१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
अनिल यादव काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o६:२३:oo
Read Time : > 9 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘फ्रस्टेड’ छन् नेपाली युवा वैज्ञानिक 

Read Time : > 9 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:२३:oo

विज्ञान र प्रविधिको क्षेत्रमा हुटहुटी भएका युवालाई राज्यले प्रोत्साहन र सहयोग नगर्दा अधिकांश दक्ष जनशक्ति विदेश भासिएको छ, स्वदेशमै भएका कतिपय अन्य पेसातर्फ मोडिएका छन् 

तीन वर्षअघि मोहन तामाङ, उज्ज्वल ढकाललगायत युवा इन्जिनियरको समूह विश्वकै ठूलो रकेट इन्जिनियरिङ प्रतियोगिता ‘स्पेसपोर्ट अमेरिका कप’मा छनोट भयो । त्यसपछि उनीहरू नेपालमै रकेट बनाएर उडाउने तयारीमा लागे । सन् २०२१ मार्चमा धनुुषाको भिमानमा उनीहरूले नेपाली सेनासँगको सहकार्यमा पहिलोपटक ‘आरम्भ’ र ‘गरुडा’ नामक रकेटको परीक्षणसमेत गरे ।

पटक–पटकको परीक्षणमा करिब १० किलोमिटर उचाइसम्म सफलतापूर्वक रकेट उडाए । तर, राज्यले सहयोग नगर्दा उनीहरू आफ्नो मिसनमा अझै सफल हुन सकेका छैनन् । आवश्यक बजेटका लागि सरकारी निकाय धाउँदाधाउँदै उनीहरू नै थाकिसके । रकेट बनाउन सुरु गर्दा ३० जना युवा इन्जिनियर भएको समूह अहिले पाँचजनामा सीमित भएको छ । 

‘कोही लोकसेवाको जागिर खान गए, कोही अमेरिका, कोही अस्ट्रेलिया,’ अझै पनि कम्तीमा ५० किलोमिटर उचाइसम्म सफलतापूर्वक रकेट उडाएरै छाड्ने अठोट बोकेका मोहन तामाङले भने, ‘तर, हामीले हरेस खाएका छैनौँ । अहिले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा काम गरिरहेका छौँ । रकेट उडाउन सानोतिनो बजेटले हुँदैन । ठूलो बजेट चाहिने भएकाले ठुल्ठूलो निकायमा धाएको धेरै भयो । प्रधानमन्त्री कार्यालयसम्म पुग्यौँ, तर सुनुवाइ भएको छैन ।’ साह्रै कम खर्चमा गर्दा पनि कम्तीमा १५ करोड बजेट लाग्ने उनले बताए ।

आर्थिक अभावका कारण लामो समय यो समूह स्वयंसेवाका रूपमा रकेट निर्माणमा लाग्यो । तर, राष्ट्रिय आविष्कार केन्द्रसँग जोडिएपछि भने उनीहरूले थोरै भए पनि ‘पकेट मनी’ पाउन थालेका छन् । ‘सधैँ स्वयंसेवा गर्न पनि सकिँदैन,’ तामाङले भने, ‘त्यही भएर धेरै साथी आ–आफ्नो बाटो लागे । राज्यका निकायले रुचि नदेखाएसम्म हाम्रो पहलले मात्रै केही हुनेवाला छैन । नेपालीहरू नासासम्म त पुगेका छन्, मंगल ग्रहमा पानी पनि पत्ता लगाएका छन् । ठुल्ठूला रिसर्च पनि गरेकै छन् । नेपालीसँग क्षमता नभएको होइन, तर प्लेटफर्म सिर्जना नहुँदा पछाडि पर्न बाध्य भयौँ ।’

युवा इनोभेटर उज्ज्वल ढकालले नेपालमा करिअर नदेखेर ८० प्रतिशत युवा वैज्ञानिक, आविष्कारक र इन्जिनियर विदेश पलायन भएको बताए । ‘८० प्रतिशत त विदेश गएका छन्, भएको २० प्रतिशत पनि सरकारी निकायमा भौँतारिइरहेका छन्,’ उनले भने, ‘अहिले नेपालमा स्पेस इन्डस्ट्री छैन । भर्खरै पुल्चोकमा एयर स्पेस इन्जिनियरिङको पढाइ सुरु हुन थालेको छ । त्यस्तो अवस्थामा हामीले यसको बजार सिर्जना गर्न खोज्दै छौँ । अबको १० वर्षपछि स्पेस इन्डस्ट्री चम्किनेवाला छ ।’

