प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा रहेकाहरूलाई बदनाम गर्ने, घेराबन्दी गर्ने र फुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । समाजवादी मोर्चाले मुलुकमा परिवर्तन ल्याई जनतालाई अधिकारसम्पन्न गराउन खोजेको, तर प्रतिक्रियावादीहरूलाई नपचेको उनको आरोप छ ।
समाजवादी मोर्चा लुम्बिनीले मंगलबार बुटवलमा गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले मुलुकलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न शक्ति सञ्चय गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले विगतमा भएका आन्दोलन तथा परिवर्तन जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलका मुख्य शक्ति अहिलेको मोर्चामा रहेको उल्लेख गरे ।
एकीकृत समाजवादीका अध्यक्ष तथा मोर्चाका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परिवर्तन गरी देश बनाउने अभिभारा मोर्चासामु आएको दाबी गरे । विगतका अनुभवलाई एक ठाउँमा राखेर शक्ति गोलबद्ध गर्दै अगाडि बढ्नुपर्ने उनको जोड छ ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा स्वाधीनताको लडाइँ जारी रहेको भन्दै साम्राज्यवादीको चंगुलबाट मुक्त बनेको देख्न चाहेको बताए । उनले प्रचण्डलाई सरकारमा रहेर मुलुक बनाउन आग्रह गर्दै आफूहरू सडक र चोक–चोकबाट लड्ने बताए । जसपाका नेता राजकिशोर यादवले भ्रष्टाचार, बेथितिका गाथा अन्त्य गरी सुशासनतर्फ अगाडि बढ्ने कार्यभार सरकार तथा प्रचण्डसँग रहेको बताए ।
मोर्चाको लुम्बिनी प्रदेश समिति गठन
समाजवादी मोर्चाको लुम्बिनी प्रदेशमा समिति घोषणा गरिएको छ । ‘सन्देशसभा’मा समितिका सदस्यहरूको नाम घोषणा गरिएको हो । मोर्चामा आबद्ध दलका तीन–तीनजना नेता सदस्य रहने गरी समिति गठन गरिएको छ । माओवादी केन्द्रका तर्फबाट लुम्बिनी अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गाबहादुर थारू र सचिव कृष्ण अधिकारी सदस्यका रूपमा रहेका छन् ।