सिमेन्ट निर्यात गर्ने उद्योग
सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान र विद्युत् महुसलमा समेत छुट दिने घोषणा गरेपछि नेपालबाट सिमेन्ट निर्यात बढ्न थालेको छ । अहिले चारवटा उद्योगले भारतको सीमावर्ती बजारमा सिमेन्ट तथा क्लिंकर निर्यात थालेका छन् । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै २३ करोड ५० लाखबराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको भन्सार विभागले जनाएको छ । जबकि, गत आर्थिक वर्षभरिमा करिब ७८ करोडको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो । सिमेन्ट निर्यात सुरु भएको गत वर्षको पहिलो महिना साउनमा ४९ लाखको सिमेन्ट निर्यात भएको थियो ।
२४ असार ०७९ मा पाल्पा सिमेन्टले पहिलोपटक ‘तानसेन’ ब्रान्डको सिमेन्ट निर्यात गरेको थियो । त्यसयता अर्घाखाँची, बालाजी र सिजी सिमेन्ट उद्योगले निर्यात गरिसकेका छन् । चौधरी ग्रुपले भारतकै चर्चित व्यावसायिक घराना अदानी ग्रुपसँग रणनीतिक साझेदारी गरेर बिहीबारदेखि सिमेन्ट निर्यात सुरु गरेको हो ।
सिमेन्ट तथा क्लिंकर निर्यात गर्ने उद्योगको संख्या बढ्न थालेसगै निर्यात पनि बढ्न थालेको छ । चालू आवको पहिलो महिना नै सिमेन्ट निर्यात उत्साहजनक रहेको अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले बताए । अर्घाखाँची सिमेन्टले ३० आसोजदेखि निर्यात सुरु गरेको हो । ‘गत वर्ष अर्घाखाँची सिमेन्ट मात्रै करिब ३७ करोडको निर्यात भएको थियो,’ उनले भने, ‘यस वर्ष कम्तीमा एक सय ५० करोड सिमेन्ट तथा क्लिंकर निर्यात गर्ने लक्ष्य राखेका छौँ ।’
उद्योगको संख्या बढेसँगै चालू आवमा करिब ५–६ अर्बको सिमेन्ट तथा क्लिंकर निर्यात हुने अनुमान मुरारकाको छ । भारतीय बजारमा नेपाली सिमेन्टको मार्केटिङ एवं बजारीकरण गर्न सजिलो नभए पनि प्रयास गरिरहेको उद्योगीको भनाइ छ । राज्यले प्रोत्साहनको नीति लिएमा वार्षिक एक खर्ब ५० अर्बसम्मको सिमेन्ट तथा क्लिंकर निर्यात गर्न सकिने नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए ।
चरम मन्दीले देशभित्र निर्माण क्षेत्र थलिएर आन्तरिक बजारमा सिमेन्टको माग घटे पनि भारतमा क्रमशः निर्यात बढ्न थालेको छ । नवलपरासीमा रहेको पाल्पा सिमेन्टले ‘तानसेन’ ब्रान्डको सिमेन्ट सुनौलीदेखि गोरखपुरसम्म बिक्री गर्दै आएको छ । भैरहवामा उद्योग रहेको अर्घाखाँची सिमेन्ट गोरखपुर, लखनउ तथा बिहारसम्म पुग्छ । ‘गोरखपुरमा अर्घाखाँची सिमेन्टको वाल पेन्टिङ विज्ञापन नै देख्न पाइन्छ,’ मुरारकाले भने, ‘अहिलेलाई हाम्रो मुख्य बजार गोरखपुर हो ।’
बालाजी सिमेन्टका प्रबन्ध निर्देशक ऋषिकेश अग्रवालका अनुसार ‘बहुबली’ र ‘श्रृष्टि’ ब्रान्डको पिपिसी सिमेन्ट २९ जेठदेखि उत्तर प्रदेशको सिद्धार्थनगरमा निर्यात सुरु गरिएको छ । कपिलवस्तुमा रहेको बालाजीले कृष्णनगर नाका हुँदै भारतीय बजारमा सिमेन्ट पुर्याउने गर्छ ।
गत आर्थिक वर्षको बजेटमार्फत सरकारले स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान र १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको थियो । सरकारको यही सुविधाका कारण सिमेन्ट उद्योगी निर्याततर्फ आकर्षित भएको मुरारकाको भनाइ छ । ‘सरकारले प्रशासनिक झन्झट हटाएर सहजै अनुदान प्राप्त गर्ने व्यवस्था गर्नुपर्छ, त्यो नभएसम्म अपेक्षित परिमाणमा सिमेन्ट निर्यात हुँदैन,’ उनले भने, ‘अहिले हामीले सिमेन्ट निर्यातमा मार्जिन नभए पनि भविष्यमा पक्कै राम्रो होला भन्ने आशा राखेर निर्यात गर्न कस्सिएका हौँ ।’
भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस)बाट गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्ड इन्स्टिच्युट (आइएसआई) चिह्न प्राप्त गरेपछि मात्र सिमेन्ट निर्यात गर्न पाइन्छ । अरू थुप्रै सिमेन्ट उद्योगहरू निर्यातका लागि आइएसआई प्रमाणपत्रको पर्खाइमा रहेको नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ ।
एक वर्षमा कहिले कति निर्यात ?