नेपालमा वैज्ञानिक र आविष्कारक कति छन् भन्ने ठ्याक्कै तथ्यांक कसैसँग छैन । तर, कुटो–कोदालो बनाउने, इलेक्ट्रिक गाडी, रोबोट आदि निर्माणदेखि रकेट उडाउनेसम्मको प्रयत्न भने भइरहेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्रवक्ता डा. रवीन्द्रप्रसाद ढकालले नेपालमा वैज्ञानिकको यकिन तथ्यांक कसैसँग नरहेको बताए । ‘युनिभर्सिटीमा कुल विद्यार्थीको करिब १५ प्रतिशत विद्यार्थी विज्ञानतिर लागेका छन्,’ उनले भने, ‘सन् २०१० को तथ्यांकले प्राविधिक क्षेत्रमा लागेका जनशक्ति सबै जोड्दा करिब एक लाख हाराहारीको तथ्यांक देखिएको थियो । अहिले त्यसको तीन गुणा बढेको हुनुपर्छ । तर, विडम्बना अरू जनसंख्याको तुलनामा प्राविधिक जनशक्ति पलायन हुने क्रम बढेको छ ।’

राज्यले रोक्न नसकेका कारण विज्ञान र प्रविधि क्षेत्रका दक्ष जनशक्ति कोही अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा गइरहेको उनको भनाइ छ । ‘तर, नेपालमै बसेर केही गर्नुपर्छ भन्ने हुटहुटी पनि बिस्तारै देखिँदै छ,’ उनले भने, ‘संख्याका हिसाबले हेर्ने हो भने नेपालमा उम्दा र क्षमतावान् वैज्ञानिक र प्राविधिकहरू करिब एक–दुई हजार मात्रै होलान् । काम गर्न सकिन्छ, तर अवसर पाइनँ भन्ने संख्या करिब १० हजारजति होला । उनीहरू राज्यको सहयोग कुरिरहेका छन् ।’

नेपालका युवा वैज्ञानिक तथा इनोभेटरहरू अहिले नास्ट र राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरेर अध्ययन, अनुसन्धान र आविष्कारका काम गरिरहेका छन् । नास्टले इनोभेटरहरूलाई जोड्न नेसनल इनोभेसन डिजिटल नेटवर्क नै स्थापना गरेको छ । जसअन्तर्गत करिब ७०–८० युवा वैज्ञानिक र इनोभेटरहरू जोडिएको प्रवक्ता ढकालले बताए । 

राष्ट्रिय आविष्कार केन्द्रसँग अहिले ७० जति युवा इनोभेटर जोडिएको वैज्ञानिक महावीर पुनले बताए । तर, अहिलेको स्थितिमा नेपालमा युवा वैज्ञानिक तथा इनोभेटरको भविष्य अन्धकार देख्छन् उनी । पुनलाई भेट्न कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा पुग्दा त्यहीँ भेटिए– रकेट उडाउन प्रयत्नरत मोहन तामाङ र उज्ज्वल ढकाल । पुनले युवा वैज्ञानिकहरू नेपालमा ‘फ्रस्टेड’ अवस्थामा रहेको बताए । ‘फ्रस्टेड छन् उनीहरू,’ पुनले भने, ‘क्षमताले भ्याएसम्म सहयोग गरिरहेका छौँ, तर उनीहरूलाई भनेजस्तो जागिर दिन सकेका छैनौँ । तीन वर्षभित्र केन्द्रका तर्फबाट करिब ३० लाख रकम खर्च गर्‍यौँ, तर युवा वैज्ञानिकलाई खुसी पारेर राख्न सकेका छैनौँ । युवा वैज्ञानिकलाई खुसी बनाउन सरकारले नीति निर्माण गर्नुपर्छ भनेर धर्ना बसेकै हो ।’

