१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
डा. ध्रुव बी. खड्का
२o८१ बैशाख १८ मंगलबार o७:२२:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

नास्टको निमित्त तन्द्रा कहिलेसम्म ?

Read Time : > 4 मिनेट
डा. ध्रुव बी. खड्का
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:२२:oo

निमित्त नेतृत्वको गतिहीन तन्द्रामा झकाइरहेको देशको विज्ञान प्रविधि क्षेत्रको एक मात्र थिंक ट्यांक नास्टलाई बिउँझाउन ढिलो भयो

विश्व विज्ञान आर्किमिडिज, ग्यालिलियो, आइन्स्टाइन, माक्स प्लांक, स्टेफिन हकिंगजस्ता महान् वैज्ञानिकले खनेको विज्ञानको फराकिलो राजमार्गदेखि चाल्स ब्याबेज, अलन टुरिंग, बिल गेट्स, एलन मस्क र मार्क जुकरबर्गहरूको पुस्ताले पहिल्याएको सूचना–प्रविधि तथा एआई विकासको लोकमार्ग हुँदै असीमिति ब्रह्माण्डमा विचरण गरिरहेको छ । २१औँ शताब्दीमा आइपुग्दा विज्ञान यति हाबी भयो कि, विज्ञान र प्रविधिको विकासलाई देशको आर्थिक तथा सामाजिक सम्बन्धसँग जोड्न नसक्ने देशहरू तेस्रो विश्वमा दर्ज भएका छन् । 

अबको शताब्दीमा प्रविधि विकासको अपनत्वले नै त्यो देशको सामर्थ्य प्रतिबिम्बित गर्छ । तर, हामी भने प्रविधिको उपभोक्ताभन्दा माथि उठ्न सकेका छैनौँ । हाम्रो सामर्थ्य गिर्दो छ । प्रविधिको सामर्थ्य निर्माण गर्न कोर विज्ञानको गहिरो खोज आवश्यक हुन्छ । विज्ञानलाई प्रविधिमा रूपान्तरण गर्न निपुण विख्यात भौतिकशास्त्री इडवार्ड टेलरलाई न्युक्लियर फ्युजनको कोर विज्ञानमा आधारित थर्मोन्युक्लियर ऊर्जा सदुपयोगको प्राविधिक अवधारणाका पिता मानिन्छ । विज्ञान–प्रविधिको अन्तरसम्बन्धबारे उनको चर्चित भनाइ ‘आजको विज्ञान भोलिको प्रविधि हो’ को गुरुत्व अबको नेतृत्वले बुझ्नुपर्छ । मानव सभ्यतामा अकल्पनीय तरक्की गरेको विज्ञान–प्रविधिको जग हाम्रै जमिनमा खन्न सकेका छैनौँ हामीले । हाम्रा २० वटाजति विश्वविद्यालय मात्र होइन, केही थान अनुसन्धान केन्द्र पनि दशकौँदेखि क्रियाशील छन् । तर, यिनले विज्ञान–प्रविधिको रथलाई देशले महसुस गर्ने गरी एक कदम पनि धकेल्न सकेका छैनन् । शुद्ध विज्ञानको भाषामा भन्दा कार्यपरिणाम शून्य देखिएको छ । यही चालाले नेपाल प्रविधि विकासको यात्रा सपनामा सीमित हुने निश्चितप्रायः छ । 

नेपाली विज्ञान तथा प्रविधिको इतिहास : साँच्चै भन्नुपर्दा हाम्रो विज्ञान–प्रविधिको इतिहास त्यति टिठलाग्दो चाहिँ थिएन । नेपालको पहिलो वैज्ञानिक÷प्राविधिक गेहेन्द्र शमशेरको टोलीले आजभन्दा १२३ वर्षपहिल्यै गेहेन्द्र राइफल, वीर–गनजस्ता हतियार र तोप बनाएका थिए । उनले त्यस समयमा प्रयोगशाला स्थापना गरी व्यवस्थित वैज्ञानिक अनुसन्धान र आविष्कार कार्य नै थालेका थिए भन्ने इतिहासमा उल्लेख गरेको पाइन्छ । चाखलाग्दो कुरा के छ भने गेहेन्द्रको टोलीले आजभन्दा लगभग १२५ वर्षपहिले (वि.सं. १९५६) मा अमेरिकी मोटर कम्पनी फोर्डको कारलाई डिसेम्बल गरेर रिभर्स इन्जिनियरिङमार्फत नयाँ कार बनाउने प्रयास गरेको रहेछ । यो त्यो समयको प्रयास थियो, जति वेला जापानले पनि आफैँले कार बनाएको थिएन । गेहेन्द्रको टोलीले प्रयास गरेको तीन वर्षपछि अर्थात् वि.सं. १९५९ मा जापानिज इन्जिनियर कोमानोसुके उचियामाले पहिलोपटक मेड इन जापान लेखिएको कार बनाएका थिए ।

