![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/view-tawer-ktm2023-08-27-10-47-12.jpeg)
तला थप्ने वा नथप्नेबारे अध्ययन गर्दै महानगरपालिका
आठ वर्षअघि गएको भूकम्पपछि १२ तलामा सीमित भएको काठमाडौं भ्यु टावर २७ तलासम्म बनाउन सकिने भएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसको टोलीले गरेको अध्ययनअनुसार भ्यु टावरमा थप १५ तलासम्म थप्न सकिन्छ ।
टोलीले काठमाडौं महानगरलाई बुझाएको अध्ययन प्रतिवेदनअनुसार १२ तलामा सीमित भएको भ्यु टावरमा तला थप्न सकिने अवस्था देखिएको महानगरका निर्देशक महेश काफ्लेले बताए । ‘इन्जिनियरिङ क्याम्पसको अध्ययनअनुसार २७–२८ तलासम्म थप्न सकिने देखाएको छ । सो अध्ययन प्रतिवेदनमाथि महानगरको प्राविधिक टोलीले अध्ययन गरिरहेको छ । महानगरको प्राविधिक टोलीको निष्कर्षपछि अगाडि बढ्छौँ,’ काफ्लेले भने ।
साउनको पहिलो साता क्याम्पसको टोलीले अध्ययन प्रतिवेदन बुझाएको हो । प्रतिवेदनको अध्ययनपश्चात् भ्यु टावरको विषयमा कसरी अगाडि बढ्ने भन्ने निर्णय हुनेछ । ‘टोलीले अध्ययन गरिरहेकाले हाललाई केही भन्न सक्ने अवस्था छैन । टोलीको अध्ययनपश्चात् कति तला बनाउने, कति समय थप गर्ने, लागत कति बढ्ने भन्नेजस्ता विषयको निक्र्योल हुनेछ,’ निर्देशक काफ्लेले भने । भ्यु टावर निर्माणका लागि ठेकेदारसँग २९ तलाको सम्झौता गरे पनि भूकम्पपछि सहरी विकास मन्त्रालयले १२ तलाभन्दा अग्लो भवन बनाउन नमिल्ने जनाएको थियो । सोहीअनुसार भदौ ०७२ मा महानगरले १२ तले भवनको नक्सा पास गरेको थियो । सोही वर्ष २५ कात्तिकमा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं भ्यु टावरको शिलान्यास गरेका थिए ।
कम्पनीले पुरानो बसपार्कको २३ रोपनी पाँच आना जग्गामा १२ तला भ्यु टावर निर्माण गरिरहेको छ । टावर निर्माण सम्झौता हुँदा करिब तीन अर्ब लाग्ने अनुमान गरिए पनि लागत बढ्ने भएको छ । निर्माण नसके पनि ठेकेदार कम्पनीले सम्झौताअनुसार राजस्व भने तिरिरहेको छ । ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स कम्पनीले करिब एक करोड राजस्व बुझाउँदै आएको छ ।
बसपार्क सर्ने अझै छैन टुंगो
टावरको सुरुवाती डिजाइनअनुसार दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा तीन सय सवारी अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ ।
दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुनेछन् । महानगरपालिकाका अनुसार निर्माण हुने पार्किङ क्षेत्रले रत्नपार्क र न्युरोडआसपास पार्किङ भइरहेका सम्पूर्ण सवारीसाधनलाई धान्नेछ ।
सोहीअनुसार महानगरले गत २२ वैशाखदेखि सशुल्क पार्किङको व्यवस्था गरेको छ । महानगरले हाललाई टावरभित्र निजी पार्किङको व्यवस्था गरे पनि बसपार्क कहिलेदेखि खुल्ने भन्ने अझै टुंगो छैन ।
६ महिनाका लागि भनेर ०७२ सालमा खुलामञ्चमा सारिएको बसपार्क दुई वर्षयता तिनकुनेअगाडिको मनोहरा खोला, न्युरोडको एनएसी भवनअगाडि, खुलामञ्चअगाडिको सडक हुने गरेका छन् ।