![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/chita-das2023-08-21-09-32-22.jpeg)
नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखराका तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दासविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत आपराधिक विश्वासघात (ठगी) शीर्षकमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको छ । तेल अपचलन घटनाबारे अनुसन्धान गरिरहेको कास्कीस्थित इलाका प्रहरी कार्यालय, हंसुपरले २९ साउनमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
२५ साउनमा ग.२ख ८३६ नम्बरको ट्यांकरमा १२ हजार लिटरको पैसा लिएर स्थानीय पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोलपम्पलाई १५ हजार एक सय नौ लिटर डिजेल पठाउँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय, कास्कीको टोलीले ट्यांकर समातेको थियो । दासकै नेतृत्वमा एउटै ट्यांकरमा तीन हजार लिटरभन्दा बढी तेल अपचलन भएको घटना बाहिर आएपछि उनी सो दिन साँझदेखि फरार छन् । उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ ।
तेल अपचलन मुद्दामा अनुसन्धानमा तानिएका पश्चिमाञ्चल ट्रेडर्स डाँडाकोनाकका सञ्चालक एवं ट्यांकरका धनी बाबुराम जमरकट्टेलसमेत फरार छन् । उनीविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको जिल्ला प्रशासन कार्यालय, कास्कीले जनाएको छ । पक्राउ पुर्जी जारी भएका जमरकट्टेल लेखनाथ उद्योग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । उनी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका केन्द्रीय सदस्यसमेत हुन् । निगमले २६ साउनदेखि जमरकट्टेलको पम्पमा तेल ढुवानीसमेत रोकेको छ ।
इलाका प्रहरी कार्यालय, हंसपुरका डिएसपी प्रकाश दाहालले जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको बताए । जिल्ला अदालतले ३० साउनमा दोषी देखिएका चारजनालाई पक्राउ गरी थप अनुसन्धान गर्न प्रहरीलाई अनुमतिसमेत दिइसकेको छ ।
अदालतले अनुमति दिएसँगै सोही दिन घटनामा संलग्न रहेको आरोपमा गण्डकी धौलागिरि पोट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव ५१ वर्षे जगन्नाथ ढुंगानालाई प्रहरीले पक्राउ गरेको थियो भने डिपो प्रमुख दास र पेट्रोलपम्प सञ्चालकसँगै ट्ंयाकरका धनी जमरकट्टेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले ट्यांकरका चालक वर्ष २८ का निर्मल थापालाई २९ साउनमा पक्राउ गरेको थियो ।
कास्कीका कार्यवाहक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई घट्ना भएको भोलिपल्टै आवश्यक अनुसन्धान गर्न लेखिपठाएको जानकारी दिए । ‘घट्ना भ्रष्टाचारजन्य कसुरअन्तर्गत पर्ने भएकाले कारबाहीको प्रक्रिया सबै अख्तियारले गर्ने हो । त्यसैले जिप्रकाका तर्फबाट आवश्यक केही सहयोग गर्नुपरे तयार छौँ, तर सबै काम अख्तियारबाट हुने भएकाले अनुसन्धानको मुख्य जिम्मेवारी दिएका छौँ,’ उनले भने । अख्तियार पोखरा कार्यालयका प्रमुख बद्रीकुमार कार्कीले सो घट्नाको छानबिनका लागि आवश्यक पक्रिया सुरु भएको बताए ।
प्रारम्भिक रूपमा घट्ना हेर्दा भ्रष्टाचार निवारण ऐनसँगै अख्तियार दुरुपयोग ऐनसँग सम्बन्धित देखिएको कार्कीको भनाइ छ । आयल निगमका प्रवक्ता मनोज ठाकुरले आरोपित दास २५ साउन साँझदेखि कार्यालयको सम्पर्कमा नरहेको बताए । दासलाई २६ साउनमा निलम्बन गरेर उनको स्थानमा अभिषेक ठाकुरलाई पठाइसकिएको उनले जानकारी दिए ।