नेपालमा प्रविधि भित्र्याउनेमा निकै अघि रहेको अर्को प्रमाण हो, वि.सं. १९६८ मात्र बनेको पाँच सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजना । जुन बेलायतले बनाएको विश्वको पहिलो जलविद्युत् आयोजनाको तीस वर्षपछि बनाइएको थियो । सो समयमा जलविद्युत् प्रविधि भित्रिसक्दा पनि हाम्रा शासक यति किंकर्तव्यविमूढ र अदूरदर्शी थिए कि, दोस्रो जलविद्युत् आयोजना, सुन्दरीजल बनाउन अर्को तीस वर्ष कुर्नुपर्‍यो । आज एक शताब्दीपछि पनि ८४ हजार मेगावाट सम्भावित क्षमताको १० प्रतिशत पनि सदुपयोग गर्न सकेको छैन । जब कि नेपालले भन्दा एक वर्षपछि, वि.सं. १९६९ मा पहिलो जलविद्युत् आयोजना बनाएको चीनले देशको ऊर्जा संकटलाई ध्यान दिँदै विश्वको सबैभन्दा ठूलो २२ हजार पाँच सय मेगावाट क्षमताको जलविद्युत् आयोजना थ्रीगर्जेजको परिकल्पना र सुरुवात त्यसको सात वर्षपछि नै गरेको थियो । दुःखको कुरा, समयसँगै शासक फेरिए । तर, देशको अर्थतन्त्रलाई विज्ञान–प्रविधिसँग जोड्ने दूरदर्शी चेतमा लागेको बिर्को कहिल्यै खुलेन । नेपालका शासकले विज्ञान–प्रविधिको विकासलाई प्रथामिकतामा नराख्दा समृद्धिको यात्राको आधुनिक बाटोमा नेपालले दौडनै पाएन । राज्यले बाटो यसरी बिरायो कि, आजका दिनसम्म पनि विज्ञान–प्रविधिको प्रवर्धन धिमा गतिमा गन्तव्यविहीन भएर तन्द्रावस्थामै रहन विवश छ ।  

यसको एक ज्वलन्त उदाहरण हो, विज्ञान–प्रविधिको अनुसन्धान प्रवर्धन गर्ने उद्देश्यले वि.सं. २०३९ सालमा शाही अध्यादेशमार्फत स्थापना गरिएको शाही नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनास्ट), हालको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), जसले स्थापनाको चार दशकपछि पनि आफ्नो औचित्य पुष्टि गर्न सकेको छैन ।

नास्टको गतिहीन तन्द्रा : विज्ञान–प्रविधिको विकासलाई प्राथमिकता दिने भन्दै वि.सं. २०५३ सालमा गठित विज्ञान तथा प्रविधि मन्त्रालय अहिले शिक्षा मन्त्रालयमा गाभिएको छ । राजनीतिक नियुक्तिले थिलथिलो भएका ६० वर्ष पुरानो त्रिभुवन विश्वविद्यालय र ४० वर्ष पुरानो नास्टजस्ता विज्ञान–प्रविधिसम्बद्ध निकायले समयको वेग पक्रिन सकेका छैनन् । पछिल्लो समय, देशको विज्ञान–प्रविधिको एक मात्र थिंक ट्यांक नास्ट भने निमित्त नेतृत्वको गतिहीन तन्द्रामा झकाइरहेको छ । 