नीति निर्माणका लागि अहिलेसम्म शिक्षा मन्त्रालयबाट तीनवटा ड्राफ्ट बनेको, तर सबै रिजेक्ट गरेको उनले बताए । ‘जम्मा २५ प्रतिशत भयो, अझै ७५ प्रतिशत पुगेन भनेर रिजेक्ट गरेको हो,’ उनले भने, ‘किनभने जस्तो नीति बनेको थियो, त्यसले युवा वैज्ञानिकलाई नेपालमै बसिरहन प्रोत्साहन गर्दैन । अहिले धेरैजसो इनोभेसनमा लागेका र विज्ञान पढेकाहरू नेपाल छाडेर विदेश गइरहेका छन् । अब युवा वैज्ञानिक, इन्जिनियर र प्राविधिकलाई नेपालमा राख्न बलियो नियम, कानुन र सहयोग सँगसँगै आउन आवश्यक छ ।’ विदेश पलायन भएर सफल भएका वैज्ञानिकलाई वेलावेलामा नेपाल आउने अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ । ‘अहिले अमेरिकादेखि युरोपका हरेक युनिभर्सिटीमा भेटिन्छन् नेपालका युवा वैज्ञानिक,’ उनले भने, ‘किनभने उनीहरूलाई नेपालमा बस्ने वातावरणका लागि राज्यले कहिल्यै पहल गरेन । यस्तै स्थिति भइरहने हो भने नेपालमा युवा वैज्ञानिकको भविष्य अन्धकार छ ।’

नेपालमा विज्ञानको क्षेत्रमा केही हुँदै नभएको भने होइन । ०७६ मै नेपालको पहिलो स्याटेलाइट (भूउपग्रह) अन्तरिक्षमा प्रक्षेपण भइसकेको छ । भूउपग्रहको नाम थियो– नेपालीस्याट– १, जसलाई अमेरिकाको भर्जिनियास्थित नासाको वालोप्स प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । यो भूउपग्रहलाई जापानको क्युटेक विश्वविद्यालयसँगको सहकार्यमा नेपाली दुई युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले निर्माण गरेका थिए । दुई वर्षअघि नास्टले ‘पदयात्री’ नाम दिएर नेपालीस्याट– २ का रूपमा दोस्रो अन्तरिक्ष अभियानको घोषणा गरे पनि अहिलेसम्म त्यो सम्भव हुन सकेको छैन । नास्टका प्रवक्ता ढकालले यो परियोजनाको नाम परिवर्तन गरेर ‘डाँफे र मुनाल’ राखिएको र काम भइरहेको बताए । इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभलपमेन्ट (इन्सटेड)सँगको सहकार्यमा सन् २०२२ सम्म प्रक्षेपण गर्ने लक्ष्य राखिएको यो परियोजना प्राविधिक कारणले समयमा सम्पन्न हुन नसकेको ढकालले बताए । ‘कहिले लन्च हुन्छ, ठ्याक्कै भन्न सकिने अवस्था छैन,’ उनले भने ।

कुन वैज्ञानिकले के बनाए, के बनाउँदै छन् ?
नास्टअन्तर्गतको नेसनल इनोभेसन डिजिटल नेटवर्कसँग जोडिएर मात्रै ८१ वटा इनोभेसनका काम भइरहेका छन् । तीमध्ये कति देशव्यापी प्रयोगमै आइसके भने कति निर्माणको चरणमा छन् । निर्माणको चरणमा रहेका अधिकांश प्रोजेक्टमा आर्थिक समस्या प्रमुख रूपमा रहेको नेटवर्कको वेबसाइटमा उल्लेख छ । अरू क्षेत्रमा खासै उपलब्धि हुन नसके पनि नेपालमा रोबोटिक्सको क्षेत्रमा व्यापक काम भइरहेको रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष विकास गुरुङले बताए । ‘नेपालमा रोबोट वार खेलेरै पैसा कमाउन थालिसकेका छन् । यतिसम्म कि अब हामी रोबोटको फुटबल प्रतियोगिता पनि गराइरहेका छौँ,’ उनले भने । 

रोबोटिक्स (रोबोटको डिजाइन, निर्माण, सञ्चालन र प्रयोग)को लक्ष्य नै मानिसलाई मद्दत र सहयोग गर्न सक्ने मेसिनहरूको डिजाइन गर्नु हो । चाहे कार्यक्रममा रिबन काटेर उद्घाटन गर्न सघाउने रोबोट होस् या किसानलाई खेतमा मल छर्न सघाउने कप्टर ड्रोन, नेपालमा रोबोटिक्स एसोसिएसनले नै यसको निर्माण गरिरहेको छ । सन् २०१० मा स्थापना भएको एसोसिएसनले सन् २०३० भित्र नेपालमा पाँच सयवटा प्रडक्ट इनोभेसन गर्ने लक्ष्य लिएको अध्यक्ष गुरुङले बताए । ‘देशैभर रोबोटिक्सको क्षेत्रमा धेरै युवाले काम गरिरहेका छन्,’ उनले भने, ‘हामी प्रडक्ट मात्रै होइन, त्यसलाई बजारमा व्यावसायिक हिसाबले पुर्‍याउने गरी नै लागेका छौँ । २० वर्षमा कम्तीमा पाँच सय इनोभेटर बजारमा ल्याउने हाम्रो लक्ष्य हो । ६ महिनाभित्र पाँचवटा नयाँ रोबोटिक्स डिभाइस लन्च गर्दै छौँ ।’

