मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Thursday, 19 December, 2024
डेभिड पियर्सन/ओलिभिया वाङ
२o८o भदौ ५ मंगलबार १o:२६:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘क्याम्प डेभिड रक्षा सम्झौता’ नयाँ शीतयुद्धको प्रस्थानबिन्दु हो ?

Read Time : > 4 मिनेट
डेभिड पियर्सन/ओलिभिया वाङ
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार १o:२६:oo

बाइडेन प्रशासनको बेइजिङलक्षित कदमको शृंखलाका रूपमा क्याम्प डेभिड रक्षा सम्झौता आएको छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट १८ मा जापान र दक्षिण कोरियाका कार्यकारी प्रमुखसँग क्याम्प डेभिडमा ऐतिहासिक शिखर वार्ता गरे । यस शिखर वार्ताले एसियामा नेटोजस्तै अमेरिकी नेतृत्वको सुरक्षा गठबन्धन गठनको तयारी भइरहेको बेइजिङको धारणालाई थप बलियो बनाएको छ । क्याम्प डेभिड शिखर वार्तामा जापानी प्रधानमन्त्री फुमियो किसिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक यियोलले तिनको मुलुकबीचको ऐतिहासिक शत्रुतालाई बिर्सिएर चीन र उत्तर कोरियाको आक्रामकतालाई निस्तेज बनाउन अमेरिकासँग रक्षा सम्झौता गरेका छन् । 

बाइडेनले सो शिखर वार्ता ‘चीनविरुद्ध लक्षित नभएको’ कुरामा जोड दिन खोजेका थिए । तर, बेइजिङले बाइडेनको कुरामा विश्वास गरेन । चीनले जापान, दक्षिण कोरिया र जापानबीचको रक्षा सम्झौतालाई ‘चीनलाई चौतर्फी घेराबन्दी’मा पार्ने पश्चिमी देशको प्रयासको रूपमा अथ्र्याएको छ । ‘क्याम्प डेभिड शिखर वार्ता सम्भवतः नयाँ शीतयुद्धको सुरुवात हो भन्नु उपयुक्त हुन्छ,’ लिओनिङ एकेडेमी अफ सोसल साइन्समा कोरियाली प्रायद्वीपका अध्येता लु चाओले कम्युनिस्ट पार्टीको अंग्रेजी मुखपत्र ग्लोबल टाइम्सलाई भनेबाट चीनले यसलाई कति गम्भीर मानेको छ भन्ने बुझ्न सकिन्छ । 

क्याम्प डेभिड सम्झौतामा अमेरिका, जापान र कोरियाबीच बर्सेनि भेटवार्ता गर्ने, तीन देशबीचको संयुक्त सैन्य अभ्यासलाई वृद्धि गर्ने र संकटको समयमा सञ्चारका लागि तीनतर्फी हटलाइन स्थापना गर्ने बुँदा छन् । शिखर वार्तापछि जारी संयुक्त विज्ञप्तिमा तीन मुलुकले दक्षिण चीन सागरमा चीनको ‘खतरनाक र आक्रामक व्यवहार’को आलोचना गरेका छन् । साथै सो विज्ञप्तिमा  ‘ताइवान’वरपरको जलक्षेत्रमा शान्ति र स्थिरताको महत्वमा पनि जोड दिइएको छ । 

ताइवानबारे उल्लेखित भाषा बेइजिङलाई चेतावनीका रूपमा पढ्न सकिन्छ, अर्थात् सो टापुलाई बलपूर्वक कब्जा गर्ने चीनले प्रयास गरे राम्रो नहुने धम्की । परम्परागत रूपमा चीन, अमेरिका र ताइवानबीचको विवादमा सीमित ताइवान प्रकरणमा जापान र दक्षिण कोरियालाई तानेकोप्रति चिनियाँ नेता थप क्रुद्ध हुने निश्चित छ । यसै साता मस्कोको भ्रमणमा चीनका रक्षामन्त्री ली साङफुले ताइवानको विषयमा हस्तक्षेप गरेर ‘आगोसँग नखेल्न’ चेतावनी दिएका थिए । त्यहाँ साङफुले ‘चीनलाई नियन्त्रण गर्न ताइवान प्रयोग गर्ने’ कुनै पनि प्रयास ‘असफलतामा टुंगिने’ बताए । 

क्याम्प डेभिड शिखर वार्तामा दक्षिण कोरियाका राष्ट्रपति युन सुक यियोल, अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री फुमियो किसिदा (बायाँबाट क्रमशः) । 