०७९ साउनमा नेपालबाट सवा ४९ लाखको ३३ हजार एक सय ५७ मेट्रिकटन सिमेन्ट निर्यात भएको थियो । ०८० साउनसम्म आइपुग्दा महिनामै साढे २३ करोडको सिमेन्ट तथा क्लिंकर निर्यात हुन थालेको भन्सार विभागको तथ्यांकले देखाउँछ । साउनमा १६ करोड ४४ लाखको २५ हजार सात सय ४२ टन क्लिंकर र सात करोडभन्दा बढी मूल्यको नौ हजार पाँच सय ७३ मेट्रिकटन सिमेन्ट निकासी भएको छ ।
गत आवको भदौमा ४० लाख, असोजमा एक करोड २६ लाख, कात्तिकमा एक करोड ३५ लाख, मंसिरमा ९१ लाख, पुसमा चार करोड २० लाख, माघमा आठ करोड सात लाख, फागुनमा १३ करोड ७६ लाख, चैतमा ११ करोड ७६ लाख, ०८० वैशाखमा १३ करोड १२ लाख, जेठमा १२ करोड ३२ लाख र असारमा १० करोड २९ लाखको सिमेन्ट तथा क्लिंकर निर्यात भएको भन्सार विभागले जनाएको छ । गत आवमा १० लाख चार हजार टन सिमेन्ट तथा क्लिंकर निर्यात भएको भन्सार विभागले जनाएको छ । जसमध्ये सिमेन्ट ३५ करोड ८९ लाख रुपैयाँ र क्लिंकर ४२ करोडभन्दा बढीको (कुल ७८ करोड) निर्यात भएको छ ।
गत आर्थिक वर्षको सिमेन्ट तथा क्लिंकर निर्यातमा पाल्पा र अर्घाखाँची दुई सिमेन्ट उद्योगको योगदान छ । यस वर्ष बालाजी र सिजी सिमेन्ट पनि थपिएको हुँदा निर्यात बढ्ने अपेक्षा गरिएको हो । नेपालमा सञ्चालित सिमेन्ट उद्योगको उत्पादन क्षमता नेपालको बजार मागभन्दा धेरै रहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष थापाको भनाइ छ । उनका अनुसार अहिले सञ्चालनमा रहेका उद्योगको वार्षिक उत्पादन क्षमता दुई करोड ५० लाख टन (२५ मिलियन टन) रहेको छ । तर, सामान्य अवस्थामै बजारको माग भने एकतिहाइ मात्र रहेको उनको भनाइ छ । जसले गर्दा ठूलो परिमाणमा सिमेन्ट निर्यातको सम्भावना रहेको उनले बताए ।
स्वदेशी कच्चा पदार्थ चुनढुंगा प्रयोग गरेर उत्पादन गरिने सिमेन्ट तुलनात्मक रूपमा लाभ धेरै भएको वस्तु हो । उद्योगीका अनुसार सिमेन्ट उत्पादनमा ९० प्रतिशतभन्दा बढी भ्यालु एडिसन हुने गर्छ । स्वदेशी कच्चा पदार्थमा आधारित भएको हुनाले सिमेन्ट निर्यातमा नेपाललाई धेरै फाइदा छ । तर, अझै अपेक्षित रूपमा सिमेन्ट निर्यात हुन नसकेको अध्यक्ष थापाले बताए । ‘धेरै उद्योग सिमेन्ट निर्यातको तयारीमा छन्,’ उनले भने, ‘यदि सरकारले घोषणा गरेको नगद अनुदान सहजै तीन–तीन महिनामा उपलब्ध गराउने व्यवस्था गरेमा सिमेन्ट निर्यातमा उत्साह आउनेछ ।’
सिमेन्ट निर्यातमा लजिस्टिकको समस्या रहेको उद्योगीको गुनासो छ । नाकाबाट २०–२५ किलोमिटरको दूरीमा पुर्याउने सिमेन्ट लोड भएका ट्रक भन्सारबाट पास गराउन आठ–नौ घन्टासम्म लाग्ने गरेको मुरारकाले बताए । भैरहवा भन्सारकै कुरा गर्दा भारतको सुनौलीतर्फ १२ किलोमिटरसम्म ट्रकको लाइन लागेको हुन्छ । सिमेन्ट बोकेका ट्रक घन्टौँ लाइनमा राख्दा निर्यात लागत बढ्ने गर्छ । भन्सार कार्यालयमा पर्याप्त जनशक्ति राखेरै भए पनि भन्सार क्लियरेन्स सहज र चुस्त बनाउनुपर्ने उद्योगीको माग छ ।