१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १३ बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १३ बुधबार o६:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

पहिलो कनेक्टिङ फ्लाइटमै निगमले यात्रु पाएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १३ बुधबार o६:३१:oo

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सुरु गरेको पहिलो कनेक्टिङ फ्लाइटमै यात्रु पाउन सकेन । निगमले मंगलबारदेखि भैरहवाबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान सुरु गरेको छ । काठमाडौं ट्रान्जिट भएर दिल्ली र हङकङ जानका लागि भैरहवाबाट एउटै यात्रु नचढेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले बताए । ‘कनेक्टिङ फ्लाइटबारे यात्रुले थाहा नपाएर पनि होला, भैरहवाबाट निगमको जहाज चढ्ने यात्रु एउटै थिएनन्,’ उनले भने, ‘निगमले कनेक्टिङ फ्लाइट सुरु गर्नुअघि पर्याप्त तयारी नगरेको हो कि भन्ने देखियो ।’ 

निगमले भैरहवाबाट काठमाडौंलाई ट्रान्जिट बनाई हङकङ र दिल्ली उडान गर्ने भन्दै टिकट बुकिङ खुला गरेको थियो । तर, निगमको पहिलो ट्रान्जिट उडान नै निराशाजनक बनेको छ । बज्राचार्यले भने, ‘निगमले कनेक्टिङ फ्लाइट सुरु गर्दै छ भन्ने यात्रुले थाहै नपाएको पनि हुन सक्छ ।’

निगमले हरेक साता मंगलबार काठमाडौंबाट मलेसिया हुँदै भैरहवा भएर काठमाडौं उडान गर्दै आइरहेको छ । सोही उडानमा भैरहवाबाट दिल्ली तथा हङकङ जाने यात्रुलाई काठमाडौं ल्याएर ट्रान्जिट गराई दिल्ली र हङकङ उडान गर्ने निगमकै जहाजमा चढाएर गन्तव्यतर्फ पठाउने योजना बनाएको छ ।

बिहान ८: १५ बजे भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्ने र तत्पश्चात् काठमाडौंमा ट्रान्जिट भई हङकङ र दिल्ली जाने यात्रुलाई निगमकै कनेक्टिङ फ्लाइटमा गन्तव्यतर्फ पठाउने निगमको योजना पहिलो दिन नै असफल बनेको छ । निगमले यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सीधै गन्तव्यमा लिने व्यवस्था मिलाएको छ । तैपनि, भैरहवाबाट दिल्ली र हङकङ जाने एउटै यात्रु नभेटिएको बताइएको छ ।

भैरहवाबाट दिल्ली र हङकङ सीधा उडान गर्न माग 

भैरहवाबाट दिल्ली र हङकङ सीधा उडान गर्न रुपन्देहीका पर्यटन व्यवसायीले माग गरेका छन् । मंगलबारदेखि नेपाल वायुसेवा निगमले भैरहवा–दिल्ली र भैरहवा–हङकङ हवाई उडान सुरु गरेकामा स्वागत गर्दै ट्रान्जिट नभई सीधा उडान सञ्चालन गर्नुपर्ने लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । 

मंगलबारबाट सुरु भएको भैरहवा–दिल्ली र भैरहवा–हङकङको उडान यात्रुविहीन भएको देखाएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन सक्दैन भन्ने देखाउन खोजेको ज्ञवालीले आरोप लगाए । ‘जबसम्म भैरहवाबाट सीधा उडान हुँदैन, तबसम्म रुपन्देहीको पर्यटन क्षेत्रमा परिवर्तन हुन सक्दैन,’ उनले भने ।

 १२ गतेको उडानका लागि १० गते निर्णय गरेर टिकट बुकिड. खोल्नु गलत भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । दिल्ली–हङकङ जाने यात्रु दुई दिनमा कसरी तयार हुन्छन् ? यसका लागि पर्याप्त समय आवश्यक रहेको श्रेष्ठले बताए ।

भैरहवा विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गर्न नहुने उनले बताए । भैरहवाबाट काठमाडौ‌ं हुँदै दिल्ली र हङकङका लागि मंगलबारदेखि नेपाल वायुसेवा निगमले उडान सुरु गरेको भए पनि दुवै गन्तव्यका लागि यात्रु भेटिएका थिएनन् । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एकपटक भैरहवा आउने विमानमार्फत काठमाडांै‌ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको हो । 

यो उडानले पर्यटन क्षेत्रमा प्रभाव नपार्ने सिद्धार्थ होटेल एसोसिएसन सानका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । जबसम्म गौतम बुद्ध विमानस्थलमा यात्रुहरू विभिन्न मुलुकबाट ओहोरदोहोर हुँदैनन्, तबसम्म पर्यटन क्षेत्रमा प्रभाव नपर्ने श्रेष्ठले बताए । सरकारले पटक–पटक यस क्षेत्रका व्यवसायीलाई झुक्याउँदै आएको सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए । अर्बौँ लगानी रहेको विमानस्थल र त्यसको दोब्बर लगानी रहेको पर्यटन व्यवसायीमाथि सरकारले खेलबाड गरेको ज्ञवालीको भनाइ छ । 

ad
ad
ad
ad