क्याम्प डेभिड रक्षा सम्झौता बाइडेन प्रशासनको एकपछि अर्को बेइजिङलक्षित कदमकै शृंखलामा आएको छ । तिनमा उन्नत चिप प्रविधिमा चीनको पहुँच खुम्च्याउने कदमदेखि, अस्ट्रेलिया र बेलायतसँगको तीनतर्फी सुरक्षा सम्झौता, अमेरिका–भारत–अस्ट्रेलिया–जापान सम्मिलित ‘क्वाड’ समूहको सुदृढीकरण र फिलिपिन्समा बढ्दो अमेरिकी सैन्य उपस्थिति आदि पर्छन् । अमेरिका, जापान र दक्षिण कोरिया नजिकिएको जवाफमा चीनले वासिंटन र उसका सहयोगीलाई चिढ्याउने रणनीति बढाएको छ । चीनले रुससँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ, जापानको सम्मुख र अमेरिकी राज्य अलास्कानजिकै । त्यस्तै शनिबारदेखि उसले ताइवानवरपरको क्षेत्रमा नयाँ चरणको हवाई र नौसेना अभ्यास सुरु गरेर ताइवानमाथि आफ्नो दाबी पुनः पेस गरेको छ । र, पहिलेदेखि नै दक्षिण चीन सागरमाथिको आक्रामकता विस्तार कायम नै छ ।

क्याम्प डेभिड रक्षा सम्झौताका हस्ताक्षरकर्ता राष्ट्र जापान, दक्षिण कोरिया र अमेरिकाले त्यसलाई रक्षात्मक प्रयास भनेका छन् भने चीनले त्यसलाई आफूलाई घेराबन्दी गरी उत्तेजित बनाउने प्रयासको रूपमा चित्रण गरेको छ

‘उत्तरपूर्वी एसियामा संयमताको सम्भवना कम हुँदै गएको छ, यस्तोमा सबै पक्षले आआफ्नोतर्फबाट दबाब बढाउँदै लानेछन्,’ अमेरिकी रक्षा मन्त्रालयका पूर्वअधिकारी तथा सिंगापुरको ली कुआन यू स्कुल अफ पब्लिक पोलिसीका आगन्तुक वरिष्ठ अनुसन्धानदाता ड्रयु थोम्पसनले भने । चीनले शनिबार ताइवानको वरिपरि क्षेत्रमा सुरु गरेको संयुक्त हवाई तथा नौसैनिक अभ्यासलाई ताइवानका उपराष्ट्रपति लाई चिङ–टेको अमेरिका भ्रमणको प्रतिक्रिया भनेको छ । चीनले ताइवानका उपराष्ट्रपति पाराग्वे भ्रमणका क्रममा अमेरिकामा ट्रान्जिटका लागि रोकिएको घटनाप्रति आपत्ति जनाएको छ । सैन्य अभ्यास अमेरिकाप्रति पनि निर्देशित हुन सक्छ, जसको ताइवानप्रतिको समर्थनमा बेइजिङले असन्तुष्टि जनाउने गरेको छ ।

बेइजिङले टोकियो र सियोललाई ताइवान मुद्दामा नजोडिन चेतावनी दिने गरेको छ । उसले वासिंटनलाई आफ्ना मित्रशक्तिलाई कठपुतलीका रूपमा व्यवहार गर्ने मालिकको रूपमा चित्रण गर्छ । बुधबार एक सम्पादकीयमा चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले क्याम्प डेभिडमा शिखर वार्तामा भाग लिन सहमति जनाएको दक्षिण कोरियालाई ‘आफ्नो शिक्षकबाट पुरस्कार पाउँदा दंग पर्ने सानो स्कुले बच्चा’सँग तुलना गर्‍यो । दक्षिण कोरियाले बाल उत्साहभन्दा ‘गहिरो डर र सावधानीको भावना’ प्रस्तुत गर्नुपर्ने सो सम्पादकीयमा सुझाब दिइएको छ ।

