१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीको बुढीतोलामा पहिरोले बगाएको स्थानमा ग्याबिन जाली लगाइँदै । तस्बिर : नयाँ पत्रिका
तेजराज भट्ट काठमाडाैं
२o८१ जेठ १३ आइतबार o८:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सुदूरका पहाडी जिल्ला जोड्ने सडकमा पहिरोको पिर, सहज भएन राजमार्गको आवागमन

Read Time : > 1 मिनेट
तेजराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o८:५३:oo

कैलालीको बुढीतोलामा गत २२ साउनको राति पहिरो गएपछि भीमदत्त राजमार्ग नौ दिनसम्म अवरुद्ध भयो । पहिरोले बगाएको र भासिएको करिब चार सय मिटर सडकमा नयाँ ट्र्याक खोलेर एकतर्फी यातायात सञ्चालन गरिए पनि राजमार्गमा आवागमन अझै सहज हुन सकेको छैन । पहिरोग्रस्त ठाउँमा माथिबाट ढुंगा खस्ने र ट्र्याक धसिएर गाडी फस्ने भएकाले राजमार्गमा आवागमन दैनिकजसो प्रभावित भइरहेको छ ।

पहिरोले बगाएको ठाउँमा नयाँ खोलिएको ट्र्याक मर्मतका लागि मंगलबार पनि दिनभर राजमार्ग बन्द गरियो । बिहान १० बजेदेखि बेलुकी चार बजेसम्म राजमार्ग पूर्ण रूपमा बन्द गरेर ट्र्याक मर्मत गरिएको हो । पहिरोले सडक बगाएको र भासिएको ठाउँमा आवागमन सहज नभएपछि गत साता पनि मर्मतका लागि राजमार्ग दिनभर बन्द गरिएको थियो । मर्मतको कार्य भइरहेकाले दिनमा एक–डेढ घन्टासम्म राजमार्गमा आवागमन बन्द हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले पहिरो गएको क्षेत्रमा आवतजावत सहज हुन नसकेको बताए । ‘एकतर्फी रूपमा गाडी चल्छन् । तर, मर्मत गर्नुपर्ने भएकाले दैनिक केही समय राजमार्ग बन्द गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

राजमार्गमा आवागमन सहज नहुँदा यात्रुले सास्ती खेप्नु परिरहेको छ । भार भएका सवारीसाधनलाई पार गर्न कठिन हुने गरेको छ । सुदूरपश्चिका सात पहाडी जिल्लाको मेरुदण्डका रूपमा रहेको यो राजमार्गमा दैनिक करिब चार सयवटा सवारीसाधनले ओहोरदोहोर गर्ने गरेको ट्राफिक प्रहरीको अनुमान छ । पहिरोले सय मिटर सडक पूर्ण रूपमा बगाउनुका साथै केही ठाउँमा भासिएको थियो । 

सडक डिभिजन कार्यालय कञ्चनपुरले पहिरो गएको ठाउँमा सडक निर्माण र मर्मतको काम गरिरहेको छ । उक्त कार्यालयका इन्जिनियर तारानाथ सिग्देलले यो वर्षामा दुईतर्फी यातायात सञ्चालनको सम्भावना नरहेको बताए । ‘पहिरोले बगाएको सय मिटर क्षेत्रमा दुई लेनको सडक बनाउन तत्काल सम्भव छैन, बाँकी तीन सय मिटरमा दुई लेनको ट्र्याक बनाउने कोसिस गरिरहेका छौँ,’ उनले भने, ‘सडकमाथि दुई सय मिटरसम्म पहिरो छ, सडक चौडा गर्न खोज्दा माथिबाट ढुंगा खस्छ ।’

ढुंगा खस्ने र भासिने भएकाले दैनिक डेढ–दुई घन्टासम्म राजमार्ग अवरुद्ध भइरहेको उनले बताए । सडकको छेउतिर ग्याबिन जाली राख्ने र भित्तापट्टि खनेर दुईतर्फी यातायात चल्ने गरी मर्मतको काम भइरहेको सडक डिभिजनले जनाएको छ । सडक मर्मतका लागि पाँचवटा एक्साभेटर र लोडर खटिएका सिग्देलले जानकारी दिए । उनका अनुसार दुईवटा एक्साभेटर तथा एक–एकवटा लोडर र भाइबे्रटिङ लोडरले त्यहाँ काम गरिरहेका छन् । पहिरो गएको ठाउँमा सडक निर्माणका लागि अध्ययन गर्न सडक विभागको प्राविधिक टोली आउन लागेको इन्जिनियर सिग्देलले जानकारी दिए । ‘ठूलो पहिरो हो, जमिन ‘सेटलमेन्ट’ नभएसम्म कालोपत्रे गर्न सम्भव देखिँदैन,’ उनले भने, ‘भौगोलिक पक्ष प्राविधिकको टोलीले हेर्ला ।’ 

ad
ad