१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २७ शनिबार
  • Wednesday, 03 July, 2024
मुना कुँवर काठमाडाैं
२o८o श्रावण २७ शनिबार o७:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

पानीजहाज उद्योगमा कोरिया जान ३६ हजारको आवेदन 

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २७ शनिबार o७:५o:oo

कोरियाको पानीजहाज निर्माण क्षेत्रमा जान करिब ३६ हजार युवाले आवेदन दिएका छन् । गत २० साउनदेखि २४ गतेसम्ममा वैदेशिक रोजगार विभागमा ३५ हजार चार सय ८२ जनाको आवेदन परेको छ । त्यसमध्ये दुई हजार दुई सय ७६ जना भने महिला र एकजना अन्य समूहका छन् । 

आवेदन दिएका युवाबाट दुई हजार पाँच सय युवा छनोट गरिने विभागका इपिएस शाखा प्रमुख गुरुदत्त सुवेदीले बताए । पहिलो चरणमा विभागले भाषा परीक्षा लिनेछ भने दोस्रो चरणमा सीप परीक्षा लिनेछ । आगामी १ असोजदेखि भाषा परीक्षा सुरु हुने इपिएस शाखा प्रमुख सुवेदीले बताए । भाषा परीक्षालगतै विभागले सीप परीक्षा पनि लिनेछ । 

भाषा र सीप परीक्षामा उत्र्तीण भएका युवाको नाम विभागले रोस्टरमा राख्नेछ । रोस्टरमा सूचीकृत भएका कामदारमध्ये कोरियाली रोजगारदाताले छनोट गरेका युवासँग श्रम सम्झौता गर्नेछ । श्रम सम्झौतामा पनि रोजगारदाताले नै भिसा उपलब्ध गराएपछि श्रम स्वीकृति लिएर युवाहरू कोरिया जान सक्नेछन् । 

६ महिनाभित्रमा युवा कोरिया उड्ने
छनोट हुने युवाहरू ६ महिनाभित्र कोरिया उड्न पाउनेछन् । कोरियाको पानीजहाज निर्माण क्षेत्रतर्फ स्काफोल्ड, इन्सुलेसन, ग्रेन्डर, वेल्डिङ, पाइप मेसिनरी र इलेक्ट्रिक क्याबलिङ गरी पाँच क्षेत्रमा काम गर्न पाउनेछन् । कोरिया पुगेपछि पनि नेपाली श्रमिकलाई रोजगारदाताले तलबसहित दुई महिनाको सीप तालिम दिनेछ । तालिम लिएपछि श्रमिकले कार्यस्थल परिवर्तन गर्न चाहेमा अर्को त्यस्तै कम्पनीमा मात्र जान पाउनेछन् । पानीजहाज निर्माण क्षेत्रको रोस्टरको म्याद दुई वर्षको हुनेछ ।

विभागले यसअघि उत्पादनमूलक क्षेत्रका लागि छनोट भएर रोस्टरमा सूचीकृत भएका आठ सय ९२ श्रमिकलाई रोस्टर परिवर्तन गरी पानीजहाज क्षेत्रमा राखेको थियो । जसमध्ये दुई सय ३८ जना श्रमिक कोरिया पुगिसकेका छन् । यस क्षेत्रमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक दुई लाख रुपैयाँ हुनेछ । 

गत वर्ष करिब २३ हजार युवा कोरिया पुगे 
गत आर्थिक वर्ष ०७९/८० मा २२ हजार नौ सय २२ नेपाली युवा श्रमिक कोरिया पुगेका छन् । जसमध्ये १६ हजार ६ सय ८१ नयाँ श्रमिक थिए भने ६ हजार दुई सय ४१ पुराना श्रमिक पुनः कोरिया गएका थिए । इपिएस प्रणालीमार्फत श्रमिक कोरिया पठाउने नेपाल अग्रपंक्तिमा छ । कोरिया जाने श्रमिकको एक कार्यकालको अवधिमा चार वर्ष १० महिना हुन्छ । 

कोरिया जाने श्रमिकको रोस्टरमा हाल नौ हजार नेपाली युवा सूचीकृत छन् । जसमध्ये ६ हजार उत्पादनमा क्षेत्रका छन् भने तीन हजार कृषि क्षेत्रका छन् । सूचीकृतमध्ये तीन हजार पुराना श्रमिक छन् । पुराना श्रमिकमध्ये दुई हजार पाँच सय उत्पादन क्षेत्रका छन् भने पाँच सय कृषि क्षेत्रमा गएका इपिएस प्रमुख सुवेदीले बताए । 

हालसम्म कोरियामा ८९ हजार नेपाली युवा पुगिसकेका छन् । गत आवमा करिब २३ हजार श्रमिक कोरिया पुगे । कोरिया र नेपालबीच सन् २००७ मा श्रम सम्झौता भएको थियो । सम्झौताअनुसार कोरियाले सन् २००८ देखि नेपालबाट कामदार लैजान सुरु गरेको हो । कोरियाले कृषि तथा उत्पादन क्षेत्रका लागि नेपालबाट कामदार लैजाने गरेको छ । कोरियाले नेपालबाहेक बंगलादेश, म्यानमार, चाइना, भियतनाम, कम्बोडिया, लाओसलगायत १६ वटा मुलुकबाट कामदार लैजाने गरेको छ । 

कोरिया सरकारले यसअघि प्रत्येक मुलुकका लागि श्रमिकको कोटा छुट्याउँदै आएको थियो । तर, यो वर्ष भने कोटा प्रणाली हटाएको छ । आफ्नो रोजगारदाताको छनोटमा जति पनि श्रमिक कोरिया जान सक्ने व्यवस्था गरिदिएको छ । तसर्थ, यो वर्ष हालसम्मकै अधिक नेपाली श्रमिक कोरिया पुगेका छन् । 
 

ad
ad
ad
ad