एसोसिएसनसँग मात्रै रोबोटिक्सको क्षेत्रमा देशभरका एक सय ५० युवा सदस्य छन् । सदस्यता नलिईकन पनि यो क्षेत्रमा लागेकाहरू चार हजारभन्दा बढी रहेको गुरुङले बताए । आगामी दसैँताका आयोजना हुने विश्वकै ठूलो रोबोटिक्स प्रतियोगितामा नेपालबाट पनि सहभागिता जनाउने तयारी भइरहेको उनले बताए । चीनमा हुन गइरहेको विश्व रोबोट सम्मेलन र अक्टोबरमा कोरियामा हुने रोबोट वल्र्ड, २०२३ मा पनि गुरुङ स्वयंले नेपालका तर्फबाट सहभागिता जनाउँदै छन् ।

रोबोटिक्स एसोसिएसन अफ नेपालको समूहले कृषक कप्टर ड्रोन बनाउँदै छ । यसले आफ्नो अनुसन्धान प्रयोगशालामा कृषक हेलिकोप्टर ड्रोनलाई भेला गरेर खेतमा मल छर्न सहज होस् भन्ने हिसाबले काम गरिरहेको छ । देशभरका हटस्पट क्षेत्रमा रसायन स्प्रेमार्फत लामखुट्टेको लार्भा मार्न पनि यो ड्रोन प्रयोग गर्न सकिने निर्माणकर्ताको दाबी छ ।

अचेल देशका ठुल्ठूला कार्यक्रममा प्रयोग भइरहेको ‘उद्घाटन रोबोट’ पनि रोबोटिक्स एसोसिएसनले नै निर्माण गरेको हो । यो उद्घाटन रोबोट एउटा सानो कम्प्याक्ट रोबोट हो, जसलाई मोबाइल एपको एउटा बटन थिचेर कुनै पनि कार्यक्रममा रिबन काट्नका लागि प्रयोग गर्न सकिन्छ । यो रोबोट रङ छुट्याउन, रिबनको दूरी गणना गर्न र काम सकिएपछि आफैँलाई बन्द गर्न सक्षम छ । ‘अटोमेटेड डी–हस्किङ मेसिन’ पनि एसोसिएसनले नै बनाएको हो । बिउबाट बोक्रा हटाउने प्रक्रियालाई ‘डी–हस्किङ’ भनिन्छ । रोबोटिक्सले नै नेपालमा यो मेसिन बनाएर देशव्यापी प्रयोगमा ल्याइसकेको छ । 

रोबोटिक्स एसोसिएसनले नै ‘कम्प्युटराइज्ड न्युमेरिकल कन्ट्रोल मिलिङ मेसिन’ र ‘इलेक्ट्रिक बारबेक्यु मेसिन’समेत निर्माण गरिरहेको छ । बारबेक्यु मेसिनले इन्धनको स्रोतका रूपमा कोइलाको प्रयोगलाई समावेश गर्ने र पंखाको सहारामा कोइला जलाइनेछ । साथै, उसले ‘हाइअल्टिच्युड लोरा रिमोर्ट–वेदर स्टेसन’ निर्माण गरिरहेको छ । यसलाई उच्च मौसम स्टेसनमा दुरुस्त उपयोग वा दुर्गम वा पुग्न कठिन स्थानमा वास्तविक समयको मौसमसम्बन्धी प्यारामिटर मापनका लागि प्रयोग गर्न सकिन्छ । यो स्टेसनबाट कम खर्चमा लामो दूरीसम्मको डाटा सञ्चार गरेर प्रसारण गर्न सकिने बताइएको छ । यी स्टेसनहरूद्वारा संकलित डाटालाई मौसम पूर्वानुमान, जलवायु अनुसन्धान र वातावरणीय अवस्था अनुगमन गर्न प्रयोग गर्न सकिन्छ । 

