नेविसंघले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्ने नेविसंघ मोरङका सदस्य संजोग शर्मालाई निलम्बन गरेको छ । जिल्ला सभापति सरोज पोखरेललाई नसियतको कारबाही गरेको छ ।
अध्यक्ष दुजाङ शेर्पाका अनुसार घटनाको नेतृत्व गरेकाले शर्मालाई निलम्बन गरिएको हो । गत २९ जेठमा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालमाथि मोसो दलेर दुर्व्यवहार भएको थियो । घटनाको छानबिन प्रतिवेदनका आधारमा कारबाही गरिएको शेर्पाले बताए । प्रतिवेदनमा नेविसंघले जायज माग उठाए पनि मोसो दलेर दुर्व्यवहार गर्नु ठीक नभएको निष्कर्ष निकालेको छ ।
नेविसंघले भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएको छ । ‘संघका नाममा हुने कुनै पनि विधि–विधान र पद्धतिविपरीत गतिविधि नगर्न नगराउन आग्रह गर्दै यस्ता गतिविधि गर्ने जोकोहीलाई पनि विधानबमोजिम कारबाही गर्न नेविसंघ बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । मोसो दलेर दुर्व्यवहार भएपछि सत्तारूढ दल कांग्रेस र उसको भ्रातृ संस्था नेविसंघको चर्को आलोचना भएको थियो ।
२ देखि १० साउनसम्म चलेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले अमर्यादित व्यवहार गर्नेलाई सदस्यता खारेजसम्मको निर्णय गरेको थियो । ‘कुनै पनि प्रकृतिका माग सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार (शारीरिक आक्रमण, कालोमोसो दल्ने आदि) गर्ने पार्टी सदस्य एवं भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुनेछ,’ बैठकको निर्णयमा भनिएको थियो ।