किसान नेताहरू भीमदत्त पन्त, तुलसीलाल आमात्य र बलदेव रामको स्मृति दिवस एकै दिन अर्थात् १७ साउनमै परेको छ । यी तीनै नेता नेपाली किसान आन्दोलनका अग्रपंक्तिका नेता थिए । १७ साउन ०१० मा भीमदत्त पन्त, १७ साउन ०५४ मा तुलसीलाल अमात्य र १७ साउन ०७४ मा अर्का किसान नेता बलदेव रामको देहावसान हुन पुग्यो । उनीहरूले आआफ्नो जीवन छउन्जेल किसान वर्गको मुक्तिका लागि बोले, संघर्ष गरे र निरन्तर लडे । तीनै नेता फरक–फरक पृष्ठभूमि र फरक–फरक परिवेशका थिए । यद्यपि, उनीहरूको लडाइँको मुद्दा र सवाल भने एउटै थियो, किसान वर्गको मुक्ति र समृद्धि । किसानको वर्गीय मुक्तिको प्रश्न अहिले पनि उत्तिकै टड्कारो छ ।
१० मंसिर १९८३ मा तत्कालीन घटाला कारिगाउँ, डडेलधुरामा जन्मिएका भीमदत्त पन्त किसानकै मुक्तिका लागि लडे र त्यसै आन्दोलनमा लागेर उनले आफ्नो जीवन उत्सर्ग गरे । उनको मृत्यु दुःखद थियो । वर्गीय चेतनामार्फत वर्गीय मुक्ति अभियानमा लाग्दालाग्दै उनलाई षड्यन्त्रपूर्वक मारिएको थियो । १४ जेठ १९७३ मा ललितपुरको काँबहाल टोलमा जन्मिएका किसान नेता तुलसीलाल आमात्य पृष्ठभूमिमा एक कम्युनिस्ट नेता थिए, उनले नेपाल मजदुर किसान संगठन निर्माण गरी संस्थापक अध्यक्षका रूपमा लामो समय काम गरे र जीवनभर किसानकै वर्गीय मुक्तिका लागि संघर्ष गरे ।
वि.स. २००७ मा सप्तरीको मधुपट्टीमा जन्मिएका बलदेव रामले जीवनभर अधिकारविहीन वर्गको मुक्तिका लागि संघर्ष गरिरहे । बलदेव राम कृषि र दलित अधिकार आन्दोलनमार्फत जन्मिएको संगठन राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका संस्थापक अध्यक्ष पनि हुन् । २०६१ सालदेखि देशैभरिका भूमिपीडित संगठित भई बनेको मञ्चको नेतृत्व सम्हाल्दै भूमिपीडितको संगठनलाई देशको ५९ जिल्लामा फैलाउन उनले महत्वपूर्ण भूमिका खेले । उनले २०६५ मा नेपाल उच्चस्तरीय वैज्ञानिक भूमिसुधार आयोगको सदस्यसमेत भएर आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।
नेपाली इतिहासमा परिवर्तनका लागि जति पनि लडाइँ, संघर्ष र आन्दोलन भए, ती सबैमा सर्वहारा किसान र मजदुर वर्गको ठूलो त्याग र समर्थन रहेको छ
यस वर्ष तीनै नेताको सम्झनास्वरूप बलदेव रामको जन्मस्थान सप्तरीमा स्मृति दिवस कार्यक्रम आयोजना गरिँदै छ । राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, जनचेतना दलित संगम र राष्ट्रिय हरवाचरवा मञ्चको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
