
स्वर्गद्वारी गुठीपीडितको मूल समस्या के हो ?
यो दाङका भूमिपुत्र थारूको समस्या हो । कुनै वेला आफ्नै जग्गा भएका थारूहरू अहिले आफ्नै जग्गाका मोही बनेका छन् । सर्वोच्चको एक फैसलाले अब मोही पनि नरहने अवस्था आएको छ । ०२९ सालमा नापी हुँदा किसानको एक हजार ६२ बिघा जमिन स्वर्गद्वारी गुठीको स्वामित्वमा राखियो । जमिनका वास्तविक मालिक किसानलाई चाहिँ मोही पुर्जा बाँडियो । ०४५ देखि मात्र किसानले आफूहरू ठगिएको चाल पाए । त्यसयता उनीहरूको आन्दोलन चलिरहेको छ ।
०६२ मा सर्वोच्च अदालतले स्वर्गद्वारीका महन्तहरूले दिएको रिटमा आदेश दिँदै स्वर्गद्वारी गुठीको जमिनलाई विशेष प्रकृतिको भन्दै त्यसलाई खण्डीकरण गर्न नमिल्ने फैसला गर्यो । जसले गर्दा किसानको मोही पुर्जासमेत काम नलाग्ने अवस्था आयो । किसानले ०८० फागुनदेखि आन्दोलन सुरु गरे । भूमि सुधार मन्त्रालयसितको सहमतिअनुसार ऐन बन्न नसकेपछि अहिले एक वर्षपछि पुनः उनीहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । आइतबार आन्दोलनको ३० औँ दिनमा आन्दोलनकारीमाथि सरकारले बल प्रयोग गरी १८ जनालाई घाइते बनाएको छ भने १२ जनालाई गिरफ्तार गरेको छ ।
यो समस्या समाधान गर्न के–के गर्नुपर्छ त ?
यो समस्या समाधानका लागि ऐन नै बन्नुपर्छ । सर्वोच्चको पूरक आदेशले कानुन बनाउन पनि नमिल्ने अवस्था छ । यसलाई संसद्ले नै विशेष प्रकृतिको जग्गा भनेको के हो भनेर व्याख्या गरेर बाटो खुलाइदिनुपर्छ ।
राज्यको भनाइ के छ त ?
राज्यले हुँदैन, गर्न सक्दैनौँ भनेको छैन । आन्दोलन सुरु भएपछि केही दिन हेर्ने, समिति बनाउने, सम्झौता गर्ने तर, सम्झौता कार्यान्वयनमा उदासीन देखिँदै आएको छ । अहिले गुठी संस्थानले ऐनको मस्यौदा ड्राफ्ट गर्दै छ । अब त्यो संसद्मा दर्ता नभई आन्दोलनकारी किसान घर फर्किने अवस्था छैन ।