लम्पी स्किन रोगबाट उदयपुरमा हालसम्म चार सय पशुचौपायाको मृत्यु भएको छ। जिल्लाव्यापी रूपमा ३४ हजार तीन सय पशुमा लम्पी स्किनको संक्रमण देखिएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरले जनाएको छ।
लम्पी स्किनबाट ठूलो संख्यामा गाईगोरु मरेका छन्। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख रामनारायण साहले पछिल्लो समय गाईगोरुपछि राँगाभैँसीमा पनि देखापर्न थालेको बताए। उनले भने, ‘सुरुमा गाईगोरुमा देखापरेको लम्पी स्किन अहिले राँगाभैँसीमा पनि देखापरेको छ।’
लम्पी स्किनबाट पशुचौपायालाई जोगाउन खोप दिन थालिएको छ। साहका अनुसार हालसम्म उदयपरमा पाँच हजार पशुचौपायालाई खोप दिइएको छ। घाउ, खटिरा आएकालाई ‘ड्रेसिङ’ गर्ने काम भइरहेको जानकारी दिँदै उनले ‘भाइरस’बाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको बताए।
जिल्लाको बेलका नगरपालिकाबाट सुरु भएको लम्पी स्किनको संक्रमण अहिले आठवटै पालिकामा फैलिएको छ।
सबैभन्दा धेरै कटारी नगरपालिका क्षेत्र प्रभावित भएको छ। प्रमुख साहका अनुसार कटारी नगरपालिकापछि त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका प्रभावित बनेको छ। यता जिल्लाका चारै गाउँपालिकामा पनि लम्पी स्किन फैलिएको प्रमुख साहले बताए।