डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेजमा चारदिने टेक एक्स विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी सुरु भएको छ। स्नातक तहमा अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न प्रविधिका प्रारूप र मोडलहरू प्रदर्शनीमा राखिएका छन्।
स्मार्ट सिटी, स्मार्ट ट्राफिक लाइट, डढेलो लाग्दा जानकारी दिने प्रविधि, इथिकल ह्याकिङसहित सञ्चारसम्बन्धी विभिन्न पक्षबारे विद्यार्थीले प्रस्तुति दिइरहेका छन्।
विद्यार्थीलाई प्राविधिक ज्ञान दिन आयोजना गरिएको यो प्रदर्शनीको मुख्य आकर्षण रोबो फाइट छ। विद्यार्थीले बनाएको रोबोटलाई एरिनाभित्र राखेर गरिने प्रतिस्पर्धा हेर्न मानिस पुग्ने गरेका छन्।