नेपालको किसान आन्दोलन यो उचाइसम्म आइपुग्नुमा यी तीनै नेताको योगदान र त्यागको ठूलो महत्व छ । उनीहरूबाट पछिल्लो पुस्ताले सिक्नुपर्ने र अनुसरण गर्नुपर्ने विषय थुप्रै छन् । उनीहरूले आफ्नो जीवनको कुनै पर्वाह नगरी आफ्नो वर्गको वर्षौंदेखिको दुःखबाट मुक्तिको लडाइँ लडेका थिए । उनीहरू आफू एक्लै लडेनन्, देशभरका किसानलाई संगठित गर्नका लागि आआफ्नो ठाउँबाट भूमिका पनि खेले । यस कार्यका लागि उनीहरूले पटक–पटक देश दौडाहासमेत गरेका थिए । जर्जर राणाशासनको समयमा भीमदत्त पन्तले सुरुवात गरेको किसान आन्दोलनले अहिलेसम्म निरन्तरता पाएको छ । उनले उत्तिबेलै उठाएका मुद्दा अहिले पनि उत्तिकै टड्कारो रहेको देखिन्छ । विडम्बना, नेपाली गरिब किसानले अहिलेसम्म पनि आफूले खोजेजस्तो मुक्ति पाउन सकेका छैनन् । कहिले पाउने हुन्, टुंगो पनि छैन । संघर्ष भने जारी नै छ ।
अधिकार प्राप्तिको लडाइँ र संघर्ष अरू काम गर्नजस्तो सजिलो पक्कै छैन । समाजमा रहेका अन्याय, अत्याचार र बेथितिमाथि धाबा बोल्नु र त्यसविरुद्ध विद्रोह नै गर्नु भनेको चानुचुने विषय पक्कै पनि होइन । त्यसमाथि कमजोर र शक्तिमा नभएको वर्गले शक्तिशाली र सत्तासिनविरुद्ध विद्रोह गर्नु र आन्दोलन उठाउनु भनेको जीवनकै खतरा उठाउनु हो । त्यही भएर त अनेकन् षड्यन्त्र गरेर भीमदत्त पन्तलाई तत्कालीन सत्ताधारीले मारेका थिए । परिवर्तनको लडाइँ लड्नेहरूले भोगेको दुःख तथा संघर्षको कथाव्यथा धेरै हुन्छन् ।
प्रसिद्ध राजनीतिशास्त्री एवं दार्शनिक कार्लमाक्र्स भन्छन्, सर्वहारा वर्गको मुक्तिका लागि सर्वहारा नै संगठित हुन जरुरी छ । उनी अगाडि थप्छन्, सर्वहारा वर्गको संख्या ठूलो छ, तर सीमित पुँजीपति वर्गले उनीहरूमाथि शासन गर्छन् । तर, जब सर्वहारा वर्गले आफू हेपिएको, थिचिएको र अधिकारविहीन भएको महसुस गर्छन्, तब उनीहरूले संगठित आन्दोलन गर्छन् र गर्नु पनि पर्छ ।
नेपाली इतिहासमा जति पनि परिवर्तनका लागि लडाइँ, संघर्ष र आन्दोलन भएका छन्, ती सबै आन्दोलनमा सर्वहारा किसान, मजदुर वर्गको ठूलो त्याग र समर्थन रहेको छ । उनीहरूको योगदान अग्रपंक्तिमै अंकित छ । तर, विडम्बना ! परिवर्तनका लागि लड्ने र योगदान गर्नेहरूले दुःखबाट कहिल्यै मुक्ति पाउन नसकेको यथार्थ हाम्रा सामु छ । आज हामी माइतीघरमा गएर हेर्ने हो भने देख्छौँ, सयौँ संख्यामा सर्वहाराहरू आन्दोलनमा छन्, धर्नामा छन् । उनीहरू अनेक समस्याबाट थिचिएर कुनै उपाय नभएपछि सिंहदरबारलाई सुनाउन माइतीघरमा बसेका छन् ।
किसान नेता भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामले आमसर्वहारा वर्ग, किसान र अधिकारविहीन जनतालाई आफ्नो अधिकार प्राप्तिका लागि संगठित गर्न उत्प्रेरित गरिरहे
किसान नेता भीमदत्त पन्त, तुलसीलाल आमात्य र बलदेव रामले आमसर्वहारा वर्ग, किसान र अधिकारविहीन जनतालाई आफ्नो अधिकार प्राप्तिका लागि संगठित गर्न उत्प्रेरित गरिरहे । र, अगुवाइ भने उनीहरूले नै गरिरहे । त्यसैले, त यी तीनै जनताका प्रिय नेताको नाम अहिले पनि हामी सम्मानपूर्वक सम्झिरहन्छौँ ।
