उद्योग दर्ता र लगानी प्रस्तावका हिसाबले चालू आर्थिक वर्ष पनि सुखद नहुने संकेत देखिएको छ । आर्थिक वर्षको पहिलो महिना साउनमा स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता गत वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले घटेको छ ।
चालू आवको साउनमा उद्योग विभागमा २५ अर्ब नौ करोड लगानीका २७ उद्योग दर्ता भएका छन् । गत वर्षको साउनमा ४१ अर्ब ५२ करोड रुपैयाँ लगानीका २७ वटै उद्योग दर्ता भएका थिए । दुवै आर्थिक वर्षको साउनमा उद्योग दर्ता संख्या समान रहे पनि लगानी प्रतिबद्धता भने साढे १६ अर्बले घटेको छ ।
आर्थिक वर्ष ०७८/७९ कै तुलनामा आर्थिक वर्ष ०७९/८० मा उद्योग दर्ता र लगानी प्रतिबद्धता घटेको थियो । उद्योग दर्ता र लगानीका हिसाबले चालू आर्थिक वर्ष झनै खराब हुने संकेत पहिलो महिनाको तथ्यांकले देखाएको छ ।
पछिल्ला महिनाहरूमा बैंकमा तरलता बढ्न थालेसँगै कर्जाको ब्याजदर घट्न थालेको छ । तर, उपभोगमा आएको चरम गिरावटका कारण सञ्चालनमै रहेका उद्योग–व्यवसाय आंशिक रूपमा सञ्चालन भइरहेका छन् ।
बैंकमा तरलता पर्याप्तता, एकल बिन्दुको ब्याजदर, उपभोगमा वृद्धि नहुँदासम्म बजार चलायमान नहुने भन्दै निजी क्षेत्रका छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतले सरकार र राष्ट्र बैंकको ढोका ढकढक्याइरहेका छन् ।