१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीमा ‘आत्मदाह’को भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५४:oo

गाडीको टायरमा आगो लगाएर प्रदर्शन गर्ने क्रममा मानिस जलेको भिडियोलाई ‘आत्मदाह’ गरेको भन्दै गलत प्रचार–प्रसार गरेर समाजमा भ्रम पैदा गर्नेहरूलाई प्रहरीले कारबाही गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय गुल्मीले विभिन्न माध्यमबाट आत्मदाहको गलत प्रचार गर्नेहरूलाई कारबाही अगाडि बढाएको छ ।

केही दिनअघि गुल्मी अस्पतालमा उपचारका क्रममा अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका– ७ भगवती काउलेकी ६ वर्षीया बालिका प्रशंसा मरासिनीको मृत्यु भएको थियो।  चिकित्सकको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै मृतकका आफन्तले अस्पताल र प्रशासनपरिसरमा नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका थिए ।

सोही क्रममा टायरमा पेट्रोल छर्किएर आगो लगाउने क्रममा जलेर तीन युवा घाइते भएका थिए । तीमध्ये एकजना जलेर गम्भीर भएका छन् । टायरमा पेट्रोल छर्किएर बाल्ने क्रममा एक्कासि आगो शरीरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका- ७ का सागर र लक्ष्मण पाण्डेय तथा वडा नम्बर ८ का कृष्ण पौडेल जलेर घाइते भएका थिए ।

सोही भिडियोलाई सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले समेत पेजमार्फत ‘न्याय नपाएपछि युवाले गरे आत्मदाह’ भन्दै गलत प्रचार गरेका थिए । जसका कारण बुधबार प्रहरी र प्रशासनले निकै सास्ती खेप्नुपरेको थियो । भिडियाे देखेपछि गृह मन्त्रालय, प्रहरीका माथिल्ला निकायदेखि मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाले समेत निगरानी र चासो देखाएका थिए ।

प्रशासनकै अगाडि आत्मदाहको गतल समाचार बाहिरिएपछि आफूहरूलाई माथिल्लो निकायबाट थुप्रै फोन र स्पष्टीकरण सोधिएकाले जागिरकै चुनौती भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले गुनासो गरे । ‘गलत प्रचारले हाम्रो जागिर नै धरापमा पर्ने देखियो । केही सञ्चारमाध्यमले समेत गलत समाचार लेखे,’ गैरेले भने, ‘गलत प्रचार गर्नेहरूलाई निगरानी गरेर कारबाही गर्न प्रहरीलाई भनेका छौँ ।’ 

प्रहरीले बुधबार र बिहीबार दिनभर विभिन्न सामाजिक सञ्जालहरूको निगरानी गर्‍यो । सोही क्रममा दुई मिडियाका पेज र एक व्यक्तिलाई पत्ता लगाएर माफी मगाउने र खण्डन गर्न लगाउने काम भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविककिशोर प्रधानले जानकारी दिए । 

सैपाल एफएम बझाङको पेज, वीर गोर्खाली टिभी र गुल्मीकै व्यवसायी अर्जुन कार्कीले युवा जलेको भिडियोलाई अतिरञ्जित गरेर ‘आत्मदाह’ भनेर गलत प्रचार गरेको प्रहरी उपरीक्षक प्रधानले बताए । 

यस्तो गलत सूचनाले स्वयं पीडितलाई थप पीडा दिएको छ । नियामक निकायहरूले स्पष्टीकरण र सास्ती खेप्नुपरेको छ । यस्तो गलत प्रचारले आमनागरिकमा निराशा पैदा गर्ने भएकाले भ्रामक समाचार सार्वजनिक नगर्न प्रहरी उपरीक्षक प्रधानले सबैमा अनुरोध गरेका छन् । 

ad
ad