१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

एन्जाइटी कम गर्न साइकोथेरापी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२२:oo

मनोवैज्ञानिक पक्षको विकासमा आन्तरिक वा बाह्य पक्षले प्रभाव पारिरहेको हुन्छ । यस्तो प्रभाव सधैँ सकारात्मक मात्रै हुँदैन । चोट लाग्दा, जागिर छुट्दा, परिवारको खराब स्वास्थ्य अवस्था र अन्य कारणले मानिस चिन्तामा पर्ने गर्छन् । नकारात्मक प्रभावलाई हामी मनोवैज्ञानिक समस्या अथवा मनोरोग भनेर पहिचान गर्ने गर्छौं । तर, डर–चिन्ताको विषय आफूमा हाबी हुन पनि दिनुहुँदैन ।

नत्र यसले गम्भीर समस्या निम्त्याउन सक्छ । मनोरोगमा विभिन्न प्रकारको उपचार विधिको प्रयोग गरिन्छ । यसका लागि साइकोथेरापी एक प्रभावकारी विधि हो । विशेषगरी, एन्जाइटी, डिप्रेसनलगायत समस्या तथा विभिन्न खाले कुलतमा फसेकाहरूका लागि साइकोथेरापी प्रयोग हुन्छ । यो गम्भीर मानसिक रोगमा पनि प्रयोग गर्न सकिन्छ । यसबाहेक अरू मनोसामाजिक समस्या, जस्तै– सम्बन्ध बिग्रेको, नकारात्मक सोच, निरन्तर असफलताले निम्त्याउने परिस्थिति, दाम्पत्य जीवनका समस्या, महिला र पुरुषमा देखिने मनोभावनासँग सम्बन्धित समस्यामा पनि साइकोथेरापी उपयुक्त हुन्छ ।

साइकोथेरापीका फाइदा 
साइकोथेरापी एक व्यक्ति र मनोपरामर्शदाताबीचको सम्बन्धमा आधारित एक सहयोगी उपचार हो । संवादमा आधारित चिकित्सा भए तापनि यसमा परामर्शदाताले सधैँ तटस्थ रहेर सुन्ने गर्नुपर्छ । यो सल्लाह दिने विधि मात्र होइन । यसमा बिरामीको विचार र व्यवहार ढाँचा पहिचान गर्ने र विभिन्न विधिमार्फत परिवर्तन गर्न सिकाउने गरिन्छ । 

साइकोथेरापी सबै उमेरसमूहका लागि उपयुक्त हुन्छ । यो मानसिक रोगमा मात्र नभएर हाम्रो जीवनको गुणस्तर अभिवृद्धि गर्न पनि प्रयोग हुन्छ । साइकोथेरापीले व्यक्तिको जीवनको गुणस्तरमा धेरै सुधार गर्न सक्छ । मानिसहरू आफ्नो दैनिक गतिविधि राम्रोसँग गर्न सक्षम हुन्छन् । यो विधिले विभिन्न मानसिक आघात कम गर्न, विभिन्न मनोसामाजिक समस्याको निराकरण गर्ने सीप बढाउन सहयोग गर्छ । 

यसरी गरिन्छ उपचार
संसारभर विभिन्न किसिमका साइकोथेरापीका विधि प्रचलित छन् । नेपालमा पनि संज्ञानात्मक व्यवहार थेरापी, फेमेली थेरापी, आर्ट थेरापीजस्ता विधिको प्रयोग हुन्छ । रोगअनुसार कुन थेरापी उपयुक्त हुन्छ भन्ने कुरा मनोचिकित्सकसँग सल्लाह लिएर छनोट गर्न पनि सकिन्छ । साइकोथेरापीलाई औषधिसँगै एकीकृत रूपमा प्रयोग गर्दा यसको प्रभावकारिता अझ बढ्ने गर्छ । यसलाई आयुर्वेद, अकुपन्चरजस्ता वैकल्पिक विधिसँग पनि प्रयोग गर्न सकिन्छ । 

यसले हाम्रो मनोविज्ञानको निर्माण र विकासमा ठूलो भूमिका खेल्छ । पश्चिमी देशमा हुर्किएको कुनै व्यक्ति र पूर्वीय देशमा हुर्किएको व्यक्तिका सोच, धारणा र ग्रहण क्षमता नितान्त फरक हुन सक्छन् । कहिलेकाहीँ पश्चिमी देशका निम्ति उपयुक्त साइकोथेरापी हाम्रा लागि उपयुक्त नहुन सक्छ । तसर्थ, हाम्रो परिवेश सुहाउँदा साइकोथेरापीको उपयुक्त प्रयोगले धेरै मनोरोगीको उपचारमा सहयोग गर्छ । साइकोथेरापीका माध्यमबाट रोग नियन्त्रण गर्न सकिन्छ । 

साइकोथेरापीमा के गरिन्छ ?
साइकोथेरापीमा सुरुमा परामर्शदाताले तपाईंको समस्यालाई गहिराइसम्म बुझ्ने गर्छन् । त्यसका आधारमा तपाईंको विचार, भावना, व्यवहारमा आएका परिवर्तनको उपयुक्त परीक्षण गर्छन् । त्यसपछि तपाईंलाई उपयुक्त हुने विधिको छनोट हुन्छ । आवश्यकताअनुसार मनोपरामर्शदाताले गृहकार्य पनि दिन सक्छन् । साइकोथेरापीको एउटा सेसन सामान्यतः ४० देखि ६० मिनेटको हुने गर्छ । 

ad
ad