संयुक्त राष्ट्रसंघले सिंगापुर र कुवेतमा हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै मृत्युदण्डको सजायको प्रावधानमा रोक लगाउन ती राष्ट्रहरूलाई आह्वान गरेको छ ।
सिंगापुरमा लागुऔषध ओसारपसारको आरोपमा ४५ वर्षीय एक नागरिकलाई शुक्रबार फाँसी दिइएको छ । कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका पाँचजनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो ।
गत वर्षको नोभेम्बरमा सातजनालाई मृत्युदण्ड दिइएयता साउदी अरबको छिमेकी खाडी मुलुक कुवेतमा बिहीबार दिइएको मृत्युदण्ड पहिलो हो । साउदी अरबको तुलनामा कुवेतमा मृत्युदण्डको सजाय दुर्लभ मानिन्छ ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयका प्रवक्ता सेइफ मगान्गोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी कुवेत र सिंगापुरमा यस साता दिइएका मृत्युदण्डको निन्दा गर्दछौँ र कुनै पनि अवस्थामा हुने मृत्युदण्डको विरोध गर्दछौँ । र, कुवेत र सिंगापुरलाई तत्काल मृत्युदण्डमा रोक लगाउन र मृत्युदण्डमा रोक लगाउने एक सय ७० भन्दा बढी राज्यमा सामेल हुन आग्रह गर्दछौँ ।’ (रासस)