यहोरिरहेका छन् । 

छोरालाई अधिक प्राथमिकता दिने परिवारमा छोरीहरूले जन्मजात आफूलाई परिवारको स्रोतमा पहुँच पाउन अयोग्य पात्रका रूपमा लिन्छन् । यसले महिलामाझ असुरक्षा, न्यून आत्म–सम्मान र परिवारप्रतिको आजीवन बोझ बोकाइदिन्छ ।

माध्यमिक विद्यालयकी एक विद्यार्थीले परिवारलाई आर्थिक रूपमा सहयोग गर्नुपर्ने अपेक्षाका कारण आफ्नो भाग्य निर्माण भइरहेको जनाएकी छिन् । उनले मूल्यहीनताबाट गुज्रिरहेको, प्रेमबाट वञ्चित भएको र आत्महत्या गर्ने विचारसमेत आउने गरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेकी छिन् । मेरी आमा निकै फरासिली भएर पनि होला, उनी मलाई सीधै ‘तिमीलाई बुढेसकालका लागि पालेकी हुँ । तिमीले परिवार र भाइको पढाइको खर्च व्यहोर्नुपर्छ भन्नुहुन्छ । आमाले यसो भन्दा आफूलाई प्रेमबाट वञ्चित भएको महसुस गर्छु । म निकै असुरक्षित महसुस गर्छु र हीनताबोधबाट ग्रसित भएको ठान्छु । घरको छतबाट हामफालेर मरेपछि मात्रै खुसी पाउँछु होला भन्छिन् उनी । 

एक किशोरीको अर्को पोस्टले बालिकामाझ पनि छोराको प्राथमिकता कसरी स्त्रीद्वेष र अपमानजनक टिप्पणीमार्फत स्थापित हुन्छ भनेर प्रकाश पारेको छ । सो पोस्टमा एक किशोरीले ‘म निकै सानी हुँदा जब मेरी काकी गर्भवती हुनुहुन्थ्यो, तब मेरो काकाले मलाई भाइ होस् भनेर प्रार्थना गर्दा मात्रै तिमीहरूले चिकेन ड्रमस्टिक खान पाउनेछौ र यदि बहिनी जन्मिन्छे भने तिमीहरूले कुखुराको शूली मात्र खान पाउँछौ भनेका थिए’ लेखेकी छिन् । 

सामाजिक सञ्जालका धेरै टिप्पणीकर्ताले विद्यमान परम्पराविरुद्ध आफ्नो निराशा र आक्रोश व्यक्त गरेका छन् । तर, कसैले थोरै पनि सहानुभूति देखाएनन् र कसैले यी महिला आफूमाथि उत्पीडन हुँदा पनि सहन्छन् भनेर जवाफ खोज्ने कोसिस गरेनन् । 

यी महिलाले सामना गरेका चुनौती कन्फ्युसियसवादबाट प्रभावित सांस्कृतिक मान्यता निःसृत हुन्, जहाँ अभिभावकीय अख्तियारी पुरुषलाई दिइन्छ र पुरुषलाई वंश एवं उत्तराधिकारमा पनि प्राथमिकता दिइन्छ ।

परिवारभित्र यी मानकलाई सानै उमेरदेखि सामाजिकीकृत गरिन्छ, जसलाई भत्काउन गाहै्र हुने गर्छ । छोराप्रति बलियो प्राथमिकता राख्ने परिवारका महिलालाई परिवारभन्दा बाहिरको सम्बन्ध पूरा गर्न गाह्रो हुन्छ किनभने यस्ता महिला सामाजिक रूपमा एक्लो हुन्छन् र परिवारको अपेक्षामा बढी संलग्न हुन पुग्छन् ।

सिद्धान्ततः यी महिलासँग आर्थिक स्वतन्त्रता र आफ्नै सम्बन्ध सम्हाल्ने क्षमता हुन सक्छ, तर यी महिलाले समय बित्दै जाँदा सामाजिक सञ्जाल र अन्य महत्वपूर्ण सम्बन्ध गुमाउँदै गइरहेका छन् । धेरै मानिस विशेषतः पुरुषमाझ अझै पनि पुल्पुल्याइएकी छोरीले आफ्नो परिवार चलाउन माइतीको पैसा रित्याउँछन् भन्ने धारणा व्याप्त छ ।

पश्चिमा राष्ट्रले झैँ चीनले पनि लैंगिक असन्तुलन र न्यून जन्मदरलाई सम्बोधन गर्ने उपायका रूपमा लैंगिक समानता र महिला सशक्तीकरणमा जोड दिन थालेको छ । यद्यपि छोराको उत्कट इच्छाले अझै पनि चीनको ग्रामीण र सहरी क्षेत्रमा बालिकामाझ ठूलो भावनात्मक र सामाजिक चुनौती निम्त्याएको छ । यो परम्परालाई सम्बोधन गर्न चीनलाई तत्काल नीति र हस्तक्षेप आवश्यक छ, अन्यथा, यसले महिलाका अवसर र क्षमता वृद्धिमा अवरोध ल्याइरहनेछ ।

(सी लिङ ल्यान्केस्टर विश्वविद्यालयका वरिष्ठ अध्यापक हुन्) 
द कन्भर्सेसनबाट