रोबोटिक्सबाहेक अन्य क्षेत्रमा पनि आविष्कारका थुप्रै काम भइरहेका छन् । हिमपहिरोपीडितका लागि पाँचजना युवाको समूहले नास्टसँगको सहकार्यमा माउन्ट एभरेस्ट क्लाइम्बर ट्रयाकिङ सिस्टम निर्माण गरिरहेको छ । यो स्याटलाइटबेस्ड ट्रयाकिङ सिस्टम हो, जसले पवर्तारोहीलाई ट्रयाक गर्न सक्छ । यो प्रणाली हिमपहिरोपीडितका लागि प्रयोग गर्ने गरिन्छ । यसको निर्माणमा युवा इनोभेटर हेमन्त शाह, स्मृति कट्टेल, हरिप्रसाद चौधरी, मोहन तामाङ र सुमन पौडेल लागेका छन् । 

यही समूहमा रहेका सुमन पौडेलसहित विजयराज शाहीले एग ह्याचिङ मेसिन देशव्यापी प्रयोगमा ल्याइसकेका छन् । जसलाई ‘पोथी’ नाम दिइएको छ । पोथीले थोरै मात्रामा अन्डा ह्याचिङ गर्ने स्मार्ट मेसिन उत्पादन गरिरहेको छ । हाल यस्ता मेसिन विदेशबाट धेरै आयात भइरहेका छन् । तर, पोथीले यसमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको निर्माणकर्ताको दाबी छ । आर्थिक सहयोग भए यसको उत्पादनलाई बढाउन सकिने उनीहरूको भनाइ छ । पौडेलले नै ‘सेनेटरी प्याड डिस्पोजल मेसिन’ पनि निर्माण गरिसकेका छन् । प्रयोग गरिएका सेनेटरी प्याडलाई सुरक्षित रूपमा डिस्पोज गर्न सेनेटरी न्यापकिन इन्सिनरेटर मेसिन प्रयोग गरिन्छ । प्रायः डस्टबिन वा खुला सतहमा फालिने प्याडलाई व्यवस्थापन गर्न यो मेसिन निर्माण गरिएको हो ।

नास्टसँगको सहकार्यमा पौडेलले लगातार नयाँ–नयाँ प्रडक्ट इनोभेट गरिरहेका छन् । अहिले उनी एक्लै सेल्फ बोर्डिङ पास निर्माण गरिरहेका छन् । 

नेसनल इनोभेसन डिजिटल नेटवर्कसँगको सहकार्यमा आवाज समूहले सूचना आदान–प्रदानका लागि ‘आवाज’ नामक प्रविधि निर्माण गरिरहेको छ । यो प्रविधिको प्रमुख काम सूचना प्रदान नै हो । यसमा हार्डवेयर र सफ्टवेयर गरी दुई पाटो रहेको र हार्डवेयरलाई आवश्यक परेको स्थानमा राखी कम्प्युटर र स्मार्ट फोनको सहयोगबाट सूचनालाई आवाजमार्फत पठाउन सकिने समूहको दाबी छ । यो सञ्चालनमा आएपछि यसको प्रयोग आपत्कालीन सूचना दिन एयरपोर्ट, रंगशाला, बसपार्क, रेल स्टेसन, विद्यालय, होटेल, प्रहरी परिसर, सैनिक परिसरलगायत थुप्रै ठाउँमा प्रयोग गर्न सकिने बताइएको छ ।

नास्टसँगको सहकार्यमा लुना जिपिएस समूहले निर्माण गरिरहेको यातायात ट्रेकिङ सिस्टम अहिले पाइलटिङको चरणमा छ । लुना जिपिएस नाम राखिएको यसलाई यातायात ट्रयाकिङ सिस्टम र सवारीसाधन दुर्घटनाको जानकारी दिने प्रविधि भनिएको छ । यो प्रविधि दुईपांग्रेदेखि माथिका सबै सवारीसाधनमा प्रयोग गर्न सकिने बताइएको छ । यसले सवारी रियल टाइम ट्रयाकिङ, प्ले ब्याक हिस्ट्री, क्र्यास डिटेक्सन, मोसन डिटेक्सन, ओभर स्पिड, जियो फेन्सिङ, एसएमएस अलर्ट, इमेल अलर्टजस्ता ३० भन्दा बढी विषयको जानकारी अनलाइन तथा अफलाइनबाट दिन सकिन्छ । यो प्रविधि सार्वजनिक सवारीसाधन, स्कुलबस, व्यक्तिगत सवारीसाधन र सबै सवारीसाधनमा प्रयोग गरी निगरानी गर्न सकिने र चोरी हुनबाट बचाउन सकिने बताइएको छ ।