चीनले अमेरिका र उसका एसियाली मित्र शक्तिबीचको नश्लको भिन्नताको पनि कुरा उठाएको छ । गत महिना, चीनका विदेशमन्त्री वाङ यीले जापानी र दक्षिण कोरियाली नेताले जति नै कपाल पहेंलो रंगाए पनि वा जति नै नाक तिखारे पनि कहिल्यै युरोपेली वा अमेरिकी नबन्ने टिप्पणी गरे । त्यस्तै चिनियाँ विश्लेषकले २०औँ शताब्दीको प्रारम्भमा कोरियाली प्रायद्वीपमा जापानले गरेको क्रूरतालाई औल्याउँदै सियोल र टोकियोबीचको सम्बन्ध पूर्णता सौहार्दपूर्ण बन्न सक्नेप्रति शंका व्यक्त गरेका छन् । ‘उनीहरूबीचको सम्बन्धमा अझै धेरै अवरोध छ,’ फुदान विश्वविद्यालयअन्तर्गतको अन्तर्राष्ट्रिय अध्ययन संस्थानका प्राध्यापक झाओ मिङहोले भने, ‘बेइजिङले एकातर्फ चिन्ता र असन्तुष्टि व्यक्त गर्नेछ भने अर्कोतर्फ गठबन्धनका चिरामा निरन्तर निगरानी राख्नेछ ।’

बेइजिङले यही महिना जापान जाने चिनियाँ पर्यटकको प्रवाहलाई वृद्धि गरेर जापानमाथिको उसको आर्थिक प्रभावलाई संकेत गरेको छ । आज चीन जापान र दक्षिण कोरिया दुवैका शीर्ष व्यापारिक साझेदार मुलुक हो । यसले चीनले आर्थिक रूपमा बदला लिन सक्ने सम्भवनालाई पनि इंगित गर्छ । यसको एक उदाहरण सन् २०१७ मा देखिएको थियो, जब सियोलले अमेरिकी एन्टी मिसाइल प्रणालीलाई उसको भूमिमा तैनाथ गर्ने अनुमति दिँदा चीनले दक्षिण कोरियाली व्यवसाय र संगीत र फिल्म बहिष्कार गरेको थियो । 

युक्रेनमा रुसले युद्ध सुरु गरेदेखि जापान र दक्षिण कोरिया नेटोसँग नजिकिएका छन् । यसबाट चीन निकै सशंकित बनेको छ । जापानी प्रधानमन्त्री किसिदाले मार्चमा युक्रेनको आकस्मिक भ्रमण गरेर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटे । जापानले युक्रेनलाई १०० सैन्य ट्रक उपलब्ध गराइसकेको छ । त्यसयता एसियामा ‘मिनी–नेटो’ गठन हुने बेइजिङको डर थप बलियो बनेको छ । तर, शुक्रबार भएको सम्झौता नेटोजस्तो गठबन्धन गठन गर्ने खालको भने छैन । क्याम्प डेभिड सम्झौतामा अमेरिका, जापान र दक्षिण कोरियामध्ये कुनै एक देशको सुरक्षा खतरालाई सबैका लागि खतराको रूपमा व्यवहार गर्ने र आपसी छलफल गरेर प्रतिक्रिया दिने उल्लेख छ । यो नेटोको धारा ५ जतिको कडा प्रावधान होइन, जसमा कुनै एक सदस्यमाथि हुने आक्रमण भए सबैले जवाफी ‘कारबाही’ गर्नुपर्ने व्यवस्था छ । 

अब, चीनको ध्यान यो गठबन्धनमा फिलिपिन्सजस्ता अन्य देशहरू समावेश हुने गरी विस्तार हुने कुरातर्फ केन्द्रित हुने पूर्वचिनियाँ सैन्य अधिकारी तथा हाल विश्लेषक सङ झोङपिङले भने । सङका अनुसार यो गठबन्धनको विस्तार चीनका लागि ‘सबैभन्दा खराब अवस्था’ हुनेछ । किनकि त्यस विस्तारले ‘इन्डो–प्यासिफिक नेटो’ सिर्जना गर्नेछ । अमेरिका–चीन सम्बन्धका अध्येता सांघाई निवासी सेन डिङ्लीले नयाँ गठबन्धन रक्षात्मक प्रकृतिको भए यसले चीनलाई धम्की दिनु नहुने बताए । ‘जापान र दक्षिण कोरियाले बृहत्तर तस्बिर बुझेर चीनलाई संयुक्त रूपमा चुनौती दिँदैनन् भन्ने हामी विश्वास गर्छौं । किनभने तिनीहरू चीनलाई हराउन सक्षम छैनन् । यस अर्थमा चीन धेरै चिन्तित हुनुपर्ने आवश्यकता छैन,’ सेनले भने ।

(डेभिड पियर्सन द न्युयोर्क टाइम्सका लागि चिनियाँ विदेश नीति र विश्वसँग चीनको आर्थिक र सांस्कृतिक संलग्नताबारे लेख्छन् भने ओलिभिया वाङ द न्युयोर्क टाइम्सका लागि चीन र हङकङमा समाचार कभर गर्छिन् ।) 
– द न्युयोर्क टाइम्सबाट