म आफैँ पनि विदेशमा एक राष्ट्रिय अनुसन्धान संस्थानमा कार्यरत रहेकाले आफ्नो देशको अनुसन्धान संस्थाबारे बुझ्न उत्सुक थिएँ । यही क्रममा एक वर्षअघि नास्टको प्रयोगशाला अवलोकन तथा कार्यरत वैज्ञानिकहरूसँग अन्तत्र्रिmया गर्ने मौका पाएको थिएँ । एक सक्रिय अनुसन्धानकर्ताका हिसाबले नास्टको गतिविधि नियाल्दा काम गर्न नसक्नुको कारण सरकारको कम प्रथामिकता र प्रशासनिक जन्जिरका अलावा, क्षमतावान् वैज्ञानिक नेतृत्वको अभाव नै मुख्य हो कि जस्तो लाग्यो । विज्ञान–प्रविधिका हरेक क्षेत्रमा उत्कृष्ट विश्वविद्यालयबाट दीक्षित वैज्ञानिक नेपालमा छन् । मैले आइन्स्टाइनको प्रसिद्ध सापेक्षतावादको सिद्धान्तको सतवार्षिकीको कार्यक्रममा नास्टको प्रांगणमा ऊर्जाको गतिसम्बन्धी आइन्स्टाइनको सिद्धान्तलाई चुनौती दिएका भौतिकशास्त्रका प्रा. उदयराज खनालको अनुसन्धान लेखबारेको रोचक चर्चा सुनेको थिएँ । त्यसैगरी आँखाका ज्योति मानिने डा. सन्दुक इइतले विकास गरेको लेन्स नेपाली माटोको प्रविधि हो । तर, यीलगायत नयाँ पुस्ताका प्रतिभालाई देशले विज्ञान–प्रविधिको विकासमा किन सदुपयोग गर्न सकेको छैन ? यसको मिहिन उत्तर राज्यले खोज्नैपर्छ ।

त्यसो त नास्टले विकसित देशका दर्जनौँ विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग वैज्ञानिक सहकार्यको सम्बन्ध गाँसेको छ । सहकार्यको हस्ताक्षर गर्ने र वेलामौकामा विज्ञान–कूटनीतिका नाममा विदेश भ्रमण गर्नेबाहेक विज्ञान–प्रविधिको क्षेत्रमा उल्लेख्य काम गरेको देखिन्न । उपकुलपति नियुक्ति गर्ने वेलामा सामान्य चर्चा हुने गरे पनि कामका हिसाबले नास्ट लामो समय कुम्भकर्ण निद्रामा मस्त छ । 

विश्व परिवेश र तंग्रिने बाटो : नेपाली नेतृत्वले सोच्नैपर्ने के भने हामीले देशको व्यवस्था परिवर्तन गर्न लोकतन्त्र र साम्यवादबाट प्रभावित त भयौँ, तर त्यो व्यवस्थाको उर्वरतालाई बढाउन उनीहरूका रणनीतिलाई अनुसरण गर्ने ल्याकत राखेनौँ । लगभग सय वर्षदेखि विज्ञान–प्रविधिको विकासमार्फत आधुनिक मानव सभ्यता हाँकिरहेका पश्चिमा र जापानको कुरा छोडौँ, भर्खरै मात्र उदाएका चीन र कोरियाजस्ता देशको रोडम्याप, हाम्रो नेतृत्वले आजका दिनमा पनि बुझ्न सकेको छैन । जस्तो कि, हाम्रा नेता चीन भ्रमणमा राजनीतिक स्वार्थका कुरा गर्छन् । तर, चाइनिज एकेडेमी अफ साइन्सले देशको विकासमा खेलेको भूमिका बुझ्न चाहँदैनन् । दोस्रो विश्वयुद्धको अन्त्यपछि चीनले जापानको सिको गर्दै एकेडेमी अफ साइन्समार्फत विदेशबाट दीक्षित वैज्ञानिकको साथ र विकसित देशसँगको सहकार्यबाट सुरु गरेको विज्ञान–प्रविधिको आधुनिकीकरणको वैज्ञानिक उडानले पछिल्लो दशकमा विश्वमा वर्चस्व स्थापित गर्ने स्थितिमा पुगेको छ । देशको विज्ञान–प्रविधि विकास योजनाको थिंक ट्यांकको समेत काम गर्ने यस संस्थाले ‘आर्थिक र सामाजिक विकासमा राष्ट्रिय प्राथमिकतासाथ आधारभूत वैज्ञानिक अनुसन्धान र आविष्कार’ राष्ट्रिय नीतिलाई एकाकार गर्दै वि.सं. २०४७ मा विज्ञान मिसन सुरु गरेको थियो । त्यसयता ऊ विज्ञान–प्रविधिको विकासमा पहिलो विश्वलाई मात दिने गरी अघि बढेको छ । चीनले त्यो मिसन सुरु गर्दा त्यस्तै भूमिकाको हाम्रो नास्ट स्थापनाको दोस्रो दशकमा वामे सर्दै थियो । 