नास्टकै सहयोगमा इनोभेटर सोहन कैनीले इलेक्ट्रिक साइकल बनाइरहेका छन् । दीपेन्द्र जोशी र आयुषमान चौधरीले ह्युमनाइट रोबोट बनाएर देशव्यापी प्रयोगमा आइसकेको छ । युवा इनोभेटर निश्चल पौडेलले ‘खोजयन्त्र’ निर्माण गर्दै छन् । हराएको उपकरणलाई लोकेसन ट्रयाकिङ गरेर खोज्न सघाउने डिभाइसका रूपमा यसलाई ल्याउने उनको तयारी छ ।

त्यस्तै झापामा जंगली हात्तीको आतंक रोक्न युवा वैज्ञानिक अनिल प्रधानले साइरन ड्रोन बनाएका छन् । देशव्यापी प्रयोगमा आइसकेको यो ड्रोन  हात्ती आतंकबाट पीडित मेचिनगर क्षेत्रमा सफल परीक्षण समेत भइसकेको छ । ०७६ कार्तिकमै हात्तीले किसानको खेतमा पसेर धान खाइरहेका बेला ड्रोन उडाएर हात्ती धपाइएको थियो । हात्ती आंतक रहेको बाहुनडाँगी क्षेत्रमा अहिले हात्ती धपाउन ड्रोन साइरनले मद्दत गरिरहेको छ । यो ड्रोनको आवाज सिंहको गर्जन र मौरी भुनभुनाएको जस्तो सुनिने गरी डिजाइन गरिएकाले हात्ती भाग्ने गरेको छ । 

महावीर पुनको आविष्कार केन्द्रमा के–के बन्दै छ ?
वैज्ञानिक महावीर पुनले सञ्चालनमा ल्याएको राष्ट्रिय आविष्कार केन्द्रमा हवाई टनेल (विन टनेल) निर्माण भइरहेको छ । विश्वमा प्रयोगमा आइसके पनि नेपालमा भने पहिलोपटक निर्माण भइरहेको हो । यसलाई नौ युवा वैज्ञानिकको टोलीले बनाइरहेको छ । ‘रकेट, ड्रोनलगायतलाई फोकस्ड गरेर यो टनेल बनाइरहेका छौँ । सम्भवतः दुई महिनाभित्र काम सम्पन्न हुनेछ,’ युवा वैज्ञानिक प्रकाश सिंहले भने ।

डा. महावीर पुन, संस्थापक, राष्ट्रिय आविष्कार केन्द्र
युवा वैज्ञानिक अहिले फ्रस्टेड अवस्थामा छन् । क्षमताले भ्याएसम्म सहयोग गरिरहेका छौँ, तर उनीहरूलाई भनेजस्तो जागिर दिन सकेका छैनौँ । तीन वर्षभित्र केन्द्रका तर्फबाट करिब ३० लाख खर्च गर्‍यौँ, तर युवा वैज्ञानिकलाई खुसी पारेर राख्न सकेका छैनौँ । युवा वैज्ञानिकलाई खुसी बनाउन सरकारले नीति निर्माण गर्नुपर्छ भनेर धर्ना बसेकै हो । इनोभेसन र विज्ञान पढेकाहरू विदेश गइरहेका छन् । युवा वैज्ञानिकलाई नेपालमा राख्न बलियो नियम, कानुन र सहयोग सँगसँगै आउन आवश्यक छ । विदेश पलायन भएर चर्चा कमाएका युवा वैज्ञानिकलाई वेलावेलामा नेपाल आउने अवसर सिर्जना गर्नुपर्छ । 