अहिले हामी गणतन्त्र नेपालमा छौँ । लामो समयको पर्खाइ र परिवर्तनपछि बनेको संविधानले व्यवस्था गरेको नयाँ राजनीतिक संरचना र अभ्यास गरिरहेका छौँ । हिजोको दिनको भन्दा अहिलेको शक्ति संरचना फेरिएको छ । यद्यपि किसानका समस्या समाधान हुन सकिरहेका छैनन् । भुइँतहका समस्या बढ्दो क्रममा छन् ।
भूमिहीनको संख्या थपिँदो छ । मानिसहरू अझै पनि गरिबी, अशिक्षा आदिका कारण हलिया, हरवाचरवा, कमैया र कमलरी बस्न बाध्य छन् । मोहीका रूपमा अर्काको जमिन जोतेरै जीविका धान्न बाध्य छन् । अरूको खेतीबारीमा मजदुरी गरेरै जीविका चलाउन बाध्य छन् । वर्षाैंदेखि मुक्तिको पर्खाइमा रहेका किसान थाकिसके, तर अहिलेका राज्यशक्तिले किसानको समस्याको दीर्घकालीन समाधान दिन सकिरहेको छैन ।
सर्वहारा, किसान, दलित र श्रमजीवी वर्ग जहिल्यै सामन्ती प्रथाबाट थिचिँदै आए । कतिपय अहिले पनि दासतामै बाँचिरहन बाध्य छन् । उनीहरू मुक्तिको खोजीमा छन् । तर, राज्यशक्तिको आड र राजनीतिक पहुँचको आधारमा यी वर्गलाई थिचोमिचोमा पार्न चाहने वर्ग हाबी भएकै कारण यसले निरन्तरता पाइरहेको छ । यसको उदाहरण हामी हेर्न सक्छौँ, अहिले पनि मधेस प्रदेशमा कायम रहेको हरवाचरवा प्रथा । पश्चिम क्षेत्रमा रहेको हलिया प्रथा, कमैया र कमलरी प्रथा ।
दैशभरि जर्जर रहेको दलित समुदायमाथि गरिने अन्याय र भेदभाव । लाखौँ संख्यामा रहेका भूमिहीन र सुकुमवासीका समस्या । रसुवा, नुवाकोट र ललितपुरमा रहेको बिर्ता प्रथा । देशैभरि रहेको गुठीप्रथा, जसले किसानलाई मुक्ति दिन सकेको छैन । हिजोका दिनमा चलाइएका प्रथा, संस्कार र अभ्यासले आजका दिनसम्म पनि निरन्तरता पाइरहेका छन् ।
किसान, मजदुर, श्रमजीवी र सर्वहारा वर्गको मुक्ति हुनुको साटो नयाँ–नयाँ मुद्दा र सवाल थपिँदै गएका छन् । जनताका अनगिन्ती समस्या छन् । परिवर्तन बाँड्ने वर्तमान राजनीतिक नेतृत्वले पनि किसानका समस्या समाधान गर्न सकेका छैनन् । कि त उनीहरू यस समस्याको समाधान गर्नै खोज्दैनन्, कि त गर्न जान्दै जान्दैनन् ।
किसान, सर्वहारा वर्ग, दलित, जनजाति, मधेसी, सीमान्तकृत, मजदुरलगायत मानिस दुःखमा छन्, समस्यामा छन् । उनीहरूले दुःख र समस्याबाट मुक्ति चाहेका छन् । यिनले वेलावेलामा आफ्नो दुःख र पीडा सुनाउन सडकमा आएर आन्दोलन पनि गर्छन्, तर अहिलेको राज्यसत्ता र शक्ति संरचनाले यी समस्याको दीर्घकालीन समाधान दिन सकिरहेको छैन । यसैले यी वर्गको समस्या दीर्घकालीन रूपमै समाधान गर्नका लागि तीनै तहको सरकार, राजनीतिक शक्ति सबैले विशेष ध्यान दिन जरुरी छ । प्राज्ञ, लेखक, पत्रकार, अभियन्ता, सहयोगी निकाय र अधिकारकर्मीले पनि किसान र सीमान्त वर्गका समस्या समाधानका लागि बहस, छलफल र पैरवी गर्नु अति जरुरी भइसकेको छ ।