चीनको हाङझाउ सहरमा हुने एसियन गेमका लागि नेपालबाट भलिबलका अन्तर्राष्ट्रिय रेफ्री पूर्णप्रसाद चौलागाईं छनोट भएका छन्।
एसियाली भलिबल महासंघ (एभिसी)ले नेपालबाट सिफारिस गरिएका पाँचजनामध्ये क्षमता, दक्षता र वरीयताका आधारमा चौलागाईंलाई एसियाली खेलकुदका लागि छनोट गरेको हो।
नेपाल भलिबल संघले चौलागाईंसहित प्रतियोगिताका लागि विजय केसी, टहलसिंह थापा, विकास गुरुङ, गौतमप्रसाद लासिवाको नाम सिफारिस गरेको थियो। छनोट भएका चौलागाईंले एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल खेल खेलाउनेछन्।
उनका अनुसार भलिबलतर्फ नेपालबाट प्रतियोगितामा महिला र पुरुष गरी दुईवटा टिम सहभागी हुँदै छन्। चौलागाईं १६ सेप्टेम्बरमा चीन प्रस्थान गर्नेछन्।
एसियाली खेलकुदको १९औँ संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुँदै छ । एसियन गेम हरेक चार वर्षमा हुनेगर्छ। ०१८ मा इन्डोनेसियामा भएको खेलमा नेपालबाट गौतमप्रसाद लासिमा छनोट भएका थिए । २०२२ मा चीनमा हुने तय भएको खेल कोभिडका कारण प्रभावित भएर अहिले हुन लागेको हो।
४० खेल हुने प्रतियोगितामा ४५ देशका साढे १२ हजारभन्दा बढी खेलाडीले भाग लिनेछन्। एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्यान्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलले सहभागिता जनाउँदै छ।