राष्ट्रिय आविष्कार केन्द्रभित्रै बायोमेडिकल डिपार्टमेन्ट छ, जहाँ अस्पतालमा आवश्यक सामग्री उत्पादनका काम भइरहेका छन् । बायोमेडिकल इन्जिनियर उमेश किराँतको संयोजकत्वमा पारस पौडेल, अभिनव दत्त, समीर अर्याल, रितु श्रेष्ठ, आविष्कार अधिकारी र विनिता मण्डलको युवा समूह त्यसमा खटिएको छ । बेबी वार्मरका रूपमा चर्चित ‘न्यानो नानी’ उनीहरूले नै निर्माण गरेका हुन् । देशभरका ७७ ठाउँमा यो प्रडक्ट प्रयोगमा समेत आइसकेको समीर अर्यालले बताए । ‘भर्खरै जन्मिएको बच्चालाई निमोनिया हुने गर्छ, त्यसैले उनीहरूको बडी टेम्प्रेचर मेन्टेन गर्न यो डिभाइस बनाएका हौँ । यसलाई अझ सुधार गरेर यसको भर्सन २ मा अहिले काम गरिरहेका छौँ,’ उनले भने ।

दुई वर्षअघि गाउँमा इलेक्ट्रिक मोटरसाइकल बनाएर चर्चा कमाएका अर्घाखाँची सन्धिखर्कका सागर पोखरेल, सविन कटुवाल, राजीवकुमार साह, श्याम ठाकुरलगायत आठजनाको समूह अहिले इलेक्ट्रिक गाडी बनाउँदै छ । ‘इलेक्ट्रिक कन्भर्जन भनिन्छ यसलाई । पेट्रोल–डिजेलबाट चल्ने गाडीलाई इलेक्ट्रिकमा कन्भर्ट गर्ने हो,’ कटुवालले भने, ‘यो निर्माणभन्दा रूपान्तरण हो । अब थोरै सफट्वेयरको काम बाँकी छ । सम्भवतः एक साताभित्र यो गाडी तयार हुन्छ ।’

लगत्तै इलेक्ट्रिक हायस बनाउने तयारी रहेको पोखरेलले बताए । पोखरेलले २५ कात्तिक ०७८ मा विद्युत्बाट चल्ने मोटरसाइकल बनाएर सन्धिखर्कको टुँडिखेलमा प्रदर्शन गरेका थिए । ४५ देखि ५० किलोमिटरको गतिमा चल्ने विद्युतीय मोटरसाइकललाई उनले करिब दुई वर्ष लगाएर घरमै निर्माण गरेका थिए । ‘१० कक्षा पढ्दैदेखि सुरु गरेको थिएँ,’ उनले भने, ‘धेरैपल्ट बनाउँदै बिगार्दै गरेँ । प्लस टुमा पुग्दा बनाउन सफल भएँ । अब लामो दूरीको यात्राका लागि इलेक्ट्रिक हायस बनाउने तयारी छ ।’ आविष्कारको क्षेत्रमा काम गर्न सक्ने नेपाली जनशक्ति धेरै रहे पनि राज्यले आवश्यक सहयोग गर्न नसकेको पोखरेलले गुनासो गरे । ‘राज्यले जति गर्नुपर्ने हो, त्यसमा अपुग छ,’ उनले भने, ‘धन्न राष्ट्रिय आविष्कार केन्द्रले ठाउँ दिएको छ । आफूसँग बलियो डेटा भएपछि राज्यसँग सहयोग माग्न जानुपर्छ । आशा मार्नुहुँदैन ।’

नास्टमा कार्यरत युवा वैज्ञानिक डा. शिव सुवेदीलगायतको समूह भूकम्प पूर्वसूचना प्रणाली ल्याउन लागिरहेको छ । ‘विकसित देशमा भूकम्प आउनुभन्दा पहिले अर्ली वार्निङ राख्ने चलन छ,’ सुवेदीले भने, ‘कतै भूकम्प गयो भने मान्छेलाई अर्को ठाउँमा मोबाइलमा भूकम्प गएको म्यासेज पठाएर बचाउने प्रणाली हो यो । गोरखाको बारपाकभन्दा पश्चिमको क्षेत्रमा जुनसुकै वेला ९ रेक्टरको भूकम्प जान सक्छन् भन्ने प्रक्षेपण छ । त्यस्तो अवस्थामा दुई लाख मान्छे मर्न सक्छन् । त्यसैले मान्छे बचाउनुपर्छ भनेर हामी यसमा लागिरहेका छौँ । अहिले विश्वभर भूकम्पबाट बच्ने एउटै उपाय यही हो । यसमा बजेट धेरै लाग्ने भएकाले राज्यले सहयोग गर्छ भन्ने अपेक्षा छ ।’

ad
ad