कोरियाको सन्दर्भ पनि अनुकरणीय छ । विज्ञान–प्रविधि विकासमा ठूलो योगदान दिएको ‘कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी’ वि.सं. २०२८ मा अमेरिकी संस्था युएसएआइडीमार्फत ६० लाख अमेरिकी डलर (हालको ४.५ करोड अमेरिकन डलरबराबर) सहयोगबाट निर्माण भएको थियो । महत्वपूर्ण के छ भने उक्त संस्थानको शैक्षिक डिजाइनचाहिँ सिलिकन भ्यालीका पिताका नामले चिनिने, अमेरिकी प्रा. फेडेरिक टरम्यानले गरेका थिए । जो स्टान्डफोर्ड विश्वविद्यालयका तत्कालीन भाइस प्रेसिडेन्ट थिए । अनुसन्धान केन्द्र स्थापना गरेर सुरु गरिएको कोरियाको साइन्स सिटीमा अवस्थित यस संस्थालाई ११ वर्षपछि प्राविधिक विश्वविद्यालयका रूपमा विकास गरियो, जुन अहिले विश्वको उत्कृष्ट प्राविधिक विश्वविद्यालयमा गनिन्छ । मननीय तथ्य के छ भने युएसएआइडीको सहयोगमा कोरियामा उत्कृष्ट प्राविधिक विश्वविद्यालय बनाएर विज्ञान–प्रविधिको विकासमार्फत देशको आर्थिक विकासको मार्गचित्र कोरिँदै गर्दा नेपालमा तीस वर्षपहिल्यै त्रिभुवन विश्वविद्यालय र तीन वर्षपहिल्यै नास्ट स्थापना भएको थियो । हामीले दशकौँदेखि विदेशी सहयोग लिइरहेका छौँ । तर, एकाध विकास निर्माणबाहेक देशको आर्थिक विकासलाई टेवा पुर्‍याउने मुख्य प्राविधिक क्षेत्रहरूको इन्जिनियरिङमा खर्च गरेनौँ । जसले गर्दा युवापुस्ताले देशको आर्थिक उन्नतिलाई चाहिने विज्ञान–प्रविधिको मूल जरो समात्न सकेन ।

अबका दिनमा विज्ञान प्रविधिसँग जोडिएका राज्यका संस्थामा हुने राजनीतिक लफ्फाजी र प्रशासनिक जन्जिर तोड्नैपर्छ । यसको सुरुवात नास्टबाट गरौँ । निवर्तमान र विगतमा नास्टका उपकुलपतिसँगको कार्य–सम्पादन सम्झौता र सम्पादित कामको मिहिन सिंहावलोकन गरी ठोस रणनीति बनाउन आवश्यक छ । विज्ञान–प्रविधिका कर्मवीरभन्दा पनि आकाश–पाताल जोडेर प्रवचन दिनेहरूको बोलवाला हुने अवस्था नामेट पार्नुपर्छ । वैज्ञानिक नियुक्ति गर्दा अनुसन्धान प्रगतिको ट्र्याक रेकर्डको खरो मूल्यांकन र त्यसअनुरूप वैज्ञानिक कर्मका लागि विशेष सुविधा व्यवस्था गर्ने नीति आवश्यक छ । यावत् पक्षबारे खुला बहस हुनैपर्छ । 

दशकौँदेखि संयुक्त राष्ट्र संघअन्तर्गतको तेस्रो विश्व विज्ञान प्रतिष्ठानको सदस्य बनेर तदर्थमा खुम्चिएको नास्टलाई ठोस रणनीतिसहित पहिलो विश्वको लोकमार्गको चालक कसरी बनाउने ? यक्षप्रश्न सरकारसामु छ । विज्ञान–प्रविधिको मध्यदिनमा पनि तन्द्रामै रहेको नास्टलाई बिउँझाएर यावत् प्रश्नको उत्तर राज्यले खोजोस् । विज्ञान–प्रविधि विकासको विश्व म्याराथुनमा नेपाललाई दौडाउने अठोट गरोस् ।  

(डा. खड्का जापानको राष्ट्रिय अनुसन्धान संस्थानमा स्टाफ वैज्ञानिकका रूपमा कार्यरत छन्)